युरोपका मौरी र पुतलीहरूको अस्तित्व सङ्कटमा : आइयुसिएन

हाल युरोपका ९० प्रतिशतसम्म फूल फुल्ने बोटबिरुवाहरू कीट परागणमा निर्भर छन्

युरोपका जङ्गली परागणकर्ताहरूको अस्तित्व गम्भीर जोखिममा परेको प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन) ले चेतावनी दिएको छ । उक्त सङ्घले शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा दर्जनौँ मौरी र पुतलीका प्रजातिहरू खतराको सूचीमा पुगेको बताइएको छ ।

युरोपका लगभग सबै फूल फुल्ने बोटबिरुवाहरू जङ्गली परागणकर्ताहरू, विशेषगरी मौरीहरूमा निर्भर छन् । तर बासस्थानको क्षति, कीटनाशकको अत्यधिक प्रयोग र जलवायु परिवर्तनका कारण यी महत्त्वपूर्ण प्रजातिहरू लोप हुने सङ्कटमा पुगेका हुन् ।

प्राकृतिक विश्वको अवस्थाबारे अहिलेसम्मको सबैभन्दा व्यापक मूल्याङ्कनका क्रममा आइयुसिएनले करिब एक सयवटा नयाँ मौरी प्रजातिलाई पनि खतरामा परेको सूचीमा समावेश गरेको छ । सन् २०१४ मा ७७ मौरी प्रजातिहरू जोखिममा थिए भने हाल एक हजार ९२८ प्रजातिमध्ये कम्तीमा १७२ जङ्गली मौरीहरू लोप हुने खतरा रहेको जनाइएको छ ।

“जङ्गली मौरीहरूको सङ्ख्या तीव्र रूपमा घटिरहेको छ र तिनलाई व्यवस्थापित मौरी उपनिवेशहरूले सजिलै प्रतिस्थापन गर्न सक्दैनन्”, युनिभर्सिटी अफ मोन्सका अनुसन्धानकर्ता डेनिस मिचेजले भन्नुभयो, “यदि जङ्गली मौरीहरू हराए भने, धेरै जङ्गली बोटबिरुवाहरू पनि नष्ट हुनेछन् — जसमा सुन्दर फूलहरूले भरिएका घाँसेमैदान र दुर्लभ अर्किड प्रजातिहरू पनि समावेश छन् ।”

मूल्याङ्कनले पछिल्लो दशकमा खतरामा परेका युरोपेली पुतली प्रजातिहरूको सङ्ख्या ७६ प्रतिशतले बढेको पनि देखाएको छ । युरोपका लागि अद्वितीय मानिएका पुतली प्रजातिहरूको ४० प्रतिशतभन्दा बढी अहिले खतरामा परेको वा नजिक पुगेको सूचीमा छन् ।

पोर्चुगलको मडेइरा टापुमा मात्र पाइने मडेइरान ठूलो सेतो पुतली अब विलुप्त भएको आधिकारिक रूपमा पुष्टि गरिएको छ ।

आइयुसिएनका महानिर्देशक ग्रेथेल एगुइलरले भन्नुभयो, “मौरी र पुतलीहरू केवल सौन्दर्यका प्रतीक मात्र होइनन्, तिनीहरू हाम्रो स्वास्थ्य, खाद्य प्रणाली र अर्थतन्त्रका लागि जीवनरेखा हुन् । ती नै हाम्रो फलफूल, तरकारी र बिउको उत्पादन कायम राख्ने मुख्य आधार हुन् ।”

हाल युरोपका ९० प्रतिशतसम्म फूल फुल्ने बोटबिरुवाहरू कीट परागणमा निर्भर छन्, जसमा पाँचमध्ये चारवटा बाली र जङ्गली फूलका प्रजातिहरू समावेश छन् ।

आवासको क्षतिले जङ्गली मौरी र पुतलीहरूको अस्तित्वमा सबैभन्दा ठूलो खतरा पुर्‍याइरहेको आइयुसिएनले जनाएको छ । खेतीपाती र वन विस्तारले फूलले भरिएका घाँसेमैदानहरू जस्ता परागणकर्ताका लागि महत्त्वपूर्ण क्षेत्रहरू नष्ट गरिरहेका छन् ।

मल र कीटनाशकको अत्यधिक प्रयोगले फूलको विविधता घटाउँदै परागण गर्ने कीटहरूको जनसङ्ख्या र व्यवहार्यतामा नकारात्मक असर पारिरहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

जलवायु परिवर्तनले अहिले युरोपका आधाभन्दा बढी खतरामा परेका पुतली प्रजातिहरूलाई असर पुर्‍याइरहेको छ । लामो खडेरी र बढ्दो डढेलोहरूले तिनीहरूको बासस्थान नष्ट गरिरहेको छ, जसको पुनःस्थापना वर्षौं लाग्ने बताइएको छ ।

मौरीहरूमा तापक्रम वृद्धिको असर मिश्रित देखिएको छ — चिसो वातावरणमा अनुकूलित बम्बल मौरीहरू पीडित भइरहेका छन् भने तातो वातावरणमा फस्टाउने बढई मौरीहरूले तुलनात्मक रूपमा फाइदा उठाइरहेका छन् ।

आइयुसिएनले युरोपेली सरकारहरू र विश्व समुदायलाई मौरी तथा परागणकर्ताहरूको संरक्षणका लागि तत्काल ठोस कदम चाल्न आह्वान गरेको छ ।(रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments