मनोरन्जन/ संस्कृति :

छिमली र पट्टा नाचमा झुमे दर्शक

पूर्णिमाको दिन धुर्कोट कोतमा विशेषगरी छिमली नाच, तुरी नाच, हुँ हुँ नाच, पट्टा नाच र सराय नाच प्रदर्शन गरिन्छ । मन्दिरमा भक्तजन छिमली र पट्टा नाचमा बढी झुमेका छन् ।

गुल्मी / एकादशीदेखि कोजाग्रत पूर्णिणासम्म पश्चिम नेपालका विभिन्न जिल्लाका कोतघरमा सराय नाच हुने गर्दछ । गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ । किनकी यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाच देखाउने गरिन्छ, जुन वीरलै हुन्छ ।

पूर्णिमाको दिन धुर्कोट कोतमा विशेषगरी छिमली नाच, तुरी नाच, हुँ हुँ नाच, पट्टा नाच र सराय नाच प्रदर्शन गरिन्छ । मन्दिरमा भक्तजन छिमली र पट्टा नाचमा बढी झुमेका छन् । सरायबाहेकका चार प्रकारका नाच सराय नाचसँगै सम्बन्धित रहे पनि प्रदर्शन कला भने फरक छ ।

सराय नाचको सुरुमा गन्धर्वलाई अगाडि लगाइ बाजागाजाको धुनसँगै हतियार लिएर विस्तारै हुँदै छिटो–छिटो गतिमा मौला वरिपरि नाचिने नाचलाई छिमली नाच भनिन्छ । कम्तिमा तीन पटक नाचिने यस नाचमा शक्तिको प्रदर्शन, युद्धको कला र एकताको प्रतिक प्रदर्शन गरिने नाचसम्बन्धी जानकार स्थानीय एवं हिमालय माविका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

कोतमा चौथो नाचको रुपमा पट्टा नाच नाचिन्छ । यस नाचमा दुईजना प्रतिद्वन्द्वीहरु ढाल र तरबार लिई बाजाको तालमा नाचने गर्छन । अनि झुक्याएजस्तो गरी एकले अर्कोलाई प्रहार गर्दछन् । तर अर्को व्यक्ति भने जोगिन्छ । यस्तो प्रहार दुवैले कम्तीमा तीन–तीन पटक गर्छन । यो देख्दा निकै डरलाग्दो देखिन्छ । यस नाचले मिल्ने साथी–साथीबीच पनि द्वन्द्व, इष्र्या र प्रतिशोध हुने भएकाले सबैसँग सतर्क हुनुपर्ने सन्देश दिने भण्डारीले बताउनुभयो ।

दुवै नाच हेर्नका लागि कोतमा हजारौँ भक्तजनको भीड रहेको थियो । अन्य ठाउँमा वीरलै प्रदर्शन गरिने, लोपोन्मुख नाच भएको एवं वर्षमा एकपटक मात्र प्रदर्शन गरिने भएकोले यी नाचको विशेष महत्व रहेको छ । स्थानीय गीता पन्थीले आफूले पहिलोपटक पट्टा नाच हेरेको बताउनुभयो । “धेरै सुनेको थिए, तर हेरेकी थिइन”, उहाँले भन्नुभयो, “अहिले हेर्ने मौका मिल्यो, निकै आकर्षक हुँदोरहेछ ।” आफू कामको सिलसिलामा बाहिर भएकाले हेर्न नपाएको उहाँले बताउनुभयो ।

मालिका गाउँपालिकाबाट आएकी वसुन्धरा घिमिरेले पनि छिमली नाच हेरेर मनोरञ्जन लिएको बताउनुभयो । विगतमा एकपटक मात्र हेरेको र अहिले धेरै वर्षपछि छिमली नाच हेरेको उहाँले बताउनुभयो । “वर्षमा एकपटक मात्रै देखाइन्छ, धेरै आकर्षक हुन्छ”, उहाँले भन्नुभयो ।

उल्लेखित नाचका साथै कोतमा भव्यताका साथ सराय पनि नाँचिएको छ । धुर्कोट दरबार अगाडिको पटागिंनीमा गोलो लाइन बनाएर दुई÷दुई जनाको जोडीमा सयौँ व्यक्ति बाजा–गाजाको साथमा हातमा तरवार, खुकुरी, ढाल, खुडा, लठ्ठीलगायतका युद्धमा प्रयोग हुने हतियार लिएर सराय नाँचिएको छ । किम्बदन्ती अनुसार विसं १४६५ मा खड्गराज मल्ल धुर्कोटको राजा बनेपछि खुसियालीमा दसैँको पूर्णिमाका दिन विजय उत्सव मनाइएको सम्झनामा सराय नाच स्थानीय बताउँछन् ।

धुर्कोट कोतमा हुने छिमली, पट्टा एवं सराय नाचलाई व्यवस्थित गर्दै पर्यटक आकर्षित गर्न धुर्कोट गाउँपालिकाले पनि पहल गरेको छ । पालिकाले पछिल्लो समय झण्डै रु पाँच करोडभन्दा बढी खर्चेर विभिन्न संरचना निर्माण गरेको छ । धुर्कोट दरबार परिसरमा तारबार एवं लाइटिङ, सिँढी निर्माण, सङ्ग्रहालय, मन्दिरको पुनर्निर्माणलगायतका क्षेत्रमा काम गरिएको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । “सङ्घ, प्रदेश र पालिकाको गरी पाँच करोडभन्दा बढीको काम गरेका छौँ”, अध्यक्ष पोखरेलले भन्नुभयो, “यस वर्ष सबैभन्दा बढी भक्तजन आउनुभएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments