दक्षिण एशियामा पहिलो स्वस्थ सहर घोषणा भएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका स्वीच एशिया
तथा युरोपियन युनियन (इयू)कोषबाट कार्बन उत्सर्जनमा कुशल भूमिका निर्वाह गरेकामा सम्मानित भएको छ । नगरपालिकाले विगत सात वर्षदेखि शून्य कार्बन उत्सर्जन गर्ने नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
धुलिखेल दक्षिण एशियामा शून्य कार्बन उत्सर्जन गर्ने नीति तथा कार्यक्रम सञ्चालन गरेको जनाउँदै उत्कृष्ट सहरका रुपमा सम्मानित भएको हो । धुलिखेल युनिभर्सिटी इन्सब्रक, मिनर्जी नेपाल, युएनई नर्मलाईजेसन स्पानल, विल्डिङ्ग इनर्जी इफिसिएसी नेपालको साझेदारीमा उक्त कार्यक्रम सञ्चालन गर्ने नगर भएको छ ।
शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ वटा सहरमध्ये पाँचौ नम्बरमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका परेको हो । कार्बन उत्सर्जनलाई शून्यतामा झारेर वातावरणमैत्री बन्ने एशियाको पहिलो नगरपालिका पनि धुलिखेल बनेको हो ।
विश्वमा चुनौतीको रूपमा रहेको कार्बन उत्सर्जनलाई शून्यतामा झारेर एसियाको पहिलो र विश्वका १५ सहरको सूचीमा पर्न नगरले कार्बन उत्सर्जनलाई शून्यतामा झार्ने अनेकन काम गरेको नगरप्रमुख अशोक ब्याञ्जुले बताउनुभयो ।
“वातावरणमैत्री र शून्य कार्बन उत्सर्जन गर्ने हाम्रो नगर एशियामै पहिलो हो, धुलिखेल नगरले शिक्षा, स्वास्थ्यमा नागरिकको प्रत्यक्ष ख्याल राख्दै आएको छ”, ब्याञ्जूले भन्नुभयो, “एक घर–एक धारा, एक वडा–पाँच पार्क, स्वस्थ्य सहर, वातावरणमैत्री सहर, बालबालिकामैत्री सहरलगायतका विभिन्न योजनामा काम गरिरहेकाले उत्कृष्ट भएका हौँ ।”
नगरले आकाशबाट झरेको पानी सङ्कलन गर्ने, उद्योगबाट उत्पादन हुने फोहोरको आफैँले ‘ट्रिटमेन्ट प्लान्ट’ बनाएर त्यस्ता उद्योगलाई १० प्रतिशत कर छुट गर्ने कानून निर्माण गरेको जनाइएको छ । यस्तै नगरले पानी ‘रिचार्जिङ’ कार्यक्रमको मोडेल अनुसार काम गरिरहेको छ ।
नगरले केही वर्षदेखि सवारी साधनबाट उत्पन्न हुने प्रदूषण कम गराउने प्रविधि, उद्योग राख्दा पनि प्रदूषण नहुने तरिकाले प्रदूषण शून्य भएको सहर बनाउनेलगायतका काम गरेको ब्याञ्जूको भनाइ छ । छ वर्षदेखि धुलिखेलले दक्षिण एसियामै पहिलो पटक जीवाश्म इन्धन अप्रसार सन्धि अभियानलाई कार्यान्वयनमा ल्याएको छ ।
नगरले उक्त सन्धिअन्तर्गत रहेर थप पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई अघि बढाएको छ । विश्व बैङ्कले कार्बन उत्सर्जन कटौती गर्नसक्ने देशलाई प्रतिटन कार्बनको पाँच अमेरिकी डलर दिने घोषणा गरेको थियो ।
राष्ट्रसघीय जलवायु सम्मेलन कोप–२६ अघि यो सूची सार्वजनिक भएको थियो । उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानाडाको टोरन्टो, स्पेनको बार्सिलोना र अमेरिकाको लस–एन्जल्स पनि थिए । त्यसमा पनि धुलिखेल नगर सूचीको पाँचौँ स्थानमा पर्न सफल भएको थियो ।
यसैबीच विश्व स्वास्थ्य सङ्गठनले गत भदौमा धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको थियो । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एशियाको दोस्रो स्वस्थ सहर बन्नसमेत सफल भएको हो ।
सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ सहर र एशियाको दोस्रो स्वस्थ सहर भएको घोषणा गर्नुभएको थियो । गुडद्वारा घोषणासँगै धुलिखेललाई नेपालको पहिलो स्वस्थ सहर भएकोमा पाँच हजार अमेरिकी डलर पुरस्कारकोसमेत घोषणा भएको थियो ।
एशियामा पहिलो स्वस्थ शहर भारतको पुणे नगर बन्दा र ६५ दशमलव ४८ अङ्क प्राप्त गरी धुलिखेल दोस्रो स्थानमा रहेको घोषणा भएको हो ।
एशियाको दोस्रो र नेपालको पहिलो स्वस्थ सहर घोषणा भएको तथा ५ हजार अमेरिकी डलर पुरस्कारसमेत प्राप्त भएको ब्याञ्जूले बताउनुभयो । सङ्गठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको प्राथमिक स्वास्थ्योपचारमा गरेको प्रगतिलाई आधार मानेर सो घोषणा गरिएको जनाइएको छ ।
धुलिखेलले आगामी दिनमा पनि सङ्गठनमार्फत सर्ने र नसर्ने रोग, ज्येष्ठ नागरिक स्वास्थ्य, दलित र गरिब जनसमुदायको स्वास्थ्यमा दिगो विकासको स्वास्थ्य अनि सहरी स्वास्थ्य सुशासनमा काम गर्ने ब्याञ्जुले बताउनुभयो ।
नगरले अपाङ्गता क्षेत्र, स्वच्छ खानेपानी, वातावरणीय प्रभाव न्यूनीकरण खोप, सामुदायिक स्वास्थ्य तथा डिजिटल स्वास्थ्य अभिलेख तयार गरी काम गर्दै आएको छ । धुलिखेल हाल ‘आरोग्य सहर’ अभियानमै छ । धुलिखेलले शहस्राब्दी दिगो विकास लक्ष्यअन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिवी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो ।
नगरले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ भने सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पु¥याउने कामसमेत सकेको जनाएको छ ।
धुलिखेल विश्व स्मार्ट दीगो सहर सङ्गठनको सन् २०२१ देखि २०२३ सम्मको कार्यसमिति सदस्यमा निर्वाचित नगर हो । विश्वका एक सय ३६ देशका सहर सदस्य रहेको सङ्गठनको विश्व स्मार्ट दीगो सहर सङ्गठनको पाँचौँ महासभाबाट १७ सदस्यीय कार्यसमितिमा पनि धुलिखेल निर्वाचित भएको थियो ।
यस्तै धुलिखेल नगरले नगरक्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको समाचार गत सन् २०२२ नोभेम्बर पहिलोसाता स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन (कोप–२६)मा चर्चाको विषय बनेको थियो । नगरले कोइलामुक्त बनाउने अभियानलाई अन्य निकाय तथा मुलुकले पनि अनुमोदन गर्न आग्रह गरिरहेको अवस्थामा उक्त सम्मेलनमा विश्वका अधिकांश राष्ट्रले कोइला प्रयोग रोक्ने घोषणासमेत गरेका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित