बाढीपहिरोबाट रोशीमा १२ करोडका तीन आयोजनामा पूर्ण क्षति

काभ्रेपलाञ्चोक: गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोका कारण रोशी गाउँपालिकामा निर्माण सम्पन्न भएका तीन ठूला आयोजनामा पूर्ण रुपमा क्षति पुगेको छ । ‘गौरव’का योजना मानिएका करिब रु १२ करोडका आयोजना निर्माणको अन्तिम चरणमा पुगेका थिए ।

गाउँपालिका–११ स्थित कालढुङ्गामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने ‘डम्फु जीवन्त सङ्ग्रहालय’सहितको पार्क रोशी खोलाले बगाएको छ ।

सङ्ग्रहालयमा तामाङ जातिको रहनसहन, वेशभूषा, संस्कृति, रीतिरिवाज तथा सो समुदायले प्रयोग गर्ने सामग्री तथा पुस्तक राख्ने तयारी गरिएको थियो । गाउँपालिका अध्यक्ष दिनेश लामाले निर्माण सम्पन्न भएको ९ डायमिटरको डम्फु, सङ्ग्रहालय भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा रोशी खोलाको बाढीले बगाएको बताउनुभयो ।

१४ करोड रुपैँयाको लागतमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको सङ्ग्रहालय भवन निर्माणमा नेपाल सरकारको रु पाँच करोड तथा गाउँपालिकाको रु ३८ लाख ६९ हजार खर्च भएको थियो । करिब अन्तिम चरणमा रहेको पार्कका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले रु पाँच लाख विनियोजन गरेको छ ।

सङ्ग्रहालय हाताभित्र करिब रु दुई करोडमा निर्माण गरिएको औद्योगिक ग्रामको प्रशासनिक भवन तथा शीतभण्डार र खानेपानी आयोजनाका संरचना पनि बाढीले बगाएको छ । उद्घाटनको तयारी भइरहेको ग्रामको संरचना जगैदेखि बगेको छ ।

यस्तै, १ नं वडामा निर्माणको अन्तिम चरणका पुगेको १० शय्याको आधारभूत अस्पतालको भवनसमेत बाढीले बगाएको थियो । नेपाल सरकारको रु ६ करोड पाँच लाख २४ हजार लागतमा सम्पन्न हुने अस्पतालको संरचना सम्पन्न गर्न आगामी पुस मसान्तसम्मको समयसीमा थियो ।

रोशी गाउँपालिका–११, कालढुङ्गामा करिब ७० रोपनी क्षेत्रफलमा तयार भएको औद्योगिक ग्रामको प्रशासनिक भवनसहितको संरचना पनि बाढीले बगाएको छ । सङ्घीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा निर्माण हुने ग्रामका लागि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको रु एक करोड ६८ लाख र रोशी गाउँपालिकाको रु ५४ लाख गरी दुई करोड २२ लाख खर्च भइसकेको छ ।

बाढीपहिरोमा परी उक्त गाउँपालिकामा छ महिला, तीन पुरुष, एक बालक र तीन बालिका गरी १३ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments