गृह मन्त्रालयको विज्ञप्तिमा बारले गम्भीर आपत्ति जनाउँदै भन्यो, दण्डहीनतालाई प्रोत्साहन दिने खतरा देखियो

काठमाडौँ / कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले गृह मन्त्रालयको हालैको विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएको छ।

बारका महासचिव केदार प्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा २३ र २४ भदौमा जेन–जी पुस्ताद्वारा भएको आन्दोलनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिको छानबिनका लागि जाँचबुझ आयोग गठन भइसकेको र आयोगको प्रतिवेदन नआएसम्म नियमित कानुनी कारबाही अघि नबढाइने उल्लेख गरिएको मन्त्रालयको विज्ञप्तिले दण्डहीनतालाई प्रोत्साहन दिने खतरा देखिएको उल्लेख छ।

‘गृह मन्त्रालयद्वारा असोज ९ मा जारी गरिएको विज्ञप्तिप्रति बारको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयको उक्त विज्ञप्तिले फौजदारी न्याय प्रणालीलाई कमजोर पार्ने, दण्डहीनतालाई प्रश्रय दिने र यसबाट हिंसालाई अझ बढावा दिने संकेत देखिएको छ।’

बारले जेनजी आन्दोलनका क्रममा स्वार्थ समूहको नियोजित गतिविधिबारे आवश्यक अनुसन्धान रोकिने गरी गृह प्रशासनबाट सूचना आउनु मुलुकी अपराध संहिता, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को प्रावधान विपरीत रहेको दाबी गरेको छ।

यसै सन्दर्भमा, बारले मन्त्रालयलाई त्रुटिपूर्ण निर्णय सच्याउन र दण्डहीनतालाई प्रश्रय नदिने स्पष्ट कदम चाल्न जोडदार माग गरेको छ। साथै, ‘कानुनको शासनको प्रत्याभूति र नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षाका लागि गैर कानुनी कार्यमा संलग्न जोसुकैलाई पनि तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई सचेत गराउँछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments