विभागका प्रवक्ता प्रभातकुमार झाले काठमाडौँ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग)मा आज साँझसम्म यातायात सञ्चालन गर्न मिल्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।
काठमाडौँ / हाल देशभरका छ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध र १६९ सडकखण्डमा एकतर्फी रुपमा यातायात सञ्चालनमा रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन अवरुद्ध भएको हो ।
विभागका प्रवक्ता प्रभातकुमार झाले काठमाडौँ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग)मा आज साँझसम्म यातायात सञ्चालन गर्न मिल्ने गरी काम भइरहेको जानकारी दिनुभयो । “दसैँमा उपत्यका बाहिरिने तथा उपत्यका भित्रिने सर्वसाधारणलाई सहज र सुरक्षित यात्राका लागि सडक सुधारका कार्य धमाधम भइरहेको छ”, उहाँले भन्नुभयो ।
पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आइतबार साँझ खुले पनि सडक सफा गर्नुपर्ने भएकाले आज दिउँसो दुई घण्टा बन्द रहने उहाँले बताउनुभयो । सडक विभागका अनुसार अवरुद्ध भएका राजमार्गमध्ये ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी रहेका छन् । चिनियाँ भूभागबाट गत साउन १४ गतेको बाढी आएपछि नदीले सडक कटान गरेकाले राजमार्ग अवरुद्ध भएको हो । हाल स्काभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको विभागले जनाएको छ ।
रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रुपमा अवरुद्ध भएको विभागको भनाइ छ । वरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माणमा ढलानको कार्य बाँकी रहेको तथा पानीको बहाव बढेका कारण डाइभर्सन पुनःस्थापना गर्न नसकिएको भन्दै विभागले पानी सतह घटेपछि डाइभर्सन निर्माण गरिने र सँगै ढलानको कामलाई पनि जोड दिइने जनाएको छ ।
चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि पूर्ण रुपमा अवरुद्ध छ । विभागले तमोर नदीमा निर्मित रानीपुल बेली गत साउन ६ गतेको अविरल वर्षापछि आएको बाढीले बगाएको र रेमिट हाइड्रोबाट पुनः ेलिब्रिज निर्माणका लागि पहल भइरहेको जनाएको छ ।
चीनबाट आएको ठूलो बाढीका कारण ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकखण्ड पनि अवरुद्ध भएको छ । विभागले अवरुद्ध सडक खुलाउन उपकरणहरू परिचालन गरिएको जनाएको छ ।
विभागका अनुसार रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) र काठमाडाँै–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) पनि पूर्ण रुपमा अवरुद्ध भएका छन् । राजमार्ग सुधार भइरहेको विभागले जनाएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा उपत्यका बाहिरिने यात्रुहरूको चाप बढिरहेको भन्दै सडक सुधारको कार्य छिटो सम्पन्न गरेर उपत्यका बाहिरबाट फर्किने सवारीसाधनका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले देशभर चार लाख स्क्वायर मिटर खाल्टाखुल्टी पुर्नपर्ने र दसैँ लक्षित खाल्टाखुल्टी पुरी सडक सुधारको काम भइरहेको जानकारी दिनुभयो । “यातायातको बढी चाप हुने राजमार्गलाई विशेष प्राथमिकता दिएर सडक सुधारको काम भइरहेको छ”, उहाँले भन्नुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित