पूर्व जनरल प्रबोओले इन्डोनेसियाको राष्ट्रपतिका रूपमा सपथ ग्रहण

पूर्व जनरल प्राबोओ सुबियान्तोले आइतबार इन्डोनेसियाको राष्ट्रपति पदको सपथ लिनुभएको छ ।

सेनामा रहँदा अधिकार हननको आरोप लागेका ७३ वर्षीय उग्र राष्ट्रवादी प्रोबोओले निवर्तमान नेता जोको विडोडोको उत्तराधिकारीका लागि संसद्मा सपथ लिनुभएको हो ।

उहाँले सपथ ग्रहणपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा भन्नुभयो, “हाम्रो प्रयास भ्रष्टाचार नियन्त्रण गर्ने र लोकतन्त्रको रक्षा गर्ने कुरामा हुनेछ ।”

उहाँले भन्नुभयो, “सबै इन्डोनेसियाली जनता, जसले हामीलाई मतदान गरेका हुनु वा विपक्षमा उभिएका हुन्, सबैको प्रतिनिधित्व हुनेगरी हामी इन्डोनेसियाली सरकारको नेतृत्व गर्नेछौँ।”

प्रबोओले आफूलाई इन्डोनेसियाको असंलग्न विदेश नीतिप्रति प्रतिबद्ध गदै विश्व मञ्चमा थप सक्रियताका साथ काम गर्ने सङ्केत दिनुभएको छ ।

आठ महिनाअघि निर्वाचित भएपछि उहाँ पहिलो विदेश भ्रमणका लागि चीन जानुभएको थियो र चीनसँग प्रमुख सुरक्षा सम्झौता गर्नुभएको थियो । उहाँले राष्ट्रपति निर्वाचित भएपछि चीन, रूस र अस्ट्रेलियालगायत एक दर्जन अन्य देशको भ्रमण गरिसक्नुभएको छ ।

विडोडोका ३७ वर्षीय छोरा जिब्रान राकाबुमिङ राकाको समर्थनमा गत फेब्रअरीमा भएको मतदानमा प्राबोओले राष्ट्रपति निर्वाचनमा पहिलो चरणबाट नै भारी मतसहित जित हासिल गर्नुभएको थियो ।

उहाँले इन्डोनेसियाको तटस्थ विदेश नीतिमा अडिग रहने बताए पनि क्षेत्रीय प्रतिरक्षालाई प्राथमिकता दिइने बताउनुभएको छ ।

“हामी असल छिमेकी बन्न चाहन्छौं,” उहाँले भन्नुभयो।

उहाँले अगाडि भन्नुभयो, “हामी अरु देशलाई हस्तक्षेप वा अवरोध गर्न चाहँदैनौं र कुनै पनि देशले हामीलाई हस्तक्षेप वा अवरोध गरेमा सहने पनि छैनौँ ।

संसद्मा सपथ ग्रहणपछि राष्ट्रपति प्राबोओ जकार्ताको राष्ट्रपति भवनमा जानुभएको थियो । उहाँले निवर्तमान् राष्ट्रपति विडोडोसँग सत्ता हस्तान्तरण समारोह अघि समर्थकहरूसँग भेट गरी शुभकामना ग्रहण गर्नुभएको थियो ।

जोकोवीको नामले बढी लोकप्रिय पूर्व प्रतिद्वन्द्वी विडोडोसँग उहाँले दुई चुनावी प्रतिस्पर्धामा हार व्यहोर्नुभएको थियो ।

उहाँले कार्यभार बहन गर्ने समारोहमा सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङ, फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियर, बेलायती विदेशमन्त्री डेभिड ल्यामी र चीनका उपराष्ट्रपति हान झेङलगायत दर्जनौं कूटनीतिज्ञ सहभागी हुनुभएको थियो ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार बधाई सन्देश पठाउँदै प्राबोओसँग ‘घनिष्ठ रणनीतिक संवाद’ कायम राख्ने बताउनुभएको छ ।

सन् १९४५ मा इन्डोनेसिया स्वतन्त्र भएपछि इन्डोनेसियाका आठौँ राष्ट्रपति बनेका प्रबोओलाई जकार्ताको सडकमा कडा सुरक्षाका बीच दशौँ हजारको सङ्ख्यामा लामबद्ध भई शुभेच्छुकले शुभकामना दिएका थिए ।(रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments