मास्टर कार्ड, भिसा कार्ड, ‘अलिपे’लगायतका कार्डहरुमार्फत् अध्यागमन विभागमा राजस्व भुक्तानी हुने

काठमाडौँ/ अन्तरराष्ट्रिय कार्डबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ । महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणाली जोडिएको जनाएको छ ।

राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तरराष्ट्रिय भुक्तानी प्रणाली आजदेखि जोडिएको र सञ्चालनमा आएको प्रवक्ता दीपक लामिछानेले जानकारी दिनुभयो । अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले संयुक्त रुपमा अन्तरआबद्धता सेवा शुभारम्भ गर्नुभएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

सो प्रणालीको अन्तर आबद्धता सुरु भएपछि विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकका लागि राजस्व भुक्तानी प्रक्रियाले सेवा प्रवाह कागजातरहित बनाउन सहयोग पु¥याउनेछ ।

त्यसैगरी, भौतिक उपस्थितिरहित बनाउनुका साथै चौबिसै घण्टा सेवा प्रवाह सुनिश्चित भएको छ । यसबाट द्रूत राजस्व सङ्कलन, पारदर्शी, अन्तरराष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुन गई डिजिटल इकोनोमीको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कार्ड, ‘अलिपे’लगायतका अन्तरराष्ट्रिय कार्ड नेटवर्कमा आवद्ध कार्डहरुमार्फत् अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त हुनेछ । यसले त्रिभुवन विमानस्थललगायतबाट प्रवेश गर्ने पर्यटकले सहजरुपमा यो सेवा लिनसमेत सहज हुने जनाइएको छ ।

यो सेवा हाललाई अध्यागमन विभाग र मातहतका निकायबाट प्रवाह हुने अध्यागमनसम्बन्धी राजस्व भुक्तानीमा सुरुवात भएको छ । आगामी दिनमा सरकारका अन्य निकायमा पनि क्रमशः सेवा विस्तार गर्दै लैजाने प्रवक्ता लामिछानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments