काठमाडौँ / अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ । एक साता अघिसम्म सुन्दर फूलहरुको बिचमा रहेको सिंहदरबार खण्डहर बनेको देख्दा जो कोही भावुक हुन्छन् ।
आज ऊर्जा मन्त्रालयमा कार्यरत कर्मचारी पारसमणि राई र उहाँका साथी प्रेम गौतम प्रधानमन्त्री कार्यालयको भवन नियाल्दै निकैबेर टोलाइरहे । “मन आत्तियो, हेर्नै नसकिने गरी खरानी बनाएछन्,” गौतमले भन्नुभयो, “देशको सम्पत्ति जलाएर के पाए ?”
जनताको करले बनेको सिंहदरबार जलगाउने कस्ता जनता होलान् भन्ने गुनासो राईको छ । प्रधानमन्त्री कार्यालयको छेवैको ऊर्जा मन्त्रालय पनि खण्डहर बनेको छ । “तस्बिर सधैँ रमाइलोका लागि मात्रै खिचिँदो रहेनछ,” प्रधानमन्त्री कार्यालयमा कार्यरत एक कर्मचारीले भन्नुभयो, “सम्झनाका रूपमा फोटो खिचेकी छु ।”
सबैभन्दा बढी क्षति भएको मध्येको हो गृह मन्त्रालय । ३१ वर्षदेखि निरन्तर गृहमन्त्रालयमै कार्यरत कर्मचारी केदार घिमिरेका अनुसार खरानी भएको कार्यालय देख्दा मन पोल्यो । उहाँले भन्नुभयो, “मलाई त बेघर भएजस्तो लागेको छ । खरानीबाहेक केही छैन ।”
जेन्जी आन्दोलनका क्रममा जलेर भग्नावशेष भएको गृहमन्त्रालय अहिले पुरानो परराष्ट्र मन्त्रालयको शाखामा सारिएको छ । साँघुरो भए पनि त्यहीँबाट सेवा विस्तार गर्ने विपत् तथा व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव गोविन्द रिजालले जानकारी दिनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित