जेनजी’ आन्दोलन : काभ्रेमा क्षतिको विवरण सङ्कलन गरिँदै

काभ्रेपलाञ्चोक/‘जेनजी’ आन्दोलनका क्रममा जिल्लामा रहेका सरकारी तथा निजी संरचनामा गरिएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सम्बन्धित क्षतिग्रस्त कार्यालय तथा व्यक्तिका सहभागितामा क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने जनाएको हो ।

कार्यालयले आजदेखि क्षतिग्रस्त सरकारी तथा निजी संरचनाको विस्तृत विवरण सङ्कलन हुने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले प्रशासनको समन्वयमा सम्बन्धित सरकारी कार्यालयले आफैँ विस्तृत क्षतिको विवरण सङ्कलन गरी कार्यालयका पठाउनेछन् भने तथा व्यक्तिका क्षतिको हकमा भने स्थानीय प्रहरी तथा जनप्रतिनिधिको सहभागितामा क्षतिको विवरण सङ्कलन हुने बताउनुभयो । उहाँका अनुसार करिब एक हप्तामा जिल्लाका सबै संरचनाको क्षतिको विवरण सङ्कलन भइसक्नेछ ।

कार्यालयको प्रारम्भिक विवरणअनुसार विभिन्न १८ सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको छ । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पुर्याइएको प्रशासनको प्रारम्भिक विवरणमा जनाइएको हो । प्रदर्शनका क्रममा मङ्गलबार बनेपा नगरपालिका कार्यालयमा तोडफोड गरी आगजनी गर्दा महत्त्वपूर्ण कागजात र केही सवारीसाधन पूर्ण रूपमा क्षति पुर्याइएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, पाँचखाल र पनौतीका प्रहरी चौकी तथा हिँगुवापाटीसहितका प्रहरी बिटमा तोडफोड र आगजनी गरिएको कार्यालयले जनाएको छ । बनेपा नगर कार्यालय भने भग्नावशेषमा परिणत भएको छ ।

प्रदर्शनकारीले पनौती नगर र पाँचखाल नगर कार्यालय तथा सुनकोशी–पाँचखाल खानेपानी आयोजनाको कार्यालयमा समेत तोडफोड गरेका हुन् । त्यसैगरी, नेकपा (एमाले) र नेपाली कांग्रेसको कार्यालयमा तोडफोड गरी आगजनी हुँदा क्षति भएको छ । प्रदर्शनकारीले ती कार्यालय तोडफोड गरी फर्निचर र महत्त्वपूर्ण कागजात बाहिर निकाली आगो लगाएका हुन् । ती कार्यालयमासमेत आगजनी गरेका छन् ।

प्रदर्शनकारीले जिल्लास्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इँ, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जू, पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा तथा पनौतीका पूर्व नगरप्रमुख भीम न्यौपानेको दुई घर, २ नं वडाका अध्यक्ष पुरुषोत्तम अधिकारी र व्यवसायी रामेश्वर थापाको पनौतीको कुशादेवीस्थित घरमा लुटपाट गरी तोडफोड तथा आगजनी र एक हेलिकप्टरमासमेत आगजनी गरेका थिए ।

धुलिखेलस्थित जिल्ला कारागार कैदीबन्दीले आगजनी गरेका थिए । अन्य स्थानका कारगारबाट कैदीबन्दी भागेपछि आफूहरूलाई पनि रिहा गर्नुपर्ने माग राख्दै कारगारभित्र तोडफोड र आगजनी गरेपछि तत्कालै दमकल प्रयोग गरेर कारगारमा भएको आगजनी नियन्त्रणमा लिइएको थियो । दुई सय ८३ कैदीबन्दी रहेको उक्त कारागारमा आगजनी भएपछि बाहिर ठूलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । ‘जेनजी’ आन्दोलनका क्रममा जिल्लाका दुई जनाले काठमाडौँमा ज्यान गुमाएका छन् ।-रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments