मध्य चीनको हेनान प्रान्तमा परेको अविरल वर्षाले विद्यालय बन्द हुनुका साथै यातायात प्रणालीमा अवरोध उत्पन्न गरेको छ । राजधानी झेङ्झाउमा बिहीबारदेखि नै रातो चेतावनी जारी गरिएको छ ।
सहरले बाढी नियन्त्रण आपत्कालीन प्रतिक्रिया सुरु गरेपछि गैर–बोर्डिङ प्राथमिक तथा माध्यमिक विद्यालय र किन्डरगार्टेनहरूले कक्षा स्थगित गरेका छन् । साथै स्थानीय बासिन्दाहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।
बिहीबार बिहानसम्म वर्षा र जलमग्न भएका कारण प्रान्तभरका दर्जनौँ राजमार्ग टोल स्टेसनहरू बन्द गर्न वा सवारी आवागमनमा प्रतिबन्ध लगाउन बाध्य भएको यातायात अधिकारीहरूले बताएका छन् ।
बुधबार बिहानदेखि बिहीबार बिहानसम्मको अवधिमा हेनानका विभिन्न क्षेत्रमा मुसलधारे वर्षा भएको थियो । जुचाङ, झोउको, लुओहे र नान्याङका धेरै भाग प्रभावित भएका छन् । जुचाङ, ताइकाङ र फुगौ काउन्टीहरूमा मात्र ४७ वटा वर्षा तथा आँधीबेहरी चेतावनी जारी भएको थियो ।
राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार, बिहीबार बिहान ८ बजेसम्म जुचाङले २४ घण्टामा १६३.८ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो देशकै उच्चतम हो ।
प्रान्तीय यातायात अधिकारीहरूले बाढी नियन्त्रण तथा उद्धारका लागि १० हजारभन्दा बढी जनशक्ति परिचालन गरेको बताएका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित