पाकिस्तानमा बाढी सङ्कटबीच ‘जलवायु तथा कृषि आपत्काल’ घोषणा

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले मनसुनी वर्षा र देशभर फैलिएको विनाशकारी बाढीका असरमा जलवायु तथा कृषि आपत्काल घोषणा गर्ने निर्णय गर्नुभएको छ ।

बुधबार सङ्घीय मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्दै सरिफले जलवायु परिवर्तनबाट थप क्षति रोक्नका लागि चारै प्रान्तका मुख्यमन्त्री र प्रमुख अधिकारीहरूसँग चाँडै बैठक बोलाउने बताउनुभयो ।

बैठकमा बाढीका कारण लाखौँ एकड कृषिभूमि र बाली पूर्णरूपमा नष्ट भएको र पूर्वाधारमा ठूलो क्षति पुगेको विवरण प्रस्तुत गरिएको थियो । मन्त्रीहरूले किसान क्षतिपूर्ति, कृषि पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका लागि आवश्यक सहयोगबारे सुझाव राख्नुभएको थियो ।

मन्त्रिपरिषद् बैठकपछि संसदीय मामिलामन्त्री तारिक फजल चौधरी र पेट्रोलियम मन्त्री अली परवेज मलिकले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गर्नुभयो । चौधरीले बदलिँदो मौसमी ढाँचा र विनाशकारी मनसुनलाई जलवायु परिवर्तनको गम्भीर प्रभावका प्रमाणका रूपमा उल्लेख गर्दै आपत्काललाई तत्काल कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले सर्वसम्मत समर्थन गरेको जानकारी दिनुभयो ।

उहाँहरूले विगतको वातावरणीय कुव्यवस्थापन, अनियन्त्रित वन विनाश र प्राकृतिक जलमार्गमा अतिक्रमणलाई हालको बाढी विपत्तिको प्रमुख कारणका रूपमा औँल्याउनुभयो ।

जियो न्युजका अनुसार, जलवायु परिवर्तन मन्त्रीलाई १५ दिनभित्र विस्तृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ, जसले दीर्घकालीन समाधान र नीतिगत रणनीतिका लागि मार्गदर्शन गर्नेछ ।

कृषि आपत्काल अन्तर्गत बालीमा भएको क्षतिको मापन गरिने र किसानलाई उचित क्षतिपूर्ति दिने संयन्त्र तय गरिने पनि सरिफले स्पष्ट पार्नुभयो । उहाँले बाढीको पानी अझै दक्षिणतर्फ बगिरहेको हुँदा सङ्कट अन्त्य नभएको र क्षतिपूर्ति सङ्घीय तथा प्रान्तीय सरकारले साझा रूपमा बेहोर्ने बताउनुभयो ।

गहुँ र कपासजस्ता प्रमुख बालीमा ठूलो क्षति पुगेको, करिब एक हजार मानिसको मृत्यु भएको, हजारौँ विस्थापित भएको र कृषि जग्गाको विशाल क्षेत्र डुबानमा परेको उहाँले स्मरण गराउनुभयो ।

सरिफले पाकिस्तानको शासन व्यवस्थामा ऐतिहासिक रूपमा देखिँदै आएको आत्मसन्तुष्टि र यथास्थिति प्रवृत्तिको विरुद्ध चेतावनी दिँदै, जलवायु परिवर्तनको प्रभावसँग जुझ्न बलियो राष्ट्रिय रणनीति विकास गर्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments