संविधानसम्मत र लोकतान्त्रिक विधिबाट राजनीतिक निकास दिनुपर्नेः महासचिव पोखरेल

आज पार्टीको केन्द्रीय सचिवालयका तर्फबाट वक्तव्य जारी गर्दै एमाले महासचिव शङ्कर पोखरेलले संविधान र लोकतान्त्रिक विधिबमोजिम देशलाई राजनीतिक निकास दिनुपर्ने बताउनुभएको हो ।

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधानसम्मत र लोकतान्त्रिक विधिबाट अबको राजनीतिक निकास खोजिनुपर्नेमा जोड दिएको छ ।

प्रधानमन्त्रीले राजीनामा दिनुभएपछि मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आज पार्टीको केन्द्रीय सचिवालयका तर्फबाट वक्तव्य जारी गर्दै एमाले महासचिव शङ्कर पोखरेलले संविधान र लोकतान्त्रिक विधिबमोजिम देशलाई राजनीतिक निकास दिनुपर्ने बताउनुभएको हो ।

उहाँले संविधानका मर्मअनुरुप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ । “यस्तो विषय परिस्थितिमा सङ्घीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरुले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेलून् भन्ने हाम्रो आग्रह छ,” महासचिव पोखरेलले भन्नुभयो, “स्थानीय निकायहरुले निर्बाध रुपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ । संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरुलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौँ ।”

विद्यमान विषम परिस्थितिका बीच अझै पनि मुलुकका विभिन्न भागमा लुटपाट, आगजनी र तोडफोडका घटना भइरहेकामा चिन्ता व्यक्त गर्दै महासचिव पोखरेलले आपराधिक क्रियाकलाप नियन्त्रण गर्न, नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न र सार्वजनिक एवं निजी सम्पत्तिको संरक्षण गर्न नेपाली सेनालगायत सबै सुरक्षा निकायको ध्यानाकर्षण गर्नुभएको छ ।

एमाले महासचिव पोखरेलले यही भदौ २३ गतेको दुःखदायी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने माग राख्नुभयो । यसैगरी, उहाँले भदौ २४ गते देशव्यापी रुपमा आगजनी, तोडफोड, लुटपाटजस्ता आपराधिक गतिविधिको निन्दा गर्दै त्यस्ता अराजक गतिविधि हुन नदिन तथा देश र जनताका पक्षमा एकताबद्ध भइ डटेर मुकाबिला गर्न पार्टी पङ्क्तिसमक्ष अनुरोध गर्नुभएको छ ।

एमाले महासचिव पोखरेलले ध्वस्त भएका सार्वजनिक कार्यालय र स्थलहरुको सरसफाइ गर्न, सामाजिक सद्भाव कायम राख्न र जनतालाई परेका पीरमर्कामा सम्भव भएसम्म सहयोग गर्र्न सम्बद्ध सबैसँग अपिल गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments