काठमाडौँ/नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिबल–२०२५’ आजदेखि सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कलापरिषद् बबरमहलमा आयोजित एक औपचारिक समारोहमार्फत महोत्सवको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा सरकार र निजी क्षेत्र समान रूपमा अग्रसर हुनुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “लोकतन्त्रमा सबै वर्ग र पेसाका मानिसलाई समान अवसर प्राप्त हुन्छ । त्यसैको सदुपयोग गर्दै हाम्रो प्राचीन धरोहर, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नु हाम्रो साझा दायित्व हो ।” उहाँले नेपालको सांस्कृतिक सम्पदा अध्ययन, अवलोकन र अनुसन्धानका लागि बर्सेनि लाखौँ पर्यटक आउने भएकाले सम्पदाको संरक्षणमा सम्पदाप्रेमी सधैँ सचेत रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवलाई नेपालको सांस्कृतिक पहिचानलाई अन्तरराष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको संस्कृति र प्रकृतिका कथा तथा यसको संरक्षणमा हाम्रा पुर्खाले पु¥याएको योगदानका कथाहरु संसारलाई सुनाउन र चिनाउन यस किसिमको महोत्सव उपयोगी हुने मेरो विश्वास छ ।”
मन्त्री पाण्डेले यस महोत्सवलाई वार्षिक क्यालेन्डरमा समेट्दै हरेक वर्ष अझ विस्तृत र व्यवस्थित रूपमा आयोजना गरिने जानकारी दिनुभयो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल प्रायः पर्वतीय तथा साहसिक पर्यटनका लागि चिनिए पनि यो महोत्सवमार्फत नेपाललाई ‘कला र सांस्कृतिक धरोहरहरूको भण्डार’ का रूपमा प्रस्तुत गर्न लागिएको बताउनुभयो ।
प्रमुख कार्यकारी अधिकृत जोशीले अहिले पर्यटनका हिसाबमा ‘अफसिजन’ समय भनेर प्रचार गरिए पनि हाम्रो सांस्कृतिक प्रदर्शनीमार्फत पर्यटक तान्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो विशिष्ट संस्कृतिलाई जगेर्ना गर्दै संसारभर प्रचार गर्नसके पर्यटन आम्दानी बढ्ने मात्र होइन, नेपालको समृद्धिमासमेत प्रत्यक्ष योगदान पुग्नेछ ।”
नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शम्शेर राणाले यस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई मात्र नभई अन्तरराष्ट्रियस्तरमै महत्व राख्ने भएकाले यसलाई ‘वैश्विक सांस्कृतिक पर्व’ का रूपमा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न ठाउँमा २३ दिनसम्म चल्ने महोत्सवमा ४० भन्दाबढी कार्यक्रम हुनेछन् । जसमा १५४ कलाकारका २७३ कलाकृति प्रदर्शनीमा राखिने छन् । साथै, सांस्कृतिक प्रदर्शनी, कला–कौशल, सङ्गीत–नृत्य, परम्परागत परिकार र जीवित संस्कृतिको अनुभव गर्ने अवसर उपलब्ध हुनेछ ।
नेपाल पर्यटन बोर्ड, नेपाल आर्ट काउन्सिल, नेपाल होटल व्यवसायी सङ्घलगायतको आयोजना र काठमाडौँ उपत्यका तथा निजी क्षेत्रको सहकार्यमा इन्द्र जात्राका अवसरमा शुभारम्भ भएको महोत्सव आगामी असोज ११ गतेसम्म चल्नेछ ।
‘नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव’ नारासहित सुरु भएको महोत्सवले उपत्यकाका पुराना सहरलाई उत्सवमय बनाउने र पर्यटनसँगै सांस्कृतिक गौरवलाई विश्वमञ्चमा पु¥याउने बोर्डको विश्वास छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित