नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : महासचिव पोखरेल

पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको उल्लेख गर्दै सहमतिबिना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य हुने बताउनुभयो ।

दाङ / नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित भएको बताउनुभएको छ ।

घोराहीमा प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको उल्लेख गर्दै सहमतिबिना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य हुने बताउनुभयो । उहाँ भन्नुभयो, “दुई छिमेकी राष्ट्रहरूले नेपालको भूमि प्रयोगका सन्दर्भमा नेपालकै सहमतिबिना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ । नेपालको सहमति र सहभागिताबिना गरिने कुनै पनि समझदारी अनुचित हुन्छ । तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्छ ।”

सुगौली सन्धिको सीमानै वास्तविक सीमा भएको दाबी गर्दै उहाँले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको बताउनुभयो । सरकारको कार्यक्षमता र उपलब्धिबारे नेता पोखरेलले भन्नुभयो, “अघिल्लो अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दा यो सरकार सफल देखिएको छ । राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ ।”

यसैबीच, पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २१, २२ र २३ गते हुने जानकारी दिनुभयो । महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने उहाँले बताउनुभयो । उहाँका अनुसार साढे छ लाख सदस्य छलफलमा सहभागी हुनेछन् ।

महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउनु उचित नरहेको बताउनुभयो । “पूर्वराष्ट्रपतीजस्तो सम्मानित व्यक्तिलाई कुनै गतिविधि गर्न नदिएर घरभित्रै बन्धक बनाउनुहुँदैन । सामाजिक रूपमा सक्रिय हुन कुनै रोकतोक छैन,” उहाँले भन्नुभयो, “सामाजिक जीवनका क्रियाकलापमा आउनै हुन्न भन्ने होइन, बन्धक नै बस्नुपर्छ भन्नै छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments