स्टोरी:

बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली वर्षौँदेखि प्रयोगविहीन

धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तात्कालिक अवस्थाबारे जानकारी दिने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेललगायत सिन्धुलीको बर्दिबाससम्म पाँच स्थानमा दशकअघि सडक हस्तान्तरणलगत्तै विभिन्न स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो ।

  • राजकुमार पराजुली/रासस

काभ्रेपलाञ्चोक / विसं २०८१ असोज दोस्रो साताको बाढीपहिराले बिपी राजमार्गअन्तर्गत भकुण्डे–सिन्धुली सडकखण्ड क्षतविक्षत बन्यो । सयौँ सवारीसाधनका हजारौँ यात्रीलगायत अलपत्रमा परे । राजमार्गको विभिन्न स्थानमा बाढीपहिराले सडक अवरुद्ध हुँदा सडकखण्डका बीचमा अलपल परेका यात्रीलाई स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको पहलमा हवाई उद्धार गर्नुपरेको थियो ।

उक्त राजमार्गमा राखिएको आकस्मिक सूचना प्रणाली (इआइएस) बोर्डमा सूचना अद्यावधिक गरिएको भए भने त्यति ठूलो सङ्ख्यामा यात्री अलपत्र पर्ने थिएनन् । सिन्धुलीबाट काठमाडौँतर्फ आउने र काठमाडौँबाट त्यसतर्फ जाने यात्रीलाई सडक अवरुद्ध एवं जोखिमपूर्ण रहेको सूचना दिएको भए हजारौँ यात्रीले त्यसबेला सास्ती खेप्नुपर्ने पनि थिएन । सङ्घीय राजधानी काठमाडौँलाई मध्यपहाडसँगै पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रूपमा रहेको बिपी राजमार्गमा इआइएस बोर्डमा करिब पाँच वर्षदेखि आवश्यक सूचना अद्यावधिक गरिएको छैन ।

तीन वर्षअघि उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तात्कालिक अवस्थाबारे जानकारी दिने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेललगायत सिन्धुलीको बर्दिबाससम्म पाँच स्थानमा दशकअघि सडक हस्तान्तरणलगत्तै विभिन्न स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो । राजमार्ग प्रवेशस्थल काभ्रेपलाञ्चोकको धुलिखेलस्थित बोर्डमा पनि मौसमअनुसारको सूचना अद्यावधिक गर्न नसकेको जनाइएको छ । उक्त बोर्डमा तीन वर्षअघिसम्म सामान्य सूचना डिस्प्ले हुँदै आएको थियो ।

सडक हस्तान्तरणपछि कन्सल्ट्यान्टद्वारा ब्यवस्थित गरिएको इआइएसको समयावधि सकिएपछि केही समय सञ्चालन भएपछि अपडेटसहित निरन्तरता दिन नसकिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताउनुभयो । उहाँका अनुसार यस वर्ष मर्मत गरी उक्त प्रणाीलाई सञ्चालन गरिनेछ । “इआइएस् मर्मत र सञ्चालन निकै चुनौतीपूर्ण छ, जनशक्ति र आवश्यक बजेटसहित यस वर्ष सञ्चालन गर्ने प्रयास गर्नेछौँ”, योगेशले भन्नुभयो । बिपी राजमार्ग अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलबाट दायाँतर्फबाट सुरु हुन्छ ।

इआइएस व्यवस्थित गरिएको सात वर्षपछि विसं २०७९ मा सञ्चालनमा चासो राखेको विभागले पनि बजेट र जनशक्ति अभावका कारण उक्त राजमार्गको आकस्मिक सूचना प्रणाली प्रविधिलाई निरन्तरता दिन नसकेको जनाएको थियो । दुई वर्षअघिसम्म धुलिखेल र खुर्कोटको डिजिटल बोर्डमा ‘सवारी चलाउँदा सचेत रहनुस्’, ‘ट्राफिक नियमको पालना गरौँ’ जस्ता सामान्य सूचनाबाहेक ‘डिस्प्ले’ हुने गर्दथे । हाल यी बोर्ड राखिएको स्थानमा सरसफाईसमेत नुहँदा घाँस र रुख उम्रिएर बोर्ड छोपिने अवस्थामा पुग्दैछ ।

उक्त प्रविधिलाई पूर्णता दिई सञ्चालनमा ल्याउन सडक विभागले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को एक्सपोर्ट टिमलाई अध्ययन स्वीकृति दिएको थियो । उसको प्रतिवेदनपछि प्रणालीलाई निरन्तरता दिने योजना बनाइए पनि बजेट र जनशक्ति नहुँदा मर्मत गरी सञ्चालन गर्न नसकिएको विभागले जनायो । विभागले सडक निर्माणकर्ता जाइकाले सडकसँगै उक्त प्राणालीको विकास गरेको तर केही समयपश्चात उक्त प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकिएको जनाउँदै आएको छ । उक्त मार्गलाई नेपालकै नमूना बनाउन यस्तो प्रणालीको विकास गरिएको आयोजनाले जनाएको थियो ।

यस्तो प्रणालीले राजमार्गको अवस्था तथा आकस्मिक घटनामा तत्काल उद्धार गर्न सकिने संयन्त्र निर्माण गर्न सकिने अपेक्षा गरिएको थियो । बिपी राजमार्गलक्षित सङ्घीय राजधानी काठमाडौँबाट अरनिको राजमार्ग प्रवेशक्षेत्र कोटेश्वरमा समेत एउटा सूचना बोर्ड राखिएको थियो । यस प्रणालीअन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिस्टम’ले निरन्तर रूपमा वर्षात्को मापन गरेर सडक विभागस्थित ‘डाटा सेन्टर’मा सूचना पठाउँछ । उक्त प्रणालीअन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरण जिपीआरएस मोडेममार्फत मोबाइल, वेभसाइट र सडक सूचना बोर्डमा आफैँ अपडेट हुन्छ । यी विवरणहरू ‘एलइडी डिस्प्ले’ बोर्डहरूमा नेपाली र अङ्गे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । चौबिसै घण्टा विवरण अपडेटमा लोडसेडिङले समस्या हुनसक्ने जनाउँदै सबै केन्द्रमा सौर्यशक्ति (सोलार)मार्फत विद्युत् आपूर्ति हुने व्यवस्था पनि मिलाइएको थियो ।

यस्तै राजमर्गामा वर्षा, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे तत्काल मोबाइल, वेबसाइटमा जानकारी आउने व्यवस्था मिलाइने योजना बनाइएको थियो । यही जानकारी राजमार्गको वेबसाइट तथा कोटेश्वर, धुलिखेल, खुर्कोट, सिन्धुली र बर्दिबासमा रहको डिजिटल सूचना बोर्डमा पनि हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो । राजमार्गको अवस्थाबारे मोबाइल तथा वेबसाइटमा जानकारी लिनसक्ने गरी १० वर्षअघि उक्त प्रविधि जडान गर्न सडकखण्डको विभिन्न स्थानमा सूचना प्रविधिका भौतिक पूर्वाधारलगाययत संरचना निर्माण तथा व्यवस्थापन गरिएको हो ।

यस्तै वेबसाइट र सडकमा रहेका इलेक्ट्रिकल बोर्डका सूचना हेरेर पनि यात्रा तय गर्न सकिने योजनासमेत बनाइएको थियो । त्यसबेला राजमार्ग सञ्चालन तथा मर्मतसम्भारका लागि स्थापित उपआयोजनाले यस्तो प्रणालीको विकास गरेको थियो । विभागका अनुसार एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेशनसहित वेबसाइट र इआइएसलाई इञ्जिनियररिङ सफ्टवेयर कम्पनीले ‘प्रणाली’समेत तयार पारिसकेको थियो ।

काभ्रेपलाञ्चोकको धुलिखेलबाट २०५४ सालबाट बनेपा–सिन्धुली बर्दिबास एक सय ६० किलोमिटर सडक विस्तार गरिएको थियो । चार खण्डखण्ड विभाजन गरी २०७२ साल असारमा निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments