काठमाडौं/ धादिङको नीलकण्ठ नगरपालिका संस्थागत स्वमूल्याङ्कनमा देशकै उत्कृष्ट भएको छ । ९३.५० अङ्क ल्याएर उत्कृष्ट भएको नगरपालिकालाई सङ्घीय सरकारले सम्मान गरेको छ ।
शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गानालाई सम्मान गर्नुभयो । विभिन्न एकसय वटा सूचकहरुमा भएको मूल्याङ्कनको आधारमा आ.व २०८०–८१ मा नगरपालिकाहरु मध्येबाट धादिङको नीलकण्ठ नगरपालिका प्रथम हुन सफल भएको हो ।
आर्थिक पारदर्शिता र जवाफदेहितालाई मुख्य प्राथमिकतामा राखेर नीलकण्ठ नगरपालिकाले काम गर्दैआएको नगर प्रमुख भीमप्रसाद ढुङ्गानाले बताउनुभयो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समग्र स्थिति, प्रक्रियागत स्थिति र परिणामको मुख्य तीनवटा आयामलाई आधार मानेर मूल्याङ्कन गरिएको थियो ।
स्वमूल्याङ्कनका लागि कार्यविधिले विभिन्न १० वटा विषयक्षेत्र निर्धारण गरेको छ । त्यसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत व्यवस्थापन र सहकार्य तथा समन्वयलाई सूचक मानेर स्थानीय संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गरिन्छ ।
त्यसैगरी गाउँपालिकातर्फ धादिङको बेनीघाट रोराङ गाउँपालिका ९१.७५ अङ्क ल्याएर पहिलो भएको छ । मन्त्रालयले धादिङको नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका, खैरहनी नगरपालिका चितवन र तिलोत्तमा नगरपालिका रुपन्देही, अर्जुनचौपारी गाउँपालिका स्याङ्जा र रुरुक्षेत्र गाउँपालिका गुल्मीलाई सम्मान गरेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित