काठमाडौँ/ विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको छ । यो सँगै बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको हो । नेपालको सफलतामा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालयलाई बधाई दिएको छ ।
सङ्गठनका दक्षिण पूर्वी एसिया कार्यालय प्रमुख डा क्याथरिना बोएह्मले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सोमबार पत्र पठाउँदै सो बधाई दिनुभएको हो । लामो समयदेखि प्रयास भइरहे पनि बालबालिकाको ज्यान लिने कारक यस रोगको उन्मूलन हुनसकेको थिएन । केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य सङ्गठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत यस कार्यमा सक्रिय सबै स्वस्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत साझेदारहरूलाई धन्यवाद दिनुभएको छ ।
“यो ऐतिहासिक उपलब्धि नेपाल सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोग तथा समन्वयबाट सम्भव भएको हो”, उहाँले भन्नुभएको छ ।
यस उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट नागरिक र विशेषगरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिवद्ध रहेको जनाउँदै उहाँले यसका लागि हामी निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग–निगरानी प्रणालीको सुदृढीकरण तथा निवारणपश्चातको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताउनुभएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित