काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको २१ औैँ बैठकले यस शैक्षिकसत्रका लागि चिकित्सा शिक्षाको विभिन्न तह र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको पिसिएल तहको संख्यावृद्धिसहित सिट निर्धारणको निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोगको सिट निर्धारण समितिको सिफारिस बमोजिम सो निर्णय भएको हो ।
गत असार ३२ गते भएको आयोगको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गर्न प्रक्रिया अघि बढाएको थियोे ।
हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङलाई बढाएर एक सय ३० सम्म र ५० सिट रहेको बिडिएसलाई ६० दिने निर्णय गरेको हो।
बैठकमा सहभागी एक सदस्यले दिएको जानकारी अनुसार मेडिकल कलेजहरुको पूर्वधार, फ्याकल्टी लगायतका मापदण्डहरु हेरेर एमबीबीएसमा बढीमा १ सय ३० र बीडीएसमा ६० सिटसम्म दिने निर्णय भएको छ।
‘मेडिकल कलेजहरुको सिट बढ्ने निर्णय भयो,’ ती सदस्यले भने, ‘मापदण्डहरु पूरा भएका कलेजका हकमा मापदण्ड अनुसार नै सिट संख्या दिने निर्णय भएको हो।’
ती सदस्यका अनुसार सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजहरुमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस रहेका छन्। पोखराको मणिपालले १२० सिट पाएको छ।
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले मेडिकल कलेजको सिट र शुल्क नबढाउन चेतावनी दिँदै आइरहेका छन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित