एकै वर्षमा दुईवटा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि झनै गुरुङ दम्पत्तिमा मेहनत र परिश्रमको हुटहुटि चलेको देखिन्छ ।
मुस्ताङ। खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बन्नुभएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङ । उहाँहरुले अहिले जीवनभरको मेहनतको फल प्राप्त गरिरहनुभएको छ ।
गुरुङ दम्पत्तिलाई कुनैबेला बगरमा स्याउ लगाउँदा स्थानीय गाउँलेहरुले कुरा काटेर हैरान पार्दथे । छिरिङ भन्नुहुन्छ “ तत्कालीन समय समय सम्झदा नमज्जा लागेपनि अहिले भने राम्रै गरेको भन्ने लागिरहेको छ । ” एकै वर्षमा दुईवटा राष्ट्रिय पुरस्कारबाट सम्मानित भएपछि झनै गुरुङ दम्पत्तिमा मेहनत र परिश्रमको हुटहुटि चलेको देखिन्छ ।
कालीगण्डकी करिडोर बेनी– जोमसोम– कोरोला सडक हुँदै उत्तरी सिमाना कोराला नाका जाने बाटो नजिकै तिरी गाउँ भए पनि विकट झैँ लाग्छ । एउटा पक्की पुलको आसामा वर्षौँ बिताइसकेका कालीगण्डकी नदी पारी तिरी गाउँका स्थानीयसँगै गुरुङ दम्पत्ति आम मुस्ताङवासी किसानको गतिलो उदाहरण बन्नुभएको छ । सडक सञ्जालले सहज रुपमा नछोए पनि गुरुङ दम्पत्तिले स्याउ र च्याङ्ग्रा बेचेरै वार्षिक लाखौँ आम्दानी गर्नुहुन्छ ।
गुरुङ दम्पत्तिले सुरुआत गर्नुभएको ङवाङ हिसी कृषि तथा पशुपक्षी अग्र्यानिक फर्मको करिब एक रोपनीबाट सुरुआत गर्नुभएको थियो । अहिले समग्र मुस्ताङ जिल्लाकै नमूना किसानमा आफ्नो पहिचान बनाइसक्नु भएका उनीहरुको अहिले करिब ६० रोपनी क्षेत्रफलमा स्याउखेती फैलिएको छ । उनीहरुलाई दैनिकजसो स्याउ खेती स्याहार्ने, बगैँचा व्यवस्थापन गर्नेदेखि अन्य महत्वपूर्ण कार्यमा खर्चिनुपर्ने हुन्छ । बिहान उठेदेखि बेलुकीसम्म पूरै समय किसान भएर काम गर्न पाउदाको क्षण उनी दुबै दम्पत्तिलाई बडो आनन्द आउने उनीहरु बताउछन् । यद्यपि स्याउ बगैँचा व्यवस्थापन र च्याङ्ग्रा हेरालुसहित अहिले उनीहरुसँग करिब आठ जना मजदुर पनि छन् ।
कुनैबेला व्यावसायिक स्याउखेती नहुने बगरमा बेकारको लगानी ग¥यो भन्दै आङ्ग्या र छिरिङको खिसीटिउरी गर्ने गाउँलेहरु अहिले उनीहरुको सफलता देखेर चकित परेका छन् । करिब १८ वर्ष पहिला सन्तानको शिक्षादीक्षासहित घरखर्च चलाउने सोचबाट सुरू भएको स्याउखेतीले आम्दानी दिन थालेपछि आङ्ग्या र छिरिङ दम्पत्तीले उक्त फर्मको स्थापना गर्नुभएको थियो । निरन्तर मेहनत र परिश्रम गरे सफलता मिल्छ भन्ने ज्वलन्द उदाहरणको साक्षी हुन् गुरुङ दम्पत्ति । अहिले उनीहरुको कडा मेहनत र परिश्रमकै कारण पछिल्लो केही वर्षमा समग्र मुस्ताङवासीको प्रेरणाको स्रोत बन्नुभएको ।
पहाडको शिरमा पाँच सय भन्दा बढी च्याङ्ग्रा र खाली बगरमा रैथाने र आधुनिक स्याउखेती गरेर वार्षिक पचास लाखसम्मको आम्दानी भए पनि मेहनत धेरैनै हुने गरेको छिरिङ ढोका गुरुले बताउनुभयो । यसै वर्ष छिरिङ ढोका गुरूङ सरकारबाट, आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङ दम्पत्ति पुनः गण्डकी प्रदेश सरकारबाटसमेत वर्षको सर्वोत्कृष्ट किसानको रुपमा सम्मानित हुनुभएको छ । छिरिङ ढोका गुरुङले नगद रू दुई लाखसहितको राष्ट्रपति उत्कृष्ट किसान पुरस्कार र गुरुङ दम्पत्तिलाई गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गण्डकी प्रदेशको सर्वोत्कृष्ट किसान घोषित गरेको छ ।
शुक्रबार पोखरामा कृषि भूमि व्यवस्था तथा सहकारी कृषिमन्त्री पद्यमा जिसी श्रेष्ठ, सचिव वासुदेव रेग्मीले नगद रु ५० हजारसहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गर्नुभएको हो । गुरुङ दम्पत्तीको स्याउ बारीमा अहिले करिब दुई हजार पाँच सय स्याउको बोट रहेकोमा यसवर्ष छिमेकी जिल्ला मनाङबाट पाँच सय बोट हाइडेन्सीटी (उच्च घनत्वमा उत्पादन हुने) प्रजातिको स्याउसमेत रोप्ने तयारी गर्नुभएको छ ।
गतवर्ष खर्च कटाएर ३५ लाख स्याउ बिक्रीबाट मात्रै आम्दानी गर्नुभएको छ । पाँच सय च्याङ्ग्रा रहेको फार्मबाट गतवर्ष १३ लाख आम्दानी गर्नुभएको थियो । जलवायु परिवर्तनले पानीको मुहान सुकेपछि करिब १३ घरधुरी नै विस्थापित हुने जोखिममा रहेको अवस्थामा गाउँमा व्यावसायिक स्याउखेतीसहित पशुपालनमा सक्रिय गुरुङ दम्पत्तीको यतिबेला सङ्घर्ष र सफलताको चर्चा भइरहेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित