विचारः

कीर्तिमानी आरोहीहरुको गाउँ ‘बेदिङ’

  • राजु सिलवाल

सन् १९५२ मा स्विजरल्यान्डको एउटा अनुसन्धान टोली काठमाडौँ, दोलखा हुँदै रोल्वालिङ उपत्यकाबाट पाँच हजार ७०० मिटर उचाइमा रहेको तासिलाप्चा पास पार गरेर सगरमाथातर्फ गएको थियो । त्यो टोलीमा दोलखाको गौरीशङ्कर गाउँपालिकास्थित बेदिङ गाउँका रिताछिरी शेर्पा पनि सामेल हुनुभएको थियो । बेदिङबाट सगरमाथा क्षेत्र जाने उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो ।

बेदिङ गाउँ हिमाल आरोहीहरुको गाउँका रुपमा परिचित छ । यो गाउँका बासिन्दाहरु विगत लामो समयदेखि हिमाल आरोहण पेसामा आबद्ध छन् । रिताछिरी सन् १९५३ मा सर एडमन्ड हिलारी तथा तेन्जिङनोर्गे शेर्पाको टोलीमा पनि सगरमाथामा जानुभएको जानकारी उहाँका छोरा दावाछिरी शेर्पाले दिनुभयो

त्यतिबेला उहाँका साथमा उहाँका ज्वाइँ पेम्बुतर शेर्पा पनि जानुभएको थियो । हिलारी नेतृत्वको आरोहण टोलीमा संलग्नतापछि रिताछिरी शेर्पाले चीनको स्वशासित क्षेत्र तिब्बतबाट याक ल्याएर बेदिङ र ना गाउँमा पशुपालन गर्नुभएको थियो । केही वर्षअघि ८५ वर्षको उमेरमा उहाँको निधन भएको थियो । उहाँका छोरा दावाछिरीले पनि १२ पटक सगरमाथा आरोहण गर्नुभएको थियो । २०५८ सालमा दर्ता गरिएको एभरेष्ट समिटर्स क्लब, रोल्वालिङ, दोलखाका अध्यक्षसमेत रहनुभएका दावाछिरीका अनुसार हालसम्म बेदिङ गाउँका सयौँले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । जसमा महिलाहरुको सङ्ख्या नगण्य छ । बेदिङका ६ जनाको हिमाल आरोहणका क्रममा निधन भएको थियो । उक्त गाउँका सगरमाथा आरोहीहरुमध्ये ५२ जना जीवित छन् । बेदिङकै सगरमाथा आरोही आङफूर्वा शेर्पा ८० वर्ष कटिसक्नुभएको छ । उहाँ हाल काठमाडौँमा बस्नुहुन्छ । अन्य धेरै आरोही कामका सिलसिलामा काठमाडौँमै बसे पनि बर्खायामका बेला गाउँमा भेटिन्छन् । केही आरोही भने अमेरिका पुगेका छन् ।

स्मरणीय आरोहीहरु:

विसं २०५० वैशाख १० गते पहिलो नेपाली महिला आरोहीका रुपमा सगरमाथा आरोहण गर्न सफल स्व पासाङल्हामु शेर्पाको पर्वतारोहण टोलीको सरदारका रुपमा सोनामछिरिङ शेर्पा रहनुभएको थियो । शिखरबाट फर्कंदा पासाङल्हामु तथा सोनामछिरिङ शेर्पा साथै हुनुहुन्थ्यो । अचानक मौसम बिग्रेर समयमा उद्धार गर्न नसकिएको केही दिनपछि पासाङल्हामुको शव फेला परेको थियो भने सोनामछिरिङलाई फेला पार्न सकिएन । उहाँको शव हालसम्म भेटिएको छैन । आरोही पेम्बादोर्जे शेर्पाका अनुसार सोनामछिरिङ पनि बेदिङ गाउँकै हुनुहुन्थ्यो । यो पङ्क्तिकारले २०४९ सालमा सोनामछिरिङलाई कम बोल्ने स्वभावका साथै अत्यन्त शालीन व्यक्तिका रुपमा भेटेको थियो ।

सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउने बेदिङबासीमध्ये लोप्साङजाङ्बु शेर्पालाई अझै मानिसहरु सम्झने गर्दछन् । पङ्क्तिकारले उहाँलाई भेट्दा हिमालमा कसरी नयाँ कीर्तिमान कायम गर्न सकिन्छ भन्ने लक्ष्यबाहेक अन्य ध्याउन्न केही नभएको पाएको थिएँ । राष्ट्रिय पोसाक लगाएर सगरमाथा चढ्नुभएका लोप्साङजाङ्बुको नयाँ कीर्तिमान कायम गर्ने सिलसिलामा हिमालमै निधन भएको थियो ।

दोलखा जिल्लास्थित गौरीशङ्कर गाउँपालिकाको हाल वडा नं ९ मा रहेको बेदिङ गौरीशङ्कर नामले पनि परिचित छ । रोल्वालिङ उपत्यकामा रहेको यो गाउँ समुद्री सतहदेखि तीन हजार ६९० मिटरदेखि चार हजार २०० मिटरसम्मको उचाइमा छ । रोल्वालिङ उपत्यका पर्वतारोहण गाइडको प्रशिक्षणलाई उपयुक्त स्थल मानिएको छ । विश्वकै चर्चित माउन्टेन गाइडहरु यसै स्थलका बासिन्दा भएको स्थानीय ९ नं वडाका अध्यक्ष ङिमागेली शेर्पा बताउनुहुन्छ ।

रोल्वालिङ उपत्यका जहाँबाट सगरमाथा तथा तिब्बत पनि जान सकिन्छ । यहीँको बेदिङ गाउँमा मानिसहरु हिउँदमा बस्ने गर्दछन् भने वर्षाको समयमा लेकमा रहेको ना गाउँमा सर्ने गर्दछन् । ना भनेको शेर्पा भाषामा तीर्थ भएको गाउँ पनि भनिन्छ । बेदिङमा गाउँबस्ती ठूलो छ । यहाँबाट विभिन्न मुलुकका साथै आन्तरिक पर्यटकहरु च्छो रोल्पा ताल, दूधकुण्ड तथा ना तीर्थ पनि जाने गरेका छन् । प्रथम सगरमाथा आरोही स्वर्गीय एडमन्ड हिलारीले यहाँ स्कुल बनाइदिएका थिए । बेदिङमा बिजुली पुगे पनि हालसम्म इन्टरनेटको सुविधा पुग्न सकेको छैन । बेदिङस्थित स्वास्थ्य चौकीमा हालै सरकारी नर्सको दरबन्दीको व्यवस्था गरिएको जानकारी आरोही फुर्वातेन्जिङ शेर्पाले दिनुभयो ।

कीर्तिमान नै कीर्तिमान

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो बनाउने ‘रोप फिक्सिङ’ टोलीमा बेदिङकै छिरिङपेम्बा शेर्पा पनि हुनुहुन्थ्यो । यसपालि सगरमाथामा सबैभन्दा पहिलो सफल आरोहण छिरिङपेम्बा शेर्पाले नै गर्नुभएको थियो ।

सगरमाथाका पाका आरोही ङवाङयोन्देन शेर्पा पनि बेदिङवासी नै हुनुहुन्छ । प्रथम पटक हिउँदयाममा सगरमाथा आरोहणको कीर्तिमान उहाँको नाममा छ । त्यतिखेर उहाँ जापानी पर्वतारोही टोलीका साथ सगरमाथा जानुभएको थियो । ७३ वर्ष पुग्नुभएका शेर्पा हाल काठमाडौँमा बस्नुहुन्छ । बेदिङ निवासीहरुमध्ये हालसम्म सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्नेहरुमा पेमाछिरिङ शेर्पा हुनुहुन्छ । उहाँले २३ पटक सगरमाथा चढिसक्नुभएको छ । यसै गाउँकी आरोही दावायाङजुङ शेर्पा संसारका आठ हजार मिटरभन्दा अग्लो १४ वटा हिमाल चढ्न सफल पहिलो नेपाली महिला बन्नुभएको छ । उहाँ पहिलो महिला एसियन माउन्टेन गाइड पनि हुनुहुन्छ । बेदिङकै निमाग्याल्जेन शेर्पाले पनि आठ हजार मिटरभन्दा अग्लो १४ वटा हिमाल चढ्नु भएको थियो । बेदिङका आरोहीहरुमध्ये उहाँले सबैभन्दा पहिले ती १४ वटै हिमालको आरोहण गर्नुभएको थियो ।

एउटै परिवारका सबैभन्दा धेरै सदस्यहरुले सगरमाथा आरोहण गर्न सफल भएको कीर्तिमानी पनि बेदिङसँग जोडिएको छ । बेदिङका स्व छिरिङनोर्बु शेर्पा र आमा किन्जुङ शेर्पाका आठजना सन्तानले सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएको छ । एउटै आमाका छोराछोरीहरु पेम्बाग्याल्जेन, फुर्वाथुन्डु, पेम्बादोर्जे, दावाडिकी, निमा ग्याल्जेन, फुर्वातेन्जिङ, फुर्वाठिले र निमाल्हामु शेर्पाले सगरमाथा चढेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराउनु भएको थियो । यसअघि सन् २०१८ मा सोही परिवारका चार दाजुभाइ, दिदीबहिनी पेम्बादोर्जे, फुर्वातेन्जिङ, दावाडिकी र फुर्वा ठिलेले एकै पटक सगरमाथा शिखरमा पुगेर पहिलोपटक दाजुभाइ तथा दिदीबहिनी एकसाथ सगरमाथाको शिखरमा पुगेको विश्व कीर्तिमान बनाउन सफल हुनुभएको थियो । सोही परिवारमा फुर्वातेन्जिङ शेर्पा यसपालिको वसन्त ऋतुमा १७औँ पटक सगरमाथाको आरोहण गर्नुभएको थियो ।

बेदिङको वीरता

बेदिङ गाउँकै शेर्पाहरुमध्ये कीर्तिमान मिङ्गमा जी शेर्पाले राख्नुभएको विश्व कीर्तिमानको आफ्नै विशेषता रहेको छ । हिमालमा जति धेरै उचाइ माथि जाँदा अक्सिजन कम हुँदै जाने गर्दछ । यसैकारण आरोहीहरुले हिमाल जाँदा पूरक अक्सिजनको प्रयोग गर्ने गरेका छन् । तर मिङ्गमा जी फरक व्यक्तिका रुपमा प्रमाणित हुनुभयो । उहाँले संसारका आठ हजार मिटरभन्दा अग्ला सबै हिमालहरु पूरक अक्सिजनको प्रयोग बिना आरोहण गर्ने पहिलो नेपाली बन्ने सफलता प्राप्त गर्नुभयो । उहाँले सातै महादेशका उच्च हिमालहरु चढेर पर्वतारोहणका क्षेत्रमा नयाँ आयाम थप्नु भयो जुन त्यति सहज छैन । यसैगरी, हिउँदमा हिमाल चढ्नु ज्यादै कठिन मानिन्छ । उहाँले हिउँदमा पहिलोपटक अन्य नेपाली आरोहीहरुसँगै संसारकै दोस्रो अग्लो हिमाल केटु चढेर आफूलाई विश्व कीर्तिमानी आरोहीको पङ्क्तिमा उभ्याउनु भयो ।

मिङ्गमा जीले आफ्नो बाजेबराजुकै बाटो पछ्याउँदै आइरहनुभएको छ । हिमाल चढ्ने क्रममा आठवटा औँला हिउँले खाएर पेसाबाटै वञ्चित हुनु परेका बाबु दोर्जी शेर्पाको प्रोत्साहनबाट उहाँ हिमाल चढ्न प्रेरित हुनुभएको थियो । ६४ वर्षको उमेरमा निधन हुनुभएका बुबाले आफूलाई हिमाल चढ्, हिमालले तिमीलाई पाल्छ भनी बरोबर भन्ने गर्नुभएको छोरा मिङ्गमा जी स्मरण गर्नुहुन्छ । हाल बेदिङमै रहनुभएकी आमा रिन्जिन डोमा शेर्पाले भने छोरालाई हिमाल चढ्ने काम गर्दै नगर भनेर सचेत गराउनु हुन्थ्यो । सुरुमा खासै इच्छा नभएता पनि पर्वतारोहणलाई पछ्याएका बेदिङका शेर्पाहरुको गतिविधिबाट आकर्षित हँुदै एसएलसी परीक्षा उत्तीर्ण भएपछि मिङमा जी हिमालतर्फ जानुभएको थियो । पर्वतारोहणतर्फ लागेका दोर्जीका छोरीहरु निमाजाङमु शेर्पा, छिरिङनाम्गेल शेर्पा तथा दावाफुटी शेर्पा पनि आरोहीका रुपमा स्थापित हुनुभएको छ । मिङ्गमा जीले पहिलोपटक सन्् २००६ मा जापानी आरोहीहरुका साथ मनास्लु हिमाल आरोहण टोलीमा संलग्न हुने अवसर पाउनु भएको थियो ।

छिटो छिटो आरोहण

आरोही मिङ्गमा जी शेर्पाले अन्य तीन चिनियाँ आरोहीहरुसँगै हालै दक्षिण अमेरिकास्थित अकोन्कागुवा हिमाल आरोहण गरेर आफ्नो सातै महादेशका उच्च हिमाल चढ्ने अभियान टुङ्ग्याउनु भएको थियो । उहाँले विश्वको सगरमाथा छ पटक आरोहण गरिसक्नुभएको छ । उहाँले पछिल्लो पटक सन्् २०२२ मा सगरमाथा आरोहण गर्नुभएको थियो । उहाँले सन् २०२४ को अवधिमा उत्तर अमेरिकाको माउण्ट डेनाली, अष्ट्रेलियामा पर्ने माउण्ट कास्टन पिरामिड, रसियामा रहेको माउण्ट एल्बरुस, अन्टार्टिकामा रहेको माउण्ट भिन्सन्, दक्षिण अफ्रिकाको तान्जानियामा रहेको माउण्ट किलिमान्जरो र अर्जेन्टिनामा रहेको माउण्ट अकोन्कागुवा हिमाल चढ्न भ्याउनुभएको थियो । गिनिज बुक अफ वल्र्ड रेकर्डसमा समेत नाम लेखाउन सफलता प्राप्त गर्नुभएका मिङ्गमा जीको कीर्तिमानले बेदिङ गाउँलाई मात्र नभई समस्त नेपालीलाई नै गौरवान्वित बनाएको धारणा पर्वतारोहीहरुले व्यक्त गरेका छन् ।

मिङ्गमा जीले सन् २०२२ मा मनास्लु हिमालको आरोहण गरी १४ वटा हिमाल आरोहण गर्ने क्रम सुरु गर्नुभएको थियो । उहाँले गत सन् २०२३ को मेदेखि अक्टोबरसम्ममा सगरमाथा, ल्होत्से, पाकिस्तानको नांगापर्वत, गेसरब्रुम १, गेसरब्रुम २, ब्रोडपिक र केटु, धवलागिरी तथा चोयू गरी नौवटा हिमालको सफल आरोहण गर्नुभएको थियो । उहाँले सन् २०२४ मा अन्नपूर्ण, मकालु, कन्चनजङ्घा र चीनको तिब्बतमा पर्ने सिसापाङ्गमा चढेर १४ वटा हिमाल चढ्ने अभियान सम्पन्न गर्नुभएको थियो । उहाँले अर्जेन्टिनास्थित अकोन्कागुवा हिमाल चढेर सात महादेशका शिखर चढ्ने अभियान पनि टुङ्ग्याउनु भएको थियो । स्की गर्दै दक्षिणी ध्रुवमा पुग्नुभएका मिङ्गमा जीले कुशल स्की खेलाडीको परिचय पनि दिनुभएको छ । सन् २०२७ मा स्की गरेर उत्तरी ध्रुवमासमेत पुग्ने उहाँको लक्ष्य छ ।

अब्बल गाइड

मिङ्गमा जी शेर्पाले हिमालमा गाइड गर्दै विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल तथा सातै महादेशका सात उच्च हिमाल चढ्न सफल हुनुभएको हो । उहाँले विश्वका कुनै पनि हिमालमा गाइड गर्न नेपाली माउण्टेन गाइड सक्षम भएको सन्देश दिन आफूले प्रयास गरेको बताउनुभयो । हिमालमा गाइड गर्ने काम अत्यन्त जटिल र जोखिमपूर्ण मानिन्छ । आरोहीलाई हिमालको शिखरसम्म पथप्रदर्शन गर्दै लगेर सकुशल आधार शिविरसम्म फिर्ता ल्याउनु उसको जिम्मेवारीभित्र पर्दछ । हाल नेपालका हिमालहरुमा नेपाली माउण्टेन गाइडहरुको वर्चस्व छ । अहिले विभिन्न मुलुकका हिमालमा गाइड गर्ने काममा केही नेपाली संलग्न हुँदै आइरहेका छन् । हाल अमेरिका, युरोपका साथै अन्टार्टिकामा समेत नेपाली माउण्टेन गाइडले काम गरिरहेका छन् । भविष्यमा अन्य नेपालीले पनि विदेशी कम्पनीका लागि गाइड गर्न सक्ने सम्भावनाको ढोका खुलेको उहाँको धारणा गरेको छ ।

केटु हिमालमा सयौँ थुङ्गा…

मिङ्गगमा जीले सन् २०२१ को हिउँदयाममा केटु हिमालको सफल आरोहण गर्नुभएको थियो । पाकिस्तानमा पर्ने विश्वको दोस्रो अग्लो शिखर केटु चढ्न जाँदा साथमा दावातेन्जिङ शेर्पा र किलितेम्बा शेर्पा पनि हुनुहुन्थ्यो । आरोहणकै क्रममा कीर्तिमानी आरोही निर्मल पुर्जा र छाङदावा शेर्पा पनि भेटिनुभयो । बेग्लाबेग्लै समूहमा जानुभएका उहाँहरु हिमाल चढ्ने क्रममा भेटिएपछि शिखरभन्दा करिब १० मिटर तलदेखि एकै साथ नेपालको राष्ट्रिय गान गाउँदै उक्लिनुभएको थियो । सन् २०२१ को जनवरी १६ तारिखका दिन केटुको शिखरमा आरोहीहरुले ‘सयौँ थुङ्गा फूलका हामी…’ राष्ट्रिय गान गुञ्जाउँदै आरोहण गरेको त्यो क्षण अत्यन्त ऐतिहासिक थियो । हिउँदयाममा केटु हिमालको शिखरमा पहिलो आरोहीका रुपमा नेपालीहरु पुगेपछि विश्व कीर्तिमान मानिएको थियो । त्यो आरोहणलाई बिबिसी लगायत विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रसारण गरेका थिए ।

मनास्लुमा नयाँ रुट

सन् २०२१ मा आरोही मिङ्गमा जीले नेतृत्व गरेको आरोहण टोलीले मनास्लु हिमालमा नयाँ रुट पत्ता लगाएको समाचार विश्वव्यापी भएको थियो । रोल्वालिङ डाइभर्सन नामकरण गरिएको उक्त नयाँ रुटलाई विश्वभरका आरोहीहरुले स्वागत गरेका थिए । मिङ्गमा जीले अन्तरराष्ट्रिय आरोही समुदायमा नेपाली आरोहीहरु पनि प्राविधिक रुपमा दक्ष भएको प्रमाणित गर्न आफूले चाहेको बताउनुभएको छ । उहाँको सबैभन्दा पहिलो आरोहण मनास्लु हिमाल नै थियो ।

पहिलो एकल आरोहण

आरोही मिङ्गमा जीले सन् २०१५ को अक्टोबर २८ तारिखका दिन पहिलोपटक एक्लैले छ हजार ६८६ मिटर अग्लो चोबुजी हिमाल आरोहण गर्नुभएको थियो । त्यो हिमाल आरोहणका लागि निक्कै जोखिमसमेत व्यहोर्नु परेको थियो । खराब मौसमका कारण तेस्रो दिनमा मात्र सफलता मिलेको थियो । सन् २०१७ को अक्टोबर २ तारिखका दिन नाङ्गा पर्वत चढ्दै मिङ्गमा जीले पहिलोपटक शरद ऋतुमा आरोहण गरेको श्रेय प्राप्त गर्नुभयो । कैयौँ मुलुकका आरोहीहरुलाई कीर्तिमानी बनाउन सहयात्रीका रुपमा पनि मिङमा जीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहनु भएको छ । सामान्य रुपमा अरूको कम्पनीमा काम गर्न सुरु गर्नुभएका मिङ्गगमा जीले हाल आफ्नै कम्पनी स्थापना गरी कैयौँलाई रोजगार दिन सक्षम हुनुभएको छ ।

उद्धारको अभाव

कीर्तिमानी आरोही मिङ्गमा जीले हिमाल आरोहणमा जाँदा धेरै पटक जोखिम व्यहोर्नु भएको छ । उहाँले कति आरोहीहरु दुर्घटनामा परेको देख्नुभएको छ । कतिपयको दुःखद निधनसमेत भएको देख्नुभएको छ । सन् २००३ मा सगरमाथामा एकजना जापानी आरोही बितेको क्षणको उहाँ अझै स्मरण गर्नुहुन्छ । एकपटक अन्नपूर्ण हिमाल आरोहणका बेला समयमै उद्धार नगरिएको भए ज्यानै जान सक्ने अवस्था भोगेको उहाँ बताउनुहुन्छ । सन् २०११ मा हिमालसम्बन्धी आधारभूत तालिम लिएपछि मात्र हालसम्म भाग्यले बाँचेको मिङ्गगमा जीलाई अनुभव भएको थियो ।

हिमालमा जोखिमबाट निस्कन नसके मर्नुबाहेक विकल्प नभएकाले हिमाली क्षेत्रमा हेलिकप्टर सहितको उद्धार टोली सधैँ तयारी अवस्थामा राख्नु पर्ने मिङ्गमा जीको सरकारसँग सुझाव छ । युरोप, अमेरिकातिरका हिमालमा जोखिममा पर्दा बटन थिचेको भरमा उद्धारका लागि हेलिकप्टर आइपुग्ने गरेको तर नेपालमा पैसा तिरेपछि मात्र हेलिकप्टरबाट उद्धार हुन सक्ने अवस्थालाई पनि सम्बन्धित अधिकारीले गम्भीर रुपमा लिनुपर्ने देखिएको छ । विगतमा नेपालको हिमाली क्षेत्रमा झुटो उद्धारको मामिला पनि चर्चित भएको थियो ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घका अध्यक्ष तुलसिंह गुरुङले हिमालमा जोखिमको परिमाण बढी भएकाले तत्काल उद्धारको व्यवस्था जरुरी भएको बताउनुहुन्छ ।

पलायनको समस्या

विश्वमा हिमाल आरोहणको क्षेत्रमा नेपालको आफ्नै विशिष्ट पहिचान भए तापनि नेपाली आरोहीहरुलाई हालसम्म स्वदेशभित्रै उचित सम्मान दिन सकिएको छैन । जतिसुकै ठूला कीर्तिमान राखेका आरोहीलाई पनि विदेश जानु पर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा लाइन नव्यहोरी सुखै छैन । सरकारी अस्पतालमा समेत सामान्य छुट दिन सरकारले सकेको छैन । हिमाल चढ्नका लागि आरोहण टोलीले तिर्ने गरेको हजारौँ डलर आरोहीहरुको हितमा खर्च गरिएको छैन । नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले सरकारले उठाउने रोयल्टीको ५० प्रतिशत रकम आरोहीहरुका लागि खर्च गरिनुपर्ने धारणा व्यक्त गर्नुहुन्छ । नेपालमा पर्यटन नीति लचिलो नभएकाले पनि पर्वतारोहण क्षेत्रका गतिविधि विस्तार हुन सकेका छैनन् । पर्वतारोहणलगायतका साहसिक पर्यटनसँग सम्बन्धित पेसामा संलग्न रहेकाहरुको विदेश पलायनको अवस्था बढ्दो छ ।

यसबाट बेदिङ गाउँसमेत अछुतो छैन । मुलुककै कैयौँ कीर्तिमानी आरोहीसमेत उज्ज्वल भविष्यको खोजीमा विभिन्न मुलुकमा गइरहेको अवस्थामा सरकारले उनीहरुलाई स्वदेशमै बस्न सक्ने वातावरण बनाउन यथोचित कदम चाल्नु जरुरी देखिएको छ । हिमालमा गतिविधिहरु निरन्तर बढाउन सरकारले प्राथमिकता दिनुपर्दछ । आरोहणमा लागेकाहरुलाई जीविकोपार्जनको वैकल्पिक व्यवस्था पनि आवश्यक छ । कीर्तिमानीहरुलाई समाजका अन्य सम्मानित नागरिक सरह जीवन निर्वाह भत्ताको बन्दोबस्त हुन सके उनीहरुको उचित कदर हुने थियो । हिमाल आरोहण टोलीमा आरोहीहरुलाई ‘लियाजो अफिसर’का रुपमा पठाउने हालको सीमित व्यवस्थालाई पुनः विचार गरी धेरै जना लाभान्वित हुनसक्ने योजना ल्याइनु जरुरी देखिएको छ । जसले विदेश पलायनको हालको अवस्था केही हदसम्म कम गर्ने देखिएको छ । हालकै अवस्था आगामी दिन पनि जारी रहने हो भने भोलिका दिनमा नेपालका हिमालमा आरोहणका लागि आउने पर्वतारोहीहरुलाई लागि गाइड तथा अन्य सहयोगी विदेशबाटै आउन सक्ने अवस्थालाई नकार्न सकिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments