नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता

काठमाडौँ । नेपालमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको छ । विश्वमा करिब महिलामा ४९ प्रतिशत र पुरुषमा ४३ प्रतिशतले कुनै न कुनै प्रकारको यौन दुर्बलता रहेको तथ्यांक रहेको छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) आज यहाँ आयोजना गरिएको कार्यक्रममा ‘यौन दुर्बलतासम्बन्धी राष्ट्रिय सर्वेक्षण–२०२४’ नतिजा सार्वजनिक गर्दै ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको पाइएको प्रमुख अनुसन्धानकर्ता डा. खेमबहादुर कार्कीले जानकारी दिए।

नेपालमा पहिलो पटक गरिएको उक्त सर्वेक्षणका प्रमुख अनुसन्धानकर्ता डा. कार्कीका अनुसार यौन दुर्बलता हुने ७२ प्रतिशत पुरुषमध्ये पाँच प्रतिशत वयस्क पुरुषको गम्भीर दुर्बलता र ३२ प्रतिशत पुरुषको सामान्य प्रकारको यौन दुर्बलता छ ।

उनले यौन दुर्बलता भएकामध्ये करिब ८४ प्रतिशत पुरुषहरूले सम्भोगबाट सन्तुष्टि प्राप्त गर्न नसकेको र ९२ प्रतिशत महिला तथा पुरुषमा यौन चाहना नै नहुने बताए।

“यौन दुर्बलता हुने महिलाहरूमा ९४ प्रतिशतमा यौन उत्तेजना नै नहुने हुन्छ भने ८६ प्रतिशतमा योनी सुक्खा हुने समस्या छ । करिब ६६ प्रतिशत महिलाहरूले यौन सम्पर्कको समयमा पीडा महसुस गर्छन्,” अध्ययनको प्रतिवेदनमा भनिएको छ ।

अध्ययनमा यौन दुर्बलता भएका ९० प्रतिशतभन्दा बढी व्यक्तिहरूमा यसको मुख्य कारण मनोवैज्ञानिक जस्तै तनाव, चिन्ता, नैराश्यता र कुनै दर्दनाक घटनाबाट उत्पन्न अवस्था रहेको प्रमुख अनुसन्धानकर्ता डा. कार्कीले जानकारी दिए ।

सर्वेक्षणका अनुसार महिला र पुरुष दुवैमा रहेको यौन दुर्बलताको स्तर सबैभन्दा धेरै मधेश प्रदेश ७३ प्रतिशत र त्यसपछि कर्णाली प्रदेशमा ७१ प्रतिशत छ ।

प्रमुख अनुसन्धानकर्ता डा. कार्कीले मधेश र कर्णाली प्रदेशमा देखिएको यौन दुर्बलताले विकासको दृष्टिकोणले पछाडि परेका ठाउँमा यौन दुर्बलता पनि बढी हुन्छ भन्ने अनुमान गर्न सकिने बताए ।

Lahachhap

यौन रोग विशेषज्ञसमेत रहेका उनले यौन दुर्बलताको प्रमुख कारण मानसिक तनाव, व्यस्त जीवनशैली, श्रीमान् श्रीमती छुट्टिएर बस्नुपर्ने अवस्था, एकापसको द्वन्द्व, पारिवारिक कलह, काम र आरामको असन्तुलन रहेको बताए ।

यस्तै, शारीरिक कारणहरूमा यौन अंगमा हुने सङ्क्रमण, श्रीमान् वा श्रीमतीमा भएको स्वास्थ्य समस्या प्रमुख रहेका छन् ।

यसैगरी, सर्वेक्षणले धेरै मोटोपन भएका व्यक्तिमा मोटोपन नभएको व्यक्तिहरूको दाँजोमा बढी यौन दुर्बलता देखिएको छ ।

यस्तै, यौन दुर्बलता मधुमेह, उच्च रक्तचाप भएका बिरामीमा पनि हुने गरेको उनले बताए । अध्ययनले १८ वा १८ वर्षभन्दा कम उमेरमा विवाह गर्नेहरूमा यौन दुर्बलताको दर ६८ प्रतिशत र २५ वर्ष पूरा भएर विवाह गर्नेहरूको दर ६१ प्रतिशतभन्दा उच्च रहेको देखाएको छ ।

फलफूल र सागसब्जीसहितको स्वास्थ्यकर खाना खानेमा ६५ प्रतिशत, फलफूल र सागसब्जी नखानेमा ६८ प्रतिशत यौन दुर्बलताको रहेको छ ।

प्रमुख अनुसन्धानकर्ता डा. कार्कीका अनुसार व्यक्तिले हरेक दिन कम्तीमा ४०० ग्राम हरियो सागसब्जी तथा फलफूल खाने मानिसमा यौन दुर्बलता दर कम रहेको पाइएको बताए ।

यस्तै, अध्ययन प्रतिवेदनमा सुर्ती सेवन वा मदिराजन्य पदार्थको सेवनले पनि यौन दुर्बलता बढाएको उल्लेख गरिएको छ । लामो समय सुर्ती सेवन गरेर छाडेकामा ८० प्रतिशतमा यौन दुर्बलता देखिएको छ ।

त्यसैगरी, मदिरा सेवन गर्नेहरूमा ६९ प्रतिशत र नगर्नेहरूमा ५९ प्रतिशत यौन दुर्बलता रहेको पाइएको छ । सोलिड नेपालले नेपालका सातवटै प्रदेशका ३४ वटा जिल्लाका तीन हजार ३८२ जना विवाहित महिला र पुरुषमा गत असारदेखि पुस महिनासम्म सर्वेक्षण गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छाले यौन दुर्बलतासम्बन्धी अध्ययन निकै जटिल रहेको भन्दै अध्ययनले नेपालको यौन दुर्बलताको अवस्थाको उजागर गरेको बताए ।

“अध्ययनमा यौन दुर्बलता मुलुककै समस्याका रूपमा देखिएको पाइयो,” उनले भने, “अब आयोगले पनि यौन दुर्बलता घटाउने खालका कार्यक्रमसम्बन्धी नीति बनाउनेछ ।”

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, चिकित्सा अध्ययन संस्थानका डिन डा. मोहनराज शर्माले पहिलो पटक गरिएको यौन दुर्बलतासम्बन्धी अध्ययनबाट नेपालको स्वास्थ्य सेवालाई नै चुनौती थपेको बताए । उनले यौन दुर्बलता घटाउने कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशन डा. विवेककुमार लालले यौन दुर्बलताले प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्यमा पनि असर गर्ने भएकाले देखाउने भन्दै यौन दुर्बलतासम्बन्धी कार्यक्रमलाई आफूहरूले समावेश गर्ने बताए ।

प्रमुख अनुसन्धानकर्ता डा. कार्कीले आमा समूह, उपभोक्ता समूह, स्वास्थ्य समूहको नियमित कार्यक्रममा यौन दुर्बलता रोकथाम र नियन्त्रणसहितको जिम्मेवार स्वस्थ यौन व्यवहारका बारेमा छलफल चलाउन जरुरी रहेको बताए ।

यस्तै, सेवाग्राहीको सहज पहुँच सुनिश्चित हुने गरी अस्पतालहरू र स्वास्थ्य सेवा प्रदायक संस्थामा यौन स्वास्थ्यसम्बन्धी बहु–विशेषज्ञ सेवा क्लिनिक तथा मनोविमर्श केन्द्रको स्थापना गर्नुपर्ने उनले बताए ।

हेर्नुहोस् पुरै अध्ययन प्रतिवेदनः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments