काठमाडौँ/ वैदिक अनुसन्धान गुठी (वाग्) र नेपालबाहिर पुनर्वास भएका सनातनी हिन्दूहरूको संस्था विश्व भुटानी हिन्दू सङ्गठन, अमेरिकाबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौँको गौरीघाटस्थित गुठीको केन्द्रीय कार्यालयमा आज अध्यक्ष डा स्वामी केशवानन्दको समुपस्थितिमा सङ्गठनका अध्यक्ष कमल धिमाल र गुठीका महासचिव सुशील थापाले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
दुवै संस्था वैदिक वाङ्मयलाई प्रविधिमा रूपान्तरण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्न, आगामी पुस्तामा वैदिक वाङ्यमप्रति रुचि जगाउन तथा नेपालबाहिर बसेका नेपाली र सनातन हिन्दूहरूमा वैदिक वाङ्मय अध्ययन, अनुसन्धान र विस्तार गर्न प्रतिबद्ध भएका छन् ।
सम्झौताअनुसार वैदिक सनातन धर्म तथा हिन्दू सांस्कृतिक सम्पदासँग सम्बन्धित पुस्तक, लेख, शोधपत्रलगायत आध्यात्मिक, धार्मिक तथा शैक्षिक सामग्रीको रूपरेखा, सम्पादन, अनुसन्धान र विश्लेषणमा संयुक्त सहकार्य गरिनेछ ।
यसैगरी वैदिक कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी सामग्रीसमेत समावेश गर्दै सांस्कृतिक, धार्मिक तथा शैक्षिक सामग्रीहरूलाई संयुक्त रूपमा उत्पादन, प्रकाशन र प्रचारप्रसार गर्ने उद्देश्य पनि रहेको छ ।
वैदिक ग्रन्थ, दर्शन, भाषा र संस्कृतिको संयुक्त रूपमा अनुसन्धान तथा विश्लेषण गर्ने समझदारीपत्रमा उल्लेख छ । हिन्दू सांस्कृतिक धरोहर, समुदायमा चेतना अभिवृद्धि र सामाजिक कल्याण प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त रूपमा सम्मेलन, कार्यशाला, आध्यात्मिक भेला तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना, प्रचार र सञ्चालनमा दुवै संस्थाबीच सहकार्य गर्ने समझदारी भएको छ । समझदारीमा संस्कृत र नेपाली भाषाको संरक्षण र प्रवर्द्धनमा युवाहरूलाई लक्षित गरी कार्यक्रम गरिने उल्लेख छ ।
कार्यक्रममा वाग्का अध्यक्ष डा स्वामी केशवानन्दले नेपालीहरू जहाँ बसे पनि उसको रगत र मूलवंश नेपालमा रहने बताउनुभयो । उहाँले विदेशमा बसेका भुटानी नेपाली भाषीको धर्म, संस्कृति, परम्परा र वैदिक चेतनासँगको लगाव उच्चस्तरको रहेको बताउनुभयो ।
“हामीले नेपालमा गर्दै गरेका कामहरू सनातन संस्कृतिको उत्थान हुनुपर्छ, वैदिक वाङ्मयको अभ्युदय हुनुपर्छ र विश्वमा फेरि वैदिक ध्वजा फैलाउनुपर्छ भन्ने हाम्रो विचार छ । तेस्रो देश पुनर्वास भएका भुटानी नेपालीको जरामा यही देखिन्छ । त्यसैले उहाँहरूसँग हामीले सहकार्य गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।
सङ्गठनका कार्यलाई नेपालबाट कसरी सहयोग गर्ने र वाग्ले यहाँ गरिरहेका कामलाई अमेरिकाबाट कसरी अगाडि बढाउन सकिन्छ भनेर दुई पक्षबीच कुरा मिलेको हुनाले समझदारी भएको उहाँको भनाइ छ । नेपालबाहिर बसेका नयाँ पुस्तालाई कसरी वैदिक दर्शनका ज्ञानका स्रोतहरू हस्तान्तरण गर्न सकिन्छ भन्नेमा प्रवासी भुटानीहरूको चिन्ता रहेको उहाँले बताउनुभयो ।
डा स्वामीले भन्नुभयो, “मन र विचारको सम्झौता सबैभन्दा माथि हुन्छ । त्यसमा रगत जोडिएको समझदारी धेरै माथि हुन्छ । हामीलाई वैदिक वाङ्मयले जोडिसकेको छ ।” उहाँले समझदारी वैदिक वाङ्मयको हितमा रहेको र विश्वभरि छरिएर रहेका अर्बौँ हिन्दूहरूका लागि सहकार्य गरिने बताउनुभयो । “हाम्रा ज्ञान, चेतना र आर्ष परम्परा, हिमवत् खण्डबाट उत्पन्न भएका ज्ञानका धारालाई विश्वभर प्रचार गर्न समझदारी भएको हो”, उहाँले भन्नुभयो ।
विश्व भुटानी हिन्दू सङ्गठनका अध्यक्ष धिमालले वैदिक सनातन धर्मको सेवा, संरक्षण र विकासमा अनवरत अघि बढ्न यस्तो समझदारी कोसेढुङ्गा हुने बताउनुभयो ।
“हामी भाषा, धर्म, संस्कार र संस्कृतिमा आबद्ध रही पूर्वीय दर्शन र वाङ्मयलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ भनेर सक्रिय छौँ । नेपालका विद्वान् र बुद्धिजीवीहरू, विभिन्न सङ्घसंस्थासँग काम गर्दै आएको इतिहास छ”, उहाँले भन्नुभयो । संस्कार शिक्षा र पाठ्यपुस्तक नेपालबाट लैजानुपर्ने अवस्था छ । ओहायोमा धाम निर्माणका लागि काष्ठकलादेखि मूर्तिकलासम्मका नमूना नेपालबाट लैजानुपर्ने भएकाले यसमा सहजता प्रदान गर्न पनि सम्झौता महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
सङ्गठनले नेपालबाट गर्ने सबै काम वाग्मार्फत गर्ने उहाँले बताउनुभयो । धिमालले भन्नुभयो, “वैदिक सनातन धर्मको संरक्षण, संवर्द्धन र विकासका लागि अमेरिकामा रहेका विश्व भुटानी हिन्दू सङ्गठन मातहत रहेका विभिन्न कार्यक्रम र नेपालमार्फत गरिने कार्यक्रम सङ्गठनमार्फत हुनेछ ।”
वाग्का सचिव सुशील थापाले सङ्गठनसँग समझदारी गर्दा अत्यन्त खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले वैदिक सनातनी संस्कारका लागि विभिन्न काम गर्दै आएका छौँ । हामी ध्येयलाई आफ्नो शक्ति लगाएर सफल बनाउन लागिपरेका छौँ ।
यसमा भुटानी सङ्गठनले देखाएको सदासयता राम्रो छ ।” वैदिक अनुसन्धान गुठी (वाग्) वैदिक विज्ञान, गुरुकुल शिक्षा, सर्वोच्च ज्ञान र वैदिक कृत्रिम बुद्धिमत्ताको प्रवर्द्धनमा समर्पित संस्था हो । जसको उद्देश्य प्राचीन वैदिक ज्ञानलाई आधुनिक प्रविधिसँग एकीकृत गर्नु रहेको छ ।
विश्व भुटानी हिन्दू सङ्गठन सन् २०१३ मा स्थापना भएको र सन् २०१७ मा अमेरिकाको ओहायो राज्यमा औपचारिक रूपमा दर्ता भएको ५०१ (सी) (३) प्रकारको गैरनाफामुखी संस्था हो । सङ्गठनले वैदिक सनातन धर्मको संरक्षण र प्रवर्द्धन गर्दै आएको छ ।
यसैगरी सङ्गठनले अमेरिकास्थित नेपाली÷भुटानी हिन्दू प्रवासी समुदायको बौद्धिक, आध्यात्मिक, भाषिक तथा सांस्कृतिक गतिविधि प्रवर्द्धनमा सहयोग गर्दै आएको जनाइएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित