यस पटकको मनसुन सकिने समय नजिकिँदै थियो । यद्यपि जल तथा मौसम विज्ञान विभागले असोजको दोस्रो साता तीन दिनसम्म भारी वर्षा हुने प्रक्षेपणसहित ५६ वटा जिल्लामा वर्षा ‘रेड अलर्ट’ जारी गरेको थियो । प्रत्येक वर्ष मनसुनको समयमा बाढी र पहिरोको जोखिम उच्च नै हुन्छ । काभ्रेमा भारी वर्षा नभएको लामै समय बितेको थियो । विगतलाई आधार मानेर भारी वर्षा नै भइहाल्ला भन्ने कमै मात्रले आँकलन गरेका थिए ।
नभन्दै असोज १० गते सुरु भएको मनसुनी झरीले भोलिपल्ट सम्ममा जिल्लाका धेरै भुभागमा जनधनको क्षति गरिसकेको थियो । झरी पर्ने क्रम अपराह्नसम्म जारी रहँदा जिल्लाका प्रमुख नदीले खतराको तह पार गरिसकेका थिए । अरु बेलामा कमिला हिँडने खोलाखोल्सीहरुले रौद्र रुप धारण गरिसकेका थिए । वनपाखा र बारीका कान्लाहरु रुखैसहित खोलामा मिसिन पुगे । अनि नदीको बितण्डा मच्चिन थाल्यो । जताततैबाट बाढीपहिरोले जनधनको क्षति पुर्याएको खबर फैलन थाल्यो ।
एकातिर समग्र गृह प्रशासनको जिम्मेवारी लिएका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष बिरामी भएर उपचाररत अवस्थामा रहेका, अर्कातिर नेपाल प्रहरीको काभ्रे जिल्लाका सिनियर अफिसरहरु सरुवा भएर सट्टामा नयाँ हाजिर नभएको अवस्था थियो । ‘विपद साइत अनुसार आउँदैन’ भनेझैं उपलब्ध श्रोत–साधन र जनशक्तिसहित नेपाली सेना, कालीजङ्ग गणका प्रमुख सेनानी प्रकाशबहादुर सिंह विपद प्रतिकार्य योजनामा समेटिएको खोज तथा उद्धार विषयगत क्षेत्र (क्लष्टर) को संयोजनकारी भूमिका उत्रिए ।
सेनाले नेपालमा विशेषतः मनसुनजन्य प्रकोपहरूबाट बढी जनधनको क्षति हुने विगतका अनुभवबाट पाठ सिक्दै हरेक वर्ष मनसुनपूर्व नै पूर्वतयारीसमेत गर्दै आएको छ । सेनाले फौजको तैनाथी, बर्खायाममा हुने विपद्का घटनाबाट प्रभावितको खोज, उद्धार तथा सहयोग कार्यका लागि हरेक जिल्लामा तैनाथ गण र अनाश्रित फौज विपद् उद्धार सामग्रीसहित तयारी अवस्थामा राख्दै आएको छ । उता, यसै वर्ष मनसुनपूर्व सशस्त्र प्रहरीले पनि सुरक्षण मुद्रण केन्द्र (आइटी पार्क) धनेश्वरमा मनसुनजन्य विपद उद्धार अस्थायी वेश* समेत स्थापना गरेर मनुसन शुरु हुनुभन्दा अगाडिदेखि नै कृत्रिम घटना अभ्यास सञ्चालन गरेर मनसुनका लागि पूर्वतयारी कार्य गरिरहेको छ ।
नेपाली सेनाले भुकम्प तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद्, आगलागी, विमान दुर्घटना तथा हवाई उद्धारजस्ता घटनामा पनि आफुलाई अग्रपंक्तिमा उभ्याउँदै आएको छ । यस पटक काभ्रेमा बाढीपहिरोले व्यापक जनधनको क्षति भयो । खोज तथा उद्धारका लागि सीमित जनशक्ति, पर्याप्त उपकरणहरु नभएको अवस्था, भएभरका नदी नाला उर्लिएर जताततै बाढीपहिराले जनधनको क्षति गराइरहेको, दुई ठुला राजमार्ग तथा सहायक सडकहरु सबै अवरुद्ध भएको अवस्था, सञ्चार सम्पर्क विच्छेद र बिजुली नभएको अवस्थालगायत भौगोलिक कठिनाई । यो क्लष्टरलाई यी र यीजस्ता अनेकौं कठिनाईहरुको सामना गर्दै खोज तथा उद्धारमा जुट्नु पर्ने तत्कालको अवस्था थियो ।
नेपाली सेनालाई साथ दिएर खोज तथा उद्धारमा जिल्ला प्रहरी कार्यालयकी प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण हेडक्वार्टर पाँचखालका सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रसाइँ र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप–अनुसन्धान निर्देशक शेरजङ्गबहादुर चन्द डटिरहे । यी सबै निकायको गृह मन्त्रालयसँग समन्वय गर्नेमा सहायक प्रजिअ सुवास पौडेल थिए । २०८१ असोजको बाढीपहिरोबाट काभ्रेमा प्रभावितहरुको खोजी तथा उद्धारमा संलग्न यीनै व्यक्तिहरु प्रमुख भूमिकामा रहे । जिल्लाका गृह प्रशासन र सबै सुरक्षा निकायका प्रमुखहरुको नेतृत्वदायी भूमिकाको जति नै प्रसंसा गरे पनि कम हुन्छ ।
धुलिखेल अस्पतालमा रहेको हेलिप्याडबाट नेपाली सेनाको हेलिकप्टरहरु खाद्यान्नलगायतका राहत सामग्री लिएर जाने र बाढीपहिरोमा घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल ल्याउने काममा प्रत्यक्ष रेखदेखमा प्रमुख सेनानी सिंहको प्रभावकारी समन्वय देखियो । बिपी राजमार्गमा अलपत्र परेका जेष्ठ नागरिक, महिला, बालबालिका तथा बिरामीहरुलाई हेलि उद्धारमार्फत त्यहीँ ल्याउने र सवारी साधनमा गन्तव्यतिर पठाउने काम भइरहे । उद्धारसँगै क्षतिग्रस्त र पहिरोले पुरिएको सडकहरु पनि स्थानीय सहयोगमा सुचारुजस्ता कार्यहरुको संयोजनमा राम्रो खटाइ देखिन्थ्यो ।
निमित्त प्रजिअ सुभाष पौडेल गृह मन्त्रालयमा समन्वय गर्ने, प्रमुख सेनानी सिंह हेलिकप्टरको व्यवस्थापन गर्ने, प्रहरी उपरीक्षक खड्का स्थानीय प्रहरीलाई हेलिकप्टरसम्म बिरामी ल्याउन एवं राहत सामग्री बुझ्नमा सहयोग गर्न लगाउने र उप–अनुसन्धान निर्देशक चन्द सूचना संकलन गरी क्लष्टरलाई सहयोग गर्ने कार्यमा तल्लीन रहे । उता, सशस्त्र प्रहरी उपरीक्षक प्रसाइँ मंगलटारमै रहेर खोज उद्धारका कार्यहरु गर्नमा व्यस्त रहे भने जिल्ला ट्राफिकका प्रहरी निरीक्षक विकासकुमार तामाङ अवरुद्ध सडक खुलाउन र सवारी साधनको व्यवस्थापनमा पहल गर्दै रहेका भेटिए । यस पटक खोज तथा उद्धारमा खुबै मिलेको टीम देखिन्थ्यो ।
उता, निजी खर्चमा हेलिकप्टर लिएर जना चाहनेहरुका लागि केयुको मैदानमा हेलिप्याड तोकिएको थियो । उद्धारको पहिलो दिन हेलिकप्टरको प्रयोगलाई लिएर टीकाटिप्पणीहरु पनि भए । प्रमुख सेनानी सिंहले यसलाई अल्लि खल्लो मानेका छन्, ‘हेलि पाइलटहरुलाई उद्धारका लागि ल्याण्ड गर्नु पर्ने ठाउँ यकीन नहुने भएकाले स्थानीय जनप्रतिनिधिहरु साथमै जाँदा सहज हुने भनेर पहिलो दिन पठाएका हौं । पछिल्ला दिनमा स्थानीय प्रहरीले पठाएको ‘लङ्ग–ल्याट’ को आधारमा रेस्क्यू हेलि पठाउन थाल्यौं । यसैका आधारमा पाइलटलाई ल्याण्ड गर्न सहज हुन थाल्यो । सडक सम्पर्क पुरै विच्छेद भएको रोशी र खानीखोला गाउँपालिकामा एमआइ–१७ हेलिकप्टरबाट राहत खाद्यान्न पठायौं । पछिल्लो पटक बेथानचोक–६ मा पनि यसैबाट खाद्यान्न र राहत पठाएका छौं । आवश्यकता हेरी सानो हेलिकप्टरबाट उद्धार गरेका छौं,’ उनले थपे ।
बाढीपहिरो पछिको १० दिन खोज, उद्धार र राहत सामग्री पठाउनमा व्यस्त रहेका खोज तथा उद्धार क्लष्टरका प्रमुखहरुलाई बिपी राजमार्गमा अलपत्र परेका सानाठुला गरी ६ सय ८३ वटा सवारी साधनहरुलाई सम्बन्धित ठाउँमा पठाउनु रहेको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीको काम गराईलाई त्यहाँ पुगेका जनप्रतनिधिहरु र अलपत्र यात्रुहरुले तारिफ गरेका छन् । यस्तै, रोकिएका सवारीसाधनका १ हजारभन्दा बढी चालक र सहचालकहरुलाई सडकमै व्यवस्थापन गर्नु चुनौती थियो । फूलपातीको अबेर रातीसम्म सुरक्षाकर्मी र सडकका कर्मचारीहरु बिपी राजमार्गलाई अस्थायी रुपमा सञ्चालन गर्नका लागि रोशी खोलामै हेलिएका छन् ।
नेपाल प्रहरीले समुदायसँग नजिकको सम्बन्ध राखेर आपतकालीन अवस्थाहरूमा सहयोग र समन्वय गर्दै आएको छ । यस पटकको बाढीपहिरो प्रभावितहरुको खोजी र उद्धारमा नेपाली सेना र सशस्त्रसँग मिलेर उल्लेख्य काम गरेका अनेकौं दृष्टान्तहरु रहेका छन् । मृतकहरुको लास सद्गतका लागि आवश्यक कागजपत्रहरु बनाउनेदेखि मृतक परिवारलाई सरकारले दिएको नगद राहत रकम बुझाउने काममा समेत प्रहरीको उल्लेख्य सक्रियता रह्यो । मृतक परिवारलाई प्रति मृतक २ लाख र थप मृतकको १ लाखका दरले जिल्ला प्रशासनबाट नगदैसहित खटिएका टोलीलाई घरघरमै लगेर रकम बुझाउनमा प्रहरीले उल्लेख्य सहयोग गरेको पाइयो ।
जिल्लामा र प्रहरी चौकीहरुमा भएका सीमित जनशक्तिले यस पटकको खोज तथा उद्धारमा उल्लेख्य काम गर्न सकिएकोमा जिल्ला प्रहरी प्रमुख खड्का दङ्ग छिन् । उनी भन्छिन्, ‘मैले त मेरा युनिटका सहकर्मीहरुलाई हौस्याएकीमात्रै हुँ । उनीहरुले फिल्डमा धेरै राम्रो काम गरेका छन् । खोज उद्धारको काम सकिएपछि सडक सम्पर्क भएका सबै प्रहरी युनिटहरुमा पुगेर त्यहाँका सबै प्रहरी सहकर्मीहरुसँग कुरा गरेकी छु । उनीहरुको मनोबल बढाएकी छु । यो विपद्मा जिल्ला प्रहरीमातहतका सबै प्रहरी युनिटका इन्चार्जको कमाण्डमा राम्रोसँग काम भएको छ’, खड्काले थपिन् ।
बाढीपहिरो सुरु भएलगत्तै बिपी राजमार्गको मंगलटारक्षेत्रमै उद्धारमा संलग्न सशस्त्र प्रहरी उपरीक्षक प्रसाइँ आठौं दिनमा जिल्ला विपद् व्यवस्थापन समितिले डाकेको बैठकमा आउन सके । उताको दर्दनाक अवस्था वर्णनमा उनी भन्छन्, ‘एक्कासी निम्तिएको विपदमा फसेकाहरुको उद्धारमा यत्ति धेरै सकस भयो कि भनि साध्य छैन । ढुंगाको सिरानी राखेर कर्तव्य पुरा गरेका छौं । पानीसमेत खान नपाउने अवस्थामा स्थानीयहरुसँग हारगुहार गरेर अलपत्र यात्रुहरुलाई खुवायौं । अलपत्र यात्रुहरुलाई हाम्रा सहकर्मीहरुले बोकेर, तारेर र डोर्याएर उद्धार गर्यौं ।’
यस अवधिमा नेपाल प्रहरी अस्पतालले पनौती र बेथानचोकमा स्वास्थ्य शिविर सञ्चालन गरेर प्रभावितहरुलाई मह्लमपट्टी लगाएको मात्रै नभई मनोपरामर्शसमेत प्रदान गरेको छ । नेपाली सेनाले प्रवद्र्धन गरेको राष्ट्रिय सेवा दल(एनसिसी) मा आवद्ध विद्यार्थीहरुले एनसिसी अल्मुनाई एसोसियसनमार्फत प्रभावित क्षेत्रमा सेनासँगै मिलेर खोज र उद्धारमा निक्कै सक्रियता देखाएका थिए ।
बाढीपहिरोको १० दिनसम्म निरन्तर रुपमा खोज, उद्धार र राहतमा लागेका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानले अब दशैंलगत्तै बाढीपहिरोबाट बिस्थापितहरुका लागि सरकारले ल्याउने योजना कार्यान्वयनका लागि खटिने योजना बनाइरहेका छन् ।
सरकारको नीति निर्देशन अनुसार चल्नु पर्ने कर्तव्य रहेका यी सुरक्षा निकायहरुको काम कारवाहीको सन्दर्भमा टीकाटिप्पणी र आलोचना हुने गरेको भए पनि बाढीपहिरोको विपद्को यस विषम परिस्थितिमा यी निकायले पुर्याएको कामलाई लिएर जताततै प्रसंसा हुन थालेको छ, किनकी हरेक विपत्तिमा सारथी बन्दै आएका सेना र प्रहरी नै हुन् ।
–बद्रीराज तिमल्सिना
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित