काठमाडौँ/ गुठी संस्थानमा स्वीकृत जनशक्तिको आधाभन्दा कम कर्मचारी कार्यरत हुँदा सेवा प्रवाहमा समस्या हुन थालेको छ । संस्थानमा एक सय ९६ जनाको दरबन्दी स्वीकृत भएकामा हाल ९४ जना मात्र कार्यरत हुँदा सेवा प्रवाहमा समस्या भएको हो ।
हाल करार सेवामा समेत गरी ९४ जना कार्यरत कर्मचारी रहेका संस्थानका सूचना अधिकारी जनक पोखरेलले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये ५४ स्थायी र ४० जना सेवा करारमा छन् ।
प्रधान कार्यालयसहित ११ वटा कार्यालय रहेको संस्थानमा जनशक्ति कम भएकाले धर्म, संस्कृति क्षेत्रको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनमा संस्थानले गर्ने काम प्रभावित हुने गरेका छ ।
संस्थानमा विसं २०७२ पछि पदपूर्ति हुन नसक्दा कर्मचारी अभाव देखिएको सूचना अधिकारी पोखरेलले बताउनुभयो । उहाँका अनुसार पदपूर्ति गर्नेगरी विसं २०७५ मा जारी भएको विनियम सर्वोच्च अदालतको आदेशमा खारेज भएपछि कर्मचारी पदपूर्ति हुन नसकेको हो ।
पछिल्लोपटक गत फागुन १९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संस्थानको विनियमावली स्वीकृत गर्नुभएको छ ।
संस्थानले ‘ओएनएम सर्वे’ गरी विनियमावली स्वीकृतिका लागि मन्त्रालयमा पठाएको प्रशासक शैलेशराज कुँवरले जानकारी दिनुभयो । मन्त्रालयबाट स्वीकृत भएर आउने वित्तिकै पदपूर्ति प्रक्रिया सुरु गरिने उहाँले बताउनुभयो । यसपटक दुई सहसचिव, १५ उपसचिव र १० जना शाखा अधिकृत खुलाउने तयारी भइरहेको संस्थानले जनाएको छ ।
यसैबीच, गत वैशाख २० गते बसेको संस्थान सञ्चालक समितिको बैठकले सङ्घीय संरचनाअनुसार कोशी र लुम्बिनी प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित