काठमाडौँ/सशस्त्र प्रहरी बलले विपद् प्रतिकार्यका लागि तयारी गरिरहेको छ । मातहतका निकायलाई विपद् प्रतिकार्यको तयारीमा रहन निर्देशन दिएको छ ।
मनजसुनजन्य विपद्मा क्षति न्यूनिकरणका लागि सकेसम्म घटनास्थलमा छिटोभन्दा छिटो पुगी उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सबै युनिटमा परिपत्र गरेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले मातहत युनिटका कमाण्डरलाई मनसुनजन्य विपद् प्रतिकार्य योजनाको तयारीमा रहन निर्देशन दिनुभएको छ ।
प्रवक्ता धौवजीले भन्नुभयो, “सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट अघिल्ला वर्षमा भएका विपद्का घटनालाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने मनसुनजन्य विपद् न्यूनिकरण तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालका सबै युनिटमा विपद् व्यवस्थापनका सामान तयारी राख्नुका साथै विपद्सम्बन्धी अनुशिक्षण तथा अभ्यास सञ्चालन गर्न निर्देशन भएको छ ।”
उहाँले टोलटोलमा विपद् सूचक राखी समुदाय लक्षित विपद्सम्बन्धी स्वयंसेवक तालिमसमेत सञ्चालन गर्न पनि निर्देशन भएको बताउनुभयो । अहिले नेपालमा प्रि–मनसुन चलिरहेको र यो समयमा ठाउँठाउँमा विपद्का घटना भइरहेका छन् ।
हिउँदमा राम्ररी वर्षा नभएकाले मनसुनका समयमा यसपालि बढी वर्षा हुने अनुमान गरिएको छ । यद्यपि विपद् प्राधिकरणले भने मनसुनको आँकलन हुन बाँकी रहेको जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित