काठमाडौँ/ सांसदहरुले सांसद विकास कोषका नाममा सांसदलाई बजेट बाँडेर बदनाम नगराउन सांसदले अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रकुमार केसीले सांसद विकास कोषका नाममा सांसदलाई बदनाम नगर्न माग गर्नुभएको हो ।
सांसद कोषका नाममा रु ३४ अर्ब छुट्याउने तयारी भनी आएको समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले सांसदलाई उहाँहरुका क्षेत्रका योजना पहिचानमा सहभागी गराउन आग्रह गर्नुभयो ।
चालु आवमा रु १४ खर्बको राजस्वको अनुमान गरिएकामा हालसम्म अहिलेसम्म साढे नौ खर्ब पनि नउठेकाले पपुलिष्ट बजेट नल्याउन पनि उहाँले सुझाव दिनुभयो । बजेट निर्माणमा कर्मचारीको हालीमुहाली छ भन्ने चर्चा अहिले आएकाले यस्तो हुने वातावरण नबनाउन पनि उहाँले माग गर्नुभयो ।
सांसद सूर्यप्रसाद ढकालले नेपाली युवालाई विदेश नपठाई स्वदेशमै उत्पादनमा लगाउनेगरी बजेटको व्यवस्था गराउनुपर्ने माग गर्नुभयो । कृषिप्रधान देश नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनेगरी बजेट आउनुपर्ने माग पनि उहाँको थियो ।
सांसद रामकृष्ण यादवले नागरिकको अपेक्षाअनुसार सरकारको गति अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संसद् र सांसदको क्षमता एवं मूल्यमान्यता बढाउनुपर्ने भन्नुहुँदै उहाँले कृषि क्षेत्रमा बिचौलियालाई निरुत्साहित गर्नेगरी बजेट ल्याउन माग गर्नुभयो ।
वैकल्पिक राजमार्गका लागि बजेट व्यवस्था गरी शीर्षक नकाट्न सांसद यादवले अनुरोध गर्नुभयो । पूर्वाधार निर्माणका काम रातको समयमा गरी छिटो सक्नेगरी व्यवस्था गरिनुपर्ने पनि उहाँको भनाइ थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित