भारतीय अभिनेत्री नोरा फतेही नेपालमा

म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो, अभिनेत्री फतेहीले भन्नुभयो

काठमाडौँ। भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाल र नेपालीबाट आफूले माया पाइरहेको बताउनुभएको छ । आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताउनुभयो ।

“म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो”, अभिनेत्री फतेहीले भन्नुभयो । उहाँले नेपालको आतिथ्य र सहयोगी भावना प्रशंसनीय रहेको बताउनुभयो । उहाँ संयुक्त अरब इमिरेट्सबाट आज फ्लाई दुबईबाट नेपाल आउनुभएको हो ।

उहाँको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य शुक्रबार नै नेपाल आइसकेका छन् । उहाँले आज साँझ तारागाउँस्थित ह्यात चौरमा ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक कार्यक्रम प्रस्तुति दिनुहुनेछ ।

शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेहीलाई नेपाल ल्याइएको वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका मनिष कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि सम्मानित रूपमा स्टेजमा आफूलाई प्रमाणित गर्नुहुनेछ ।”

आयोजक कार्कीका अनुसार अभिनेत्री फतेही आइतबार बिहान भारत फर्किनुहुने छ । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको छ । अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।

उक्त कार्यक्रममा नेपाली कलाकारहरूमा गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामालगायतले प्रस्तुति दिनुहुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments