धुलिखेल/ दुई हजार ५६९औँ बुद्धजयन्तीको अवसरमा आज काभ्रेपलाञ्चोकको पनौतीदेखि नमोबुद्ध स्तूपासम्मको शान्ति पदयात्रा गरिएको छ ।
‘काभ्रेपलाञ्चोकका लागि केही गरौँ’ भन्ने नाराका काभ्रे सेवा समाजको आयोजनामा भएको शान्ति पदयात्राको पूर्वराष्ट्रपति डा रामवरण यादवले पनौतीस्थित राजकुमार महासत्त्वको पूर्व जन्मघर रहेको पनौतीमा उद्घाटन गर्नुभएको हो ।
सो क्रममा डा यादवले बुद्धजयन्तीका अवसरमा पवित्र दिनमा आयोजना गरेको शान्ति पदयात्राले पवित्र कार्यको सुरूआत भएको बताउनुभयो ।
शाक्यमुनि गौतम बुद्धले कपिलवस्तुमा जन्मेर विश्वमा शान्तिको सन्देश फैलाएको बताउँदै उहाँले त्योभन्दा अगाडि पवित्रस्थल पनौतीमा अर्को अवतारका रूपमा जन्मेका कारण पनि यस ठाउँको छुट्टै महत्त्व रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा उहाँले सारा संसारमा राम्रो सभ्यताको विकास र सहअस्तित्व कायम रहँदै शान्तिसँग बस्न पाउने अवस्थाको सिर्जना होस् भन्ने कामना गर्नुभयो ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले पनौती नगर बुद्धभूमिका रूपमा पहिचान बनाउँदै अगाडि बढिरहेको र अझ यसको विकास र पहिचान स्थापित गर्नका लागि विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि पहल भइरहेको बताउनुभयो ।
पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरूषोत्तम कर्माचार्यले गौतम बुद्धको पूर्वजन्मभूमि भएको पनौतीको यात्रा गर्दा यात्रा सफल र शुभ हुने भएको बताउँदै यसले पनौतीको प्रचारमा पनि थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विश्वमा शान्ति छाओस् र पनौती सबैसामु परिचित होस् भन्ने उद्देश्यले काभ्रे सेवा समाजले आयोजना गरेको कार्यक्रममा पनौती पर्यटन विकास केन्द्रको पनि साथ रहेको बताउनुभयो ।
स्थानीय सरकार, विभिन्न सङ्घसंस्था र स्थानीय बासिन्दाहरूको सहभागितामा पनौतीको पुरानो बजार पनौती डबलीदेखि नमोबुद्ध स्तूपासम्म आयोजना गरेको सो पदयात्रामा सयौँको सङ्ख्यामा सहभागिता रहेको थियो ।-रासस
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित