भरतपुर पुलचोक–गोन्द्राङ ६ लेन सडकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने-‘देश विकासमा मतभेद नराखौँ ‘

चितवन/प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गर्नुभएको छ । भरतपुर पुलचोक–गोन्द्राङ–६ लेन सडकको आज यहाँ उद्घाटन गर्दै उहाँले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने यहाँको सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताउनुभयो । सरकारको आफ्नै लगानीमा यो सडक बनाइएको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले विकासमा राजनीति गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले चुनाव लाग्या पनि छैन र अहिले चुनाव प्रचार गर्नु पर्या पनि छैन । त्यतापट्टी गइहाल्नुपर्ने आवश्यकता पनि छैन”, उहाँले थप्नुभयो, “म आग्रह गर्न चाहान्छु सबैलाई सधेँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ ।”

विचारमा विविधता हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले देशको विकास गर्ने कुरामा मतभेद नराख्न आग्रह गर्नुभयो ।
“देशको विकास गर्नैुपर्छ । हामी सबै मिलेर विकास गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “डेमेक्रेसीलाई बलियो पार्ने, विकास गर्ने र सुशासनलाई बलियो बनाउने कुरामा एकजुट भएर अघि बढ्न फेरि पनि आग्रह गर्छु ।” देश विकासका लागि स्थिरता चाहिने भन्दै उहाँले दुई ठूला दल मिलेर सुशासन र विकासमा लागेको बताउनुभयो ।

Lahachhap
गोन्द्राङ–पुल्चोक ६ लेनको सडक उद्घाटन चितवन, ५ वैशाखः पूर्व–पश्चिम राजमार्गको गोन्द्राङ–पुल्चोक ६ लेनको सडकखण्डको उद्घाटन गर्नुुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

देश अनेक उतारचढावबाट चल्दै आए पनि २०४७ सालपछि भौतिक पूर्वाधारका क्षेत्रमा फड्को मारेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विकासले गति लिएको छैन भन्ने कुरा होइन । विकासमा काफी प्रगति भएको छ, थप प्रगति गर्न आवश्यक छ ।” भौतिक निर्माणका क्रममा एकैपटक सबै काम गर्नुपर्नेमा जोड दिँदै उहाँले बनाउने र भत्काउने काम गर्न नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै ऐतिहासिक महत्व बोकेको जिल्ला भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “राम जन्मेदेखिको लामो इतिहास छ । यो वास्तवमा एउटा सभ्यताको सुरुआत भएको भूभाग हो ।”

नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको यो सडक निर्माणका लागि २०७७ साल असोज २६ गते इण्डो सगुन जेभीसँग सम्झौता गरिएको थियो ।

सडकको सोही वर्ष माघ १७ गते तत्कालीन प्रधानमन्त्री ओलीले नै शिलान्यास गर्नुभएको थियो । सडक रु एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इ कृष्ण आचार्यले जानकारी दिनुभयो ।

छ दशमलव ०८ किलोमिटर सडक ५० मिटर चौडा रहेको छ भने सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्टलाइट जडान र बिजुली भूमिगत गरिएको छ ।

चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पुँगी खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा जानेगरी ड्रेन तयार गरिएको आचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments