जनप्रतिनिधिले जनतालाई साथमा लिएर विकास निर्माणको काम गरौँ
काभ्रेपलान्चोक। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सार्वभौम संविधानसभाले बनाएको संविधानको खिलापमा गएर केही पनि प्राप्त नहुने भन्दै सबैले संविधानको परिधिभित्र बस्नुपर्ने बताउनुभएको छ ।
काभ्रेको नमोबुद्द नगरपालिका वडा नं १ मा स्वास्थ्य चौकी भवन उद्घाटन, बालमैत्री वडा घोषणा र वडाको प्रशासकीय भवन उद्घाटन गर्दै उहाँले जे गर्नुपर्ने हो संविधानको परिधिभित्रै रहेर गर्नुपर्नेमा जोड दिनुभयो ।
`जे गर्नुपर्ने हो संविधानभित्रै बसेरनै आफ्नो कामहरू गर्न सक्नुपर्छ । कसैलाई चित्त बुझेन भन्दैमा संविधानसभाबाट जनप्रतिनिधिले जारी गरेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको खिलापमा गएर केही हुँदैन´, उहाँले भन्नुभयो,´ संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । चित्त नबुझेको कुरा छन् भने विधि र प्रक्रियाअनुसार राख्न सकिन्छ । संविधान संशोधन गर्न सकिन्छ ।´
०१७ सालमा गुमेको अधिकार ३० वर्ष लामो संघर्षबाट फिर्ता भएको चर्चा गर्दै उहाँले अहिले प्राप्त अधिकार उसै प्राप्त नभएको बताउनुभयो ।
अधिनायकवादी व्यवस्थामा नागरिक अधिकार कुण्ठित मात्र नभई विकासको काम समेत हुन नसक्ने विगतको अनुभव सुनाउँदै गणतन्त्रपछि नागरिक अधिकार सुरक्षित भएको र विकासले गति लिएको दाबी गर्नुभयो । अघिल्लो पुस्ताले कष्टकर जीवन विताउनुपरेको अवस्था विर्सन नहुने भन्दै विकासको काम क्रमिक रूपमा हुने बताउनुभयो । ०४६ को परिवर्तनपछि विकासका धेरै काम भएको उहाँको भनाइ छ ।
त्यस्तै उपप्रधानमन्त्री सिंहले शहरहरू बनाउँदा नागरिकलाई सुविधा दिनुपर्नेमा जोड दिनुभयो। संघियतामा गएपछि देशभर स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा उल्लेख्य काम भएको भन्दै अब नागरिकलाई प्रभावकारी सेवामा ध्यान दिनुपर्ने बताउनुभयो ।
`शहरहरू बनाउँदा प्रकृति मात्रै सुन्दर भएर हुँदैन । मानिसहरूलाई सुविधा पनि आवश्यक पर्छ । अस्पताल र प्रशासनिक भवन आज उद्घाटन भएको छ । भोलिदेखि नै वडावासीलाई सुविधा हुनेगरि असपताल र प्रशासनिक भवनबाट काम हुनेछ भन्ने मलाई विश्वास छ,´ उहाँल भन्नुभयो।
उपप्रधानमन्त्री सिंहले नमोबुद्द नगरपालिकाको ११ वटै वडामा आधुनिक स्वास्थ्यभवनबाट सुविधा दिइरहेको थाहा पाउँदा खुशी लागेको भन्दै उहाँले नागरिकलाई निरोगी बनाउन र समयमै उपचारका लागि देशका हरेक वडाबाट यस्तै स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
उपप्रधानमन्त्री सिंहले प्राकृतिक रूपमा सुन्दर र पर्यटकीय हिसावले महत्वपुर्ण नमोबुद्द नगरपालिकाको विकासमा शहरी विकास मन्त्रालयबाट हुने काममा आफूले पहल गर्ने प्रतिवद्दता पनि जनाउनुभयो ।
कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नं १ का सांसद सुर्यमान दोङ, पूर्वमन्त्री समेत रहेका प्रदेश सभा सदस्यद्वय कञ्चनचन्द्रबादे श्रेष्ठ, तीर्थ लामा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, नगर प्रमुख कुनसाङ लामा, उप प्रमुख रत्न लामा, शहरी बिकास मन्त्रालयका सह- सचिव नवराज प्याकुरेल, वडाअध्यक्ष प्रेमबहादुर तामाङ लगायतले नगरको पूर्वाधार विकासको लागि संघीय सरकारको साथ र सहयोगको अपेक्षा गर्नु भएको थियो।
वातावरण अधिकृत सन्तोष काफ्लेले सञ्चालन गरेको कार्यक्रममा नेपाल सरकारका सहसचिवद्वय पदम मैनाली र नवराज प्याकुरेललाई नमोबुद्ध नगरपालिकाको समग्र विकासमा योगदान गरेवापत सम्मान गरिएको थियो ।
यस्तै इन्जिनियर उज्ज्वल अर्याल, रामप्रसाद दाहाल, भवन निर्माणको ठेकेदार कम्पनी, बालमैत्री वडा घोषणाका लागि सहयोग गर्ने संघसंस्था र विद्यालय लगायतलाई सम्मान गरिएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित