काठमाडौं विश्वविद्यालयमा तीन दशक बिताइसकेको म, सेवानिवृत्त हुने संघारमा पुगेको व्यक्ति, भावीपुस्तालाई मैले अवलम्बन गरेको बाटो गलत थियो भनेर म भन्न चाहन्नँ।
काठमाडौं विश्वविद्यालय (केयू) कै इतिहासमा पहिलो पटक शैक्षिक योग्यता र कार्यदक्षताका आधारमा उपकुलपति चयन गर्ने प्रक्रियाको थालनी गरी हामीलाई प्रोत्साहित गर्नुभएकामा प्रधानमन्त्रीज्यूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।
संस्थापक उपकुलपति संयोजक रहेको तीन सदस्यसहितको छनोट समिति गठन भयो। कार्यविधि निर्देशिका पनि छोटो समयभित्र तयार भयो। कार्यविधि निर्देशिकामा निवेदक कुनै पार्टी विशेषको सदस्यता नलिएको व्यक्ति हुनुपर्ने उल्लेख गरिएकाले विशुद्ध प्राज्ञिक क्षेत्रमा योगदान गरेका उत्साहित हुनु स्वाभाविक थियो।
निर्देशिकामा छनोटको आधार भनेको शैक्षिक योग्यता, प्राज्ञिक अनुभव, उच्च शिक्षाका क्षेत्रमा हासिल गरेको नेतृत्वदायी अनुभव, व्यवस्थापकीय कुशलता एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय साधन स्रोतको परिचालन गरेको व्यक्ति भनी उल्लेख गरिएको थियो।
छनोटका आधारहरू आफ्नो योग्यतासँग हुबहु मेल खाने देखेर मैले पनि निवेदन दिनु आफ्नो कर्तव्य सम्झें। उत्साहका साथ, मक्किसकेका प्रमाणपत्र, लब्धांकपत्र र अनुभवका प्रमाणपत्र जुटाउनतर्फ लागियो। सोचपत्र र रणनीतिक कार्ययोजना तयार पारी प्रस्तुतीकरण र अन्तर्वार्तामा समेत सहभागी भइयो।
२० जनाबाट १० जनाको सूची प्रकाशित गर्ने क्रममा केही निवेदक यो सूचीमा नअटाएको देख्दा र आशा नै नगरेका अन्य निवेदक समावेश भएको पाउँदा छनोट प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठ्न थाल्यो।
पत्रपत्रिका र टेलिभिजनमार्फत काठमाडौं विश्वविद्यालयको प्रतिष्ठामाथि प्रहार हुने गरी समाचार सम्प्रेषण हुन थाल्यो। सामान्य अवस्था भएको भए अन्तर्वार्ता सकिएको केही समयभित्रै कुलपतिसमक्ष मेरिटका आधारमा तीन जनाको नाम पेस गरी सक्नुपर्ने थियो। समितिबाट नाम सिफारिस गर्न गरिएको ढिलाइको कारणबारे अनलाइन माध्यमबाट विभिन्न प्रकारका तर्कवितर्क आउन थाले।
यसैबीच समितिका संयोजकले बीबीसी सञ्चारमाध्यममार्फत राख्नुभएको विवादास्पद धारणा बाहिरियो। कार्यविधि निर्देशिकाले निर्देशित गरेको परिधिभन्दा बाहिरको, कुनै एक जना व्यक्ति विशेषको नाम सिफारिस गर्न खोजिएको, मेरिटले मात्र नपुग्ने र संस्थाको हित गर्ने व्यक्ति हुनुपर्ने जस्ता उहाँका विचारले उपकुलपति छनोट प्रक्रिया निष्पक्ष नहुने र अझ लम्बिने आशंका जन्मायो।
उपकुलपतिका प्रत्याशी आठ जनाले त लिखित रूपमै असन्तुष्टि व्यक्त गरे। विश्वविद्यालयका पदाधिकारीहरू समेतले समितिबाट मेरिटका आधारमा विश्वविद्यालयलाई छिट्टै उपकुलपति चयन गरी पठाउन लिखित अनुरोधपत्रसमेत पेस गरे।
मैले कुनै पनि यस्ता विज्ञप्ति वा पत्रमा हस्ताक्षर गरिनँ किनभने प्रधानमन्त्रीज्यूबाट योग्यताकै आधारमा उपकुलपतिको चयन हुनेछ भन्ने कुरामा म विश्वस्त थिएँ। लामो अन्योलपछि काठमाडौं विश्वविद्यालयले उपकुलपति पाएको छ। चौथो उपकुलपतिका रूपमा विश्वविद्यालयको जिम्मेवारी पाउनुभएकामा नवनियुक्त उपकुलपतिलाई बधाई छ।
विश्वविद्यालयलाई मेरो नेतृत्वदायी र व्यवस्थापकीय कुशलता आवश्यक पर्दा म कहिले पछि हटिनँ। हरेक अप्ठ्यारो परिस्थितिमा विश्वविद्यालय पदाधिकारीलाई साथ दिने अठोट गरें। काठमाडौं विश्वविद्यालयको अबको बाटो के हो त? काठमाडौं विश्वविद्यालयमा तीन दशक बिताइसकेको म, सेवानिवृत्त हुने संघारमा पुगेको व्यक्ति, भावीपुस्तालाई मैले अवलम्बन गरेको बाटो गलत थियो भनेर म भन्न चाहन्नँ।
त्यसैकारण प्रधानमन्त्रीज्यूलाई मेरो विनम्र अनुरोध छ कि हामी उपकुलपतिका प्रत्याशीहरूको अंक सार्वजनिक गरियोस्। राजनैतिक सम्बन्धनका आधारमा यसपालिको उपकुलपति छनोट भएको होइन, काठमाडौं विश्वविद्यालय राजनीतिक भागबन्डामा परेको वा पारिएको छैन र विशुद्ध शैक्षिक योग्यता एवं कार्यदक्षताका आधारमा उपकुलपतिको चयन भएको छ भन्ने विषयमा हामी पनि विश्वस्त हुनेछौं।
प्राडा सुबोध शर्मा, पूर्व रजिस्ट्रार एवं उपकुलपतिका प्रत्याशी
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित