चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मनी निर्यात

चितवन/यहाँ उत्पादित गाजर र चुकन्दर विदेश निर्यात हुन सुरु भएको छ । जिल्ला प्राङ्गारिक सङ्घमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर र चुकन्दर यही चैत ४ गतेदेखि विदेश निर्यात गर्न थालिएको हो ।

भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादन भएको गाजर र चुकन्दर जर्मनी निर्यात गर्न थालिएको सङ्घका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म ८४ टन चुकन्दार विदेश निर्यातका लागि पठाइसकेका छौँ । अझै ४२ टन बाँकी छ ।” सङ्घमा आबद्ध किसानले १४ बिघा क्षेत्रफलमा लगाएको चुकन्दर र गाजर विदेश निर्यात सुरु गरिएको उहाँले बताउनुभयो ।

तीन वर्षदेखि यहाँ उत्पादित प्राङ्गारिक गाजर र चुकन्दर विदेश पठाइँदै आइएको अधिकारीको भनाइ छ । उहाँले भन्नुभयो, “सुरुका वर्ष मेरो उत्पादन मात्रै पठाएको थिएँ । अहिले साथीहरूको उत्पादन पनि विदेश निर्यात हुन थालेको छ ।”

सुरुआतमा चुकन्दर पठाएपछि गाजर पठाउने तयारी गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो । गाजर एक सय ५० टन विदेश निर्यात गरिनेछ ।

उहाँका अनुसार द अर्गानिक भ्याली नामक संस्थाले यहाँको उत्पादनलाई विदेश पठाउँदै आएको छ । जर्मनबाट आएका वैज्ञानिकले जमिन प्रमाणीकरण गरेपछि यहाँको उत्पादन निर्यात हुन थालेको हो ।

यहाँको २० बिघा क्षेत्रफललाई प्राङ्गारिक क्षेत्रका रूपमा मान्यता पाएको छ । जर्मन जाने गाजर प्रतिकिलो रु २० र चुकन्दर रु ५० मा पठाउने गरिएको सङ्घका सदस्य छविलाल न्यौपानेले जानकारी दिनुभयो ।

सङ्घमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर र चुकन्दर जर्मनी निर्यात सुरु भएको बताउँदै उहाँले कृषिजन्य उत्पादन निर्यात हुनुले कृषकमा उत्साह थपेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “अर्गानिक खेती हुने क्षेत्रमा गाजर र चुकन्दरबाहेक गहुँ, मुसुरो, जौँ घाँस, आलु र विभिन्न तरकारीका लगाइँदै आइएको छ ।”

यहाँ उत्पादित कृषिउपज विदेशसँगै स्वदेशका चितवन, पोखरा, काठमाडौँलगायत जिल्लामा बिक्री हुँदै आएको न्यौपानेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments