नेदरल्याण्डका दम्पतीको नेपाल प्रेम

गण्डकी/ एड क्रामर र आन्नी क्रामर नेपाललाई ‘दोस्रो घर’ ठान्छन् । नेदरल्याण्डका यी दम्पत्ति सन् १९७७ जुलाईमा पहिलो पटक नेपाल आएका थिए ।

तीन साना छोराछोरीसहित उनीहरूले यहाँ आठ वर्ष बिताए । सन् १९८५ मा स्वदेश फर्किए ।

“नेपाल छोड्न मनले त मानिरहेको थिएन, तर परिवारप्रतिको उत्तरदायित्वले हामी आफ्नै देश फर्कियौँ”, ७७ वर्षीया आन्नीले भन्नुभयो, “नेपाल हाम्रो दोस्रो घर हो, यहाँको सत्कार र मानिसको असल आनीबानी धेरै मनपर्छ ।”

नेपालमा हरेकपटक आउँदा नयाँ अनुभव र ऊर्जा प्राप्त हुने गरेको उहाँले सुनाउनुभयो ।

उनासी वर्षका एड र आन्नी नेपाल आउँदा छोरी इङ्ग मार्गरिट सात महिनाकी थिइन् । छोरा मारत्येन चार वर्ष र एरिक तीन वर्षका थिए ।

अहिले क्रामर दम्पत्तिका सात नातिनातिना भइसकेका छन् । छोराछोरीका सबै परिवार नेदरल्याण्डमै बस्छन् । नेपालमा आठ वर्ष बस्दा उनीहरू यहाँको भाषा, संस्कृति र रहनसहनसँग घुलमिल भइसकेका थिए ।

“ठूलो छोरा मारत्येन हामीभन्दा पनि राम्रो नेपाली बोल्न सक्छ”, आन्नीले भन्नुभयो, “नेपालमा बस्दा छिमेकी बालबालिकासँग रमाउन र खेल्न खुब मन पराउँथे ।”

समय मिलेसम्म अहिले पनि नेपाल आउँदा छोराछोरीलाई लिएर आउने गरेको उहाँको भनाइ छ ।

सिभिल इञ्जिनीयर एड क्रामर युनाइटेड मिसनमार्फत बुटवलको तिनहुँ नदीमा विद्युत् आयोजना निर्माण क्रममा पहिलोपटक नेपाल आउनुभएको थियो ।

पेसाले शिक्षक रहनुभएकी श्रीमती आन्नी र छोराछोरीलाई उहाँले साथमै ल्याउनुभयो । बुटवलमा केही समय बिताएर क्रामर परिवार स्न १९७८ को फेब्रुअरीमा बागलुङ आए ।
बागलुङको पहिलो साना जलविद्युत् केन्द्र, काठेखोलामा एडले काम गर्नुभयो । विसं २०३९ मा बागलुङ नगरपालिका–३ मा निर्माण गरिएको एक सय ७५ किलोवाटको उक्त आयोजना अहिले भने रूग्ण अवस्थामा छ ।

उक्त आयोजना निर्माण क्रममा क्रामर दम्पती बालबच्चासहित दुई वर्ष तीन महिना बागलुङमा बसेका थिए ।

बागलुङमा पहिलो पटक बिजुली बल्दाको साक्षी उनीहरू थिए । त्यो बेला यातायात, विद्युत्लगायतका सुविधा बागलुङमा थिएनन् ।

कास्कीको नागडाँडाबाट हिँडेर तीन दिनमा बागलुङ आइपुगेको एडले सुनाउनुभयो ।

“भाषा सिकाउने तीन जना, भरिया तीन जनासहित हामी हिँडेरै बागलुङ आएका थियौँ”, उहाँले भन्नुभयो, “पहिलो दिन पर्वतको एउटा गाउँमा र दोस्रो दिन मालढुङ्गा भन्ने स्थानमा बास बस्यौँ ।”

बागलुङ आइसकेपछि उनीहरू स्थानीय भीमसेन श्रेष्ठको घरमा बसे । छिमेकी रामकृष्ण भारी, विष्णुनारायण भारीलगायतले उनीहरूको बसाइँमा मद्दत गरे ।

“त्यो बेला बिजुली थिएन, टेलिफोन थिएन, पानी लिन बाहिर जानुपथ्र्यो, दाउरामा खाना पकाउनुपथ्र्यो, धेरै गाह्रो थियो”, एडले भन्नुभयो, “सानो छोराछोरी भएकाले हामीलाई भान्छामा छिमेकी गाउँ तित्याङको बुकेनीका नगेन्द्र र शकुन्तलाले धेरै सहयोग गर्नुभयो ।”

केही दिनअघि बागलुङ आएका बखत क्रामर दम्पत्तिले बुकेनी पुगेर नगेन्द्रलाई भेटे र ४५ वर्षअघिका ती क्षणलाई सम्झे । जतिबेला नगेन्द्र मात्र १३ वर्षको हुनुहुन्थ्यो । एड ३४ र आन्नी ३२ वर्षको हुनुहुन्थ्यो । एउटै क्याम्पस पढेका एड र आन्नीको प्रेम विवाह भएको थियो ।

साना जलविद्युत् केन्द्रमा इञ्जिनीयरका रूपमा एडसँगै बुटवलदेखि आएका अन्य प्राविधिक र स्थानीयवासी खटिएका थिए ।

त्योबेला बागलुङलगायत देशका विभिन्न जलविद्युत् आयोजना निर्माण गरेका हिमो हाइड्रो इन्जिनीयरिङ प्रालिमामा एड महाप्रबन्धकसमेत भएर काम गर्नुभएको थियो ।

उहाँले स्याङ्जाको आँधीखोला, तातोपानी, डोटीलगायत ठाउँमा जलविद्युत् आयोजनामा काम गर्नुभयो । सन् १९८५ मा नेदरल्याण्ड फर्केका क्रामर दम्पती १० वर्षपछि सन् १९९५ मा पुनः नेपाल आएका थिए । त्यसयता उनीहरूको नेपाल आउनेजाने क्रम चलि नै रह्यो ।

पानी व्यवस्थापन विज्ञसमेत रहनुभएका एड सन् २०१२ मा पुनः नेपाल आएर पाल्पाको मिसन अस्पतालमा फोहर पानी सफा गर्ने परियोजनामा काम गर्न थाल्नुभयो ।

“मिसन अस्पतालको ठूलो खानेपानी ट्याङ्कीको डिजाइन मैले नै गरेको हुँ, फोहर पानी सफा गराउने परियोजना अहिले पनि सञ्चालित छ, यसकै सिलसिलामा अहिले नेपाल आएका हौँ”, उहाँले भन्नुभयो ।

दुई महिनाअघि नेपाल आएका उनीहरू अर्को साता नेदरल्याण्ड फर्कदैँछन् । नेपाल रहँदा चार दिन बागलुङमा बिताएको एड्ले बताउनुभयो ।

यसपालि एडले आफूसँगै ४५ वर्षअघि बागलुङ रहँदा खिचेका तस्बिर पनि साथै लिएर आउनुभएको थियो । त्योबेलाको बागलुङको समाज, संस्कृति, रहनसहन र जीवनशैली झल्काउने २९ थान तस्बिर नेपाल पत्रकार महासङ्घ, बागलुङलाई हस्तान्तरण गर्नुभयो ।

अहिले पनि फोटोग्राफीमा उत्तिकै रूचि राख्ने एडले बागलुङका पुराना तस्बिरको प्रदर्शनी राख्ने इच्छा रहेको सुनाउनुभयो ।

महासङ्घ, बागलुङका सचिव नारायण रिजालले प्रतिलिपि अधिकारको सुनिश्चिततासहित एडले खिचेका तस्बिर महासङ्घले सुरक्षित तबरले सङ्ग्रह गर्ने बताउनुभयो ।

क्रामर दम्पती बागलुङ आएका बेला पहिले आफू बसेको घर र गाउँटोल पुगे । चिनेजानका व्यक्तिगसँग भेटघाट गरे ।
“सन् २०१२ पछि हरेक वर्षजसो नेपाल आइरहेका छौँ, नेपाल आउँदा बागलुङ आउन पनि छुटाउँदैनौँ”, आन्नीले भन्नुभयो, “यहाँ आउँदा ज्यादै रमाइलो लाग्छ, अहिले त बागलुङ पनि धेरै परिवर्तन भइसकेको छ ।”

बुटवल, पोखरा, काठमाडौँ, पाल्पालगायतका ठाउँ पुगेर आफूहरू नेदरल्याण्ड फर्कन लागेको उहाँले बताउनुभयो । “हामी फेरि छिट्टै नेपाल आउनेछौँ, नेपालको धेरै माया लाग्छ”, आन्नीले भन्नुभयो ।

राम थापा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments