सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै

सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको अभिलेखिकरण गर्न थालिएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभयो

बागमती/ यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख (डिजिटाइजेसन) गर्न थालेको छ ।
सवारीसाधनको ‘रेकर्ड’ खोज्न सहज होस् र नवीकरण गर्न कार्यालय नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले कार्यालयमा दर्ता रहेका सवारीसाधनको अभिलेखिकरण गर्न थालिएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।

केही दिनअघि बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सवारीसाधनको अभिलेखिकरणको शुभारम्भ गर्नुभएको थियो । यसका लागि कर्मचारीले सवारीको कागजात तथा तथ्याङ्क प्रविष्ट गर्ने कार्य गरिरहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने तथा ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने प्रमुख श्रेष्ठको भनाइ छ ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार सो कार्यालयमा दुई पाङग्रे, तीन पाङ्ग्रे र चार पाङग्रे गरी करिब ५१ हजार सवारी दर्ता छन् । ती सबै सवारीसाधनको तीन–चार महिनाभित्र अभिलेखको काम सकिने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

घरघरमै पुगेर व्यक्तिगत घटना दर्ता

जन्म र मृत्यु अर्थात् सुख र दुःखको क्षणमा नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउनेगरी मकवानपुरको मनहरि गाउँपालिका–७ वडा कार्यालयले घरदैलो अभियान सुरु गरेको छ । वडा कार्यालयले नागरिकको घरदैलोमा पुगेर जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्तालगायत व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरण गर्न घरदैलो अभियान सञ्चालन गरेको हो ।

वडाभित्र जन्मिने शिशुको जन्मदर्ता र केही व्यक्तिको मृत्यु भएमा मृत्यु दर्ता प्रमाणपत्र दिने वैधानिक व्यवस्थालाई घरदैलोमै पुर्याउन घरदैलो अभियान सञ्चालन गरिएको मनहरी–७ का वडाध्यक्ष ठाकुरराम तितुङले जानकारी दिनुभयो ।

व्यक्तिगत घटना भएको ३५ दिनभित्र उक्त घटना वडा कार्यालयमा दर्ता गराउनुपर्ने कानुनी व्यवथा भएकाले नागरिकलाई निर्धारित समयमै व्यक्तिगत घटना दर्ता प्रमाणपत्र वितरण वडा कार्यालयले घरघरमा पुग्न थालेको उहाँको भनाइ छ । यसबाट नागरिकले घरघरमै स्थानीय सरकारको अनुभूति गर्ने र जरिवानामा समेत नपर्ने वडाध्यक्ष तितुङले बताउनुभयो ।

वडाभित्र रहेका टोल विकास संस्था र वडाका जनप्रतिनिधिमार्फत व्यक्तिगत घटनाको विवरण सङ्कलन गरी परिवारका सदस्यसँग समन्वय गरेर घटनाको सूचक खडा गर्ने र घटना दर्ता प्रमाणपत्र व्यक्तिको घरमै पुगेर उपलब्ध गराउन थालिएको वडाअध्यक्ष तितुङले बताउनुभयो ।


शिशु जन्मेको व्यक्तिको घरमा पुगेर जन्मदर्तासँगै सुत्केरी स्याहारका लागि पौष्टिक सामग्री तथा मृत्यु भएर शोकमा बसिररहेकाको घरमा फलफूल तथा श्रद्धाञ्जलीपत्र बोकेर जाने गरिएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments