दैनिक १२ सय बिरामी आउने क्यान्सर अस्पताल आर्थिक अभावका कारण सञ्चालनमा कठिनाइ

चितवन/आर्थिक अभावका कारण बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निवृत्त भएका कर्मचारीले उपदान पाउन सकेका छैनन् । धेरैजसो सेवा निःशुल्कसँगै सेवा विस्तार गरेको सो अस्पतालले सरकारी निकायहरुबाट भुक्तानी पाउन नसक्दा आर्थिक समस्यामा परेपछि त्यहाँका निवृत्त कर्मचारीले उपदान पाउन नसकेका हुन् ।

अस्पतालले निःशुल्क शय्या, बिरामीलाई निःशुल्क खानाको व्यवस्था गरेको छ भने शय्या अभाव हुँदै गएपछि सेवा विस्तार पनि गरेको छ । मुलुकको क्यान्सर उपचारको केन्द्रका रुपमा रहेको यस अस्पतालमा सरकारी निकायहरुबाट भुक्तानी पाउन नसक्दा आर्थिक समस्या परेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार सरकारका विभिन्न निकायबाट अस्पताललाई रु ४१ करोड ६७ लाख ५० हजार भुक्तानी लिन बाँकी छ । तीमध्ये सबैभन्दा बढी स्वास्थ्य बिमा बोर्डबाट रु २५ करोड ८८ लाख, सङ्घीय सरकारको विपन्न उपचारबापत रु १२ करोड ६७ लाख, विपन्नअन्तर्गत बागमती प्रदेशको रु ६२ लाख २५ हजार, लुम्बिनी प्रदेशको ९९ लाख १८ हजार र गण्डकी प्रदेशको रु १५ लाख नौ हजार भुक्तानी लिन बाँकी छ ।

भुक्तानी नपाउँदा अस्पतालले तिर्नुपर्ने दायित्व पनि बाँकी रहेको बताइएको छ । डा पौडेलका अनुसार अस्पतालले तलब भत्ता, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषसहित नियमित मर्मतसम्भारलगायत विभिन्न निकायलाई भुक्तान गर्नुपर्ने रु १९ करोड १७ लाख १५ हजार बाँकी छ ।

यसबाहेक फार्मेसीमा औषधि खरिद गरेको रु. नौ करोड ७७ लाख भुक्तानी गर्न बाँकी छ । आर्थिक अभावका कारण चालु आर्थिक वर्षमा निवृत्त भएका १८ जना कर्मचारीको रु चार करोड ५७ लाख उपदान रकम अस्पतालले भुक्तानी गर्न सकेको छैन ।

अस्पतालको मौज्दात खातामा रु आठ करोड २८ लाख रहेको छ । यो रकम कर्मचारीको तलब, तीन महिनाको नागरिक लगानी कोषमा पठाउनुपर्ने र कर्मचारी सञ्चय कोषमा पठाउँदा सकिने अवस्था छ । बाँकी भुक्तानी गर्न नसक्दा अस्पताल नियमित सञ्चालनमा कठिनाइ भएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।

उपकरणको नियमित मर्मतसम्भार, अत्यावश्यक उपकरण खरिद, औषधि खरिदजस्ता कामलाई नियमितता दिन अप्ठ्यारो भएको उहाँले बताउनुभयो । कर्मचारीको मासिक तलब भत्तामा मात्रै रु पाँच करोडभन्दा बढी रकम अस्पतालले खर्च गर्ने गर्दछ । यहाँ ९५ चिकित्सकसहित ७१३ जना कर्मचारी कार्यरत छन् ।

अस्पताल सञ्चालनका लागि सरकारले कर कोषबाट चालु आवमा रु २४ करोड १७ लाख आठ हजार बजेट विनियोजन गरिएको थियो । अस्पतालमा कार्यरत चिकित्सक कर्मचारीका लागि तलब भत्तामा मात्रै वार्षिक रु ६० करोडभन्दा बढी खर्च हुने गर्छ । भौतिक पूर्वाधार र ठूला उपकरण खरिदका लागि सरकारले छुट्टै विभिन्न शीर्षकमा बजेट विनियोजन गर्ने गर्दछ ।

अस्पतालले हरेक वर्ष सेवासुविधा विस्तारसँगै आम्दानी बढाउँदै लगेको छ । कार्यकारी निर्देशक पौडेलका अनुसार तीन वर्षअघि वार्षिक रु ४८ करोड आम्दानी गरेको अस्पतालले आर्थिक वर्ष २०८०÷८१ मा रु ५८ करोड र गत आर्थिक वर्ष २०८१÷०८२ मा रु ७४ करोड ९६ लाख आम्दानी गरेको छ ।

बिरामीको सङ्ख्या बढेसँगै आम्दानी बढ्दै गएको कार्यकारी निर्देशक पौडेलको भनाइ छ । आर्थिक वर्ष २०७९÷०८० मा एक लाख ६६ हजार २००, २०८०÷८१ मा एक लाख ८८ हजार ५१४ र गत आर्थिक वर्षमा दुई लाख नौ हजार ५९४ बिरामीले यस अस्पतालबाट सेवा लिएका छन् । तीमध्ये आर्थिक वर्ष २०७९÷८० मा चार हजार ९७ जनाको शल्यक्रिया भएको छ । यसैगरी आर्थिक वर्ष २०८०÷८१ मा चार हजार १६५ र गत आर्थिक वर्षमा ६ हजारभन्दा बढी बिरामीको शल्यक्रिया भएका छन् ।

अस्पतालमा अत्यावश्यक मानिएको सिटी स्क्यान गरिएको सङ्ख्या पनि हरेक वर्ष बढ्दै गएको तथ्याँक छ । अस्पतालका अनुसार गत आर्थिक वर्षमा १३ हजार ४७९ जनाले सिटी स्क्यान गरेका छन् । आ.व.२०८०÷८१ मा १२ हजार ३९० र २०७९÷८० मा १० हजार ९२० जनाले सिटी स्क्यान सेवा अस्पतालबाट लिएका छन् । यो अस्पतालले गत वर्षदेखि सुरु गरिएको मेमोग्राम सेवा पनि ९५१ जनाले लिएका छन् ।

अस्पतालमा दैनिक एक हजार दुई सय हाराहारी बिरामी सेवा लिन आउने गर्दछन् । क्यान्सर बिरामीका लागि दिईने डे केयर सेवामा १३ शय्या थप गरिएको छ । यससँगै तीन वर्षअघि एक वर्षमा २० हजार ३५४ जनाले यो सेवा लिएकोमा गत आर्थिक वर्षमा २९ हजार ४२१ जनाले यो सेवा लिएका छन् ।

कार्यकारी निर्देशक पौडेलले न्यून बजेट र सिमित साधनस्रोतलाई अधिकतम सदुपयोग गरेर अस्पतालले उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताउँदै सेवा सुविधा विस्तार गरेसँगै क्रमशः आम्दानी बढ्दै गएको छ भन्नुभयो । उहाँले सरकारी निकायबाट बाँकी भुक्तानी प्राप्त भएमा अस्पताल सञ्चालनमा कुनै समस्या नपर्ने बताउनुभयो । सेवाग्राहीको चाहनाअनुसार पूर्ण रुपमा काम गर्न कठिन भए पनि विगतका वर्षको तुलनामा सेवामा निकै सुधार भएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments