काठमाडौँ/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशकनारायणप्रसाद ढकालले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको वा नगरेको भन्ने विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।
मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको यही चैत २६ गतेको पत्रअनुसार प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भनी उजुरी प्राप्त भएको जनाउँदै सो विषयमा छानबिन गर्न मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठ, मन्त्रालयका कानुन शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विज्ञ कविन मलेकु गरी तीन सदस्यीय समिति गठन गरेको जनाएको छ ।
मन्त्रालयले उक्त समितिलाई सो विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नसमेत जिम्मेवारी तोकेको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले संसद्मै औषधिको अनधिकृत मूल्य वृद्धिका कारण नेपाली जनताले बर्सेनि अर्बौँ रुपैयाँको आर्थिक भार खेप्नुपरेको भन्दै यसमा संलग्नहरूमाथि तत्काल छानबिन र कारबाहीको माग गरेका थिए ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद खत्रीले औषधि व्यवस्था विभागका महानिर्देशकले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर ५२ ब्रान्डका औषधिको मूल्य बढाएको तथ्य महालेखा परीक्षकको प्रतिवेदनले नै पुष्टि गरेको बताएका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित