काठमाडौं/कहिल्यै भान्साघरभित्र सीमित मानिएको परम्परागत पेय ‘मोही’ अब राष्ट्रिय जीवनशैलीको केन्द्रमा आउँदैछ। स्वदेशी संस्कृति, स्वास्थ्य र अर्थतन्त्रलाई एउटै सूत्रमा बाँध्दै नेपाल डेरी एसोसिएसनले चैत २८ गते दोस्रो राष्ट्रिय मोही दिवस २०८२ देशभर मनाउने तयारी गरेको छ।
“मोहीको विश्वास, स्वास्थ्यको विकास: घरघरमा फैलाऔं अभियानको प्रयास” भन्ने मूल नारासहित सुरु गरिएको यो अभियानले अब मोहीलाई केवल परम्परागत पेय होइन, आधुनिक स्वास्थ्यकर विकल्पका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
पछिल्ला वर्षहरूमा विद्यालय, अस्पताल तथा सार्वजनिक स्थलहरूमा निःशुल्क मोही वितरणदेखि काठमाडौंको दरबारमार्गस्थित क्याफेमा ८५ हप्ताभन्दा बढी निरन्तर ‘ठेकीको मोही’ पिलाउने अभियानसम्मले मोहीप्रतिको धारणा उल्लेखनीय रूपमा परिवर्तन भएको छ। एक समय लाज मानेर पिउने पेय आज सार्वजनिक रूपमा गर्वका साथ पिउने संस्कृतिमा रूपान्तरण हुँदैछ।
पहिलो राष्ट्रिय मोही दिवस (२०८१) को सफलतापछि यस वर्ष अभियानलाई थप संस्थागत र व्यावसायिक बनाउने योजना अघि सारिएको छ। एसोसिएसनले सरकारी कार्यालयदेखि कर्पोरेट क्षेत्रसम्म ‘मोही’लाई अनिवार्य स्वागत पेय बनाउने प्रस्ताव अघि सारेको छ। चिया-कफी संस्कृतिलाई प्रतिस्थापन गर्दै ‘मोही-ब्रेक’ को अवधारणा पनि अघि बढाइएको छ, जसले स्वास्थ्यप्रद जीवनशैलीतर्फ समाजलाई डो¥याउने अपेक्षा गरिएको छ।
हाल दैनिक करिब २५ हजार लिटर मोही बजारमा खपत भइरहेको तथ्यांक सार्वजनिक गर्दै एसोसिएसनले आगामी वर्षभित्र यसलाई दोब्बर बनाउने लक्ष्य राखेको छ। यसका लागि उद्योगहरूलाई ब्रान्डिङ र लेबलिङमा सहुलियत दिन सरकारसँग आग्रह गरिएको छ।
मोही प्रवर्द्धनलाई केवल स्वास्थ्यसँग मात्र होइन, अर्थतन्त्रसँग पनि जोडिएको अभियानका रूपमा प्रस्तुत गरिएको छ। विदेशी पेय पदार्थको आयातमा खर्चिने अर्बौं रुपैयाँ बचत गर्दै ग्रामीण किसानको दूधले उचित मूल्य पाउने आधार मोहीको व्यावसायिक विस्तार हुने विश्वास व्यक्त गरिएको छ।
स्थानीय तहहरूलाई समेत सक्रिय बनाउँदै चितवनको इच्छाकामना र काभ्रेको मण्डनदेउपुर नगरपालिकाजस्ता उदाहरणलाई देशभर विस्तार गर्न आह्वान गरिएको छ। विद्यालयका क्यान्टिनदेखि अस्पतालसम्म कृत्रिम पेय पदार्थ विस्थापन गरी मोहीलाई प्राथमिकता दिनुपर्ने जोड दिइएको छ।
विशेषज्ञहरूका अनुसार मोहीमा पाइने क्याल्सियम, प्रोटिन र प्रोबायोटिक्सले पाचन प्रणाली सुदृढ बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। त्यसैले यसलाई दैनिक जीवनशैलीमा समावेश गर्नु स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ।
परम्परागत ठेकी र मदानीसँग जोडिएको सांस्कृतिक पहिचानलाई जोगाउँदै आधुनिक बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित अघि बढेको यो अभियानले ‘लोकल इज हेल्दी’ भन्ने सन्देशलाई सशक्त बनाएको छ।
दोस्रो राष्ट्रिय मोही दिवसको अवसरमा सम्पूर्ण नागरिक, निजी क्षेत्र र सरकारी निकायलाई यस अभियानमा सहभागी भई “घरघरमा मोही” पुर्याउने लक्ष्य सफल पार्न आह्वान गरिएको छ।
“स्वदेशी उत्पादनको उपभोग गरौं, आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुर्याऔं” भन्ने सन्देशसहित मोही अब केवल स्वाद होइन, जीवनशैलीको परिवर्तनको प्रतीक बन्ने दिशातर्फ अघि बढिरहेको छ।
मुख्य प्राथमिकता र ध्यानाकर्षण: –
१. संस्थागत खपतमा अनिवार्य मोही
नेपाल सरकारका सम्पूर्ण मन्त्रालय, विभाग, र स्थानीय तहका औपचारिक बैठक तथा कार्यक्रममा अब उप्रान्त कृत्रिम र आयातित पेय पदार्थको सट्टा मोही वा लस्सीलाई स्वागत पेय (Welcome Drink) को रूपमा अनिवार्य गर्न हामी जोडदार माग गर्दछौं।
२. “मोही-ब्रेक” को अवधारणा
शिक्षण संस्था, कर्पोरेट कार्यालय र अस्पतालहरूमा चिया वा कफीको विकल्पमा ‘मोही-ब्रेक’ को संस्कृति विकास गर्न आह्वान गरिन्छ। जसले गर्दा बालबालिका र कर्मचारीको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउन सकियोस्।
३. बजारीकरण र व्यावसायिकता
हाल बजारमा दैनिक २५ हजार लिटर मोही प्याकेजिङ भएर खपत भइरहेकोमा यसलाई आगामी वर्षभित्र दोब्बर बनाउने लक्ष्य राखिएको छ। यसका लागि डेरी उद्योगहरूलाई मोहीको लेबलिङ र ब्रान्डिङमा सहुलियत दिन सरकारसँग अपिल गर्दछौं।
४. स्वदेशी अर्थतन्त्रमा योगदान
विदेशी पेय पदार्थको आयातमा बाहिरिने अर्बौं रुपैयाँ रोक्न र ग्रामीण किसानहरूको दूधको उचित मूल्य सुनिश्चित गर्न मोहीको व्यावसायिकता नै प्रमुख आधार हो।
प्रमुख माग तथा आह्वानहरू :-
क) सरकारी नीतिमा प्राथमिकता
नेपाल सरकारका तीनै तहका सरकारले आफ्ना सार्वजनिक कार्यक्रम, बैठक र भोजहरूमा विदेशी सफ्ट ड्रिंक्सको सट्टा अनिवार्य रूपमा ‘मोही’ वा दुग्धजन्य पेय पदार्थको प्रयोग गर्नुपर्ने नीति बनाउनु पर्दछ।
ख) पालिकास्तरमा अभियान
चितवनको इच्छाकामना र काभ्रेको मण्डन देउपुर जस्ता पालिकाहरूको सिको गर्दै देशैभरका ७५३ वटै स्थानीय तहले मोहीको ब्रान्डिङ र उपभोगलाई प्रोत्साहन गर्नुपर्दछ।
शिक्षण संस्था र अस्पतालमा प्रोत्साहन: बालबालिकाको विकासका लागि आवश्यक क्याल्सियम र प्रोबायोटिक्सको मुख्य स्रोत मोही भएकाले विद्यालयका क्यान्टिनहरूमा कृत्रिम पेय विस्थापित गरी मोहीलाई स्थान दिनुपर्दछ।
ग) बजारीकरण र लेबलिङ
हाल देशभरका झण्डै दुई दर्जन उद्योगले प्याकेजिङ्ग मोही बजारमा ल्याए पनि यसलाई अझै व्यापक बनाई सुपरमार्केटदेखि होटल-क्याफे सम्म सहजै पुर्याउन आवश्यक लगानी र सहुलियतको व्यवस्था गरिनुपर्दछ।
मोही किन पिउने ?
१. स्वास्थ्यका लागि: मोहीमा क्याल्सियम, प्रोटिन, र ल्याक्टिक एसिड प्रशस्त हुन्छ, जसले पाचन प्रणाली सुधार्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
२. आर्थिक समृद्धिका लागि: मोहीको उपभोग बढ्दा किसानको दूधले उचित बजार पाउँछ र अर्बौं रुपैयाँ विदेशी पेय पदार्थ आयातमा बाहिरिनबाट जोगिन्छ।
३. मौलिकता संरक्षण: ठेकी र मदानीको हाम्रो परम्परागत संस्कृतिलाई जीवन्त राख्न मोही अभियान अनिवार्य छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित