काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ स्थित ढुंखर्कमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा सप्ताहव्यापी धार्मिक महोत्सव आयोजना हुने भएको छ। ‘श्री १०८ श्रीमत्तारतम सागर पाठ सप्ताह ज्ञान महायज्ञ तथा श्रीकृष्ण प्रणामी धर्म जागनी महा–महोत्सव’ नाम दिइएको उक्त कार्यक्रम चैत २७ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
मूल समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत संयोजक गीता शर्माले कार्यक्रमको मिति, उद्देश्य र तयारीबारे जानकारी दिएकी हुन्। यसअघि दुई पटक आयोजना गर्ने प्रयास भए पनि विभिन्न कारणले स्थगित भएको कार्यक्रम यसपटक भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको उनले बताइन्।
पत्रकार सम्मेलनमै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले धार्मिक गतिविधिमार्फत बेथानचोकलाई नयाँ पहिचान दिन सकिने धारणा व्यक्त गरे। उनले धार्मिक पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए।
उपाध्यक्ष तारा राना तिमल्सिनाले धर्ममार्फत सामाजिक सद्भाव र आर्थिक क्रियाशीलता बढाउन महोत्सव उपयोगी हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, केन्द्रीय प्रतिनिधिहरू, वडा अध्यक्षहरू तथा विभिन्न उपसमितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। आयोजकले महोत्सव अवधिभर सञ्चालन हुने गतिविधि, व्यवस्थापन तथा सहभागिताका विषयमा पनि जानकारी गराएको थियो।
महोत्सवअन्तर्गत श्रीकृष्ण प्रणामी धर्मका सतगुरु स्वरूप जगतगुरु आचार्य श्री कृष्णमणि महाराजबाट नवनिर्मित मन्दिरको कलश अनावरण गरिने कार्यक्रम तय गरिएको छ। साथै विभिन्न पीठका सन्त, महात्मा तथा गुरुहरूको सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाउने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार महोत्सवको मुख्य लक्ष्य वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको अभिवृद्धि तथा सांस्कृतिक परम्पराको जगेर्ना गर्नु हो। यससँगै ढुंखर्क क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन सोच पनि अघि सारिएको छ।
कार्यक्रम तालिका अनुसार चैत २६ गते बनेपा–९ नयाँबस्तीबाट ढुंखर्कसम्म मोटरसाइकल र्याली निकालिनेछ। त्यसपछि चैत २७ गते १०८ कलशसहित शोभायात्रा निकालेर तारतम सागर पाठ पारायण सुरु गरिनेछ। चैत २८ गते रक्तदान कार्यक्रम, चैत ३० गते मन्दिरको कलश अनावरण तथा वैशाख १ गते व्रतबन्ध कार्यक्रम आयोजना गरिनेछ।
सात दिनसम्म श्रीमद् तारतम सागर कथा वाचन, भजन–कीर्तन, सत्सङ्ग, वैदिक अनुष्ठान, निःशुल्क स्वास्थ्य शिविर तथा सांस्कृतिक प्रस्तुतिहरू सञ्चालन हुनेछन्। नेपालका केन्द्रीय धाम श्री नवतनधामका गाधिपति बाबाजी श्री १०८ अमृतराजजी महाराजबाट आशीर्वचन प्रदान गरिनेछ भने महन्त स्वामी श्री १०८ पुरुषोत्तम महाराजले कथा वाचन तथा प्रवचन दिने कार्यक्रम तय गरिएको छ।
अन्तर्राष्ट्रिय कलाकारहरूको भजन–कीर्तन प्रस्तुति पनि महोत्सवको आकर्षण रहने आयोजकले जनाएको छ। धार्मिक तथा ऐतिहासिक रूपमा महत्वपूर्ण मानिने ढुंखर्क क्षेत्र निजानन्द सम्प्रदायका अनुयायीहरूको प्रमुख केन्द्रका रूपमा परिचित छ। यस क्षेत्रमा परमहंस ब्रह्मलिन गुरुजी श्री १०८ युगलदासजी महाराजले धर्म प्रचार सुरु गरेको इतिहास रहेको बताइन्छ।
स्थानीय समुदायको सक्रिय सहयोगमा निर्माण गरिएको श्रीकृष्ण प्रणामी मन्दिर अहिले धार्मिक तथा सामाजिक गतिविधिको केन्द्र बन्दै गएको छ। आयोजकले देश तथा विदेशबाट आउने श्रद्धालु, भक्तजन र सर्वसाधारणलाई महोत्सवमा सहभागी भई धार्मिक लाभ लिन आह्वान गरेको छ।
उक्त मन्दिर २०४८ सालमा स्थापना भएको हो भने भवन निर्माण कार्य २०६२ सालदेखि सुरु गरिएको थियो। नेपालमा श्रीकृष्ण प्रणामी समिति २०२३ सालमै दर्ता भई क्रियाशील रहेको पुरानो धार्मिक संस्थामध्ये एक मानिन्छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित