मध्यपूर्व तनाव चुलिँदै, कूटनीतिक सङ्केतसँगै हिंसा विस्तार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसम्बन्धी महत्त्वपूर्ण जानकारी दिने घोषणा गर्नुभएको छ ।

मध्यपूर्वमा जारी युद्ध एकातिर थप चर्किंदै गएको छ भने अर्कोतिर सम्भावित समाधानका सङ्केतहरू पनि देखिन थालेका छन् । इरान, इजरायल र अमेरिकाबीचको टकरावसँगै खाडी क्षेत्र, लेबनान र इराकसम्म हिंसात्मक घटनाहरू फैलिँदा क्षेत्रीय अस्थिरता गहिरिँदै गएको छ ।

बुधबार इरानको राजधानी तेहरानमा ठूलो विस्फोटका आवाज सुनिएको सरकारी प्रसारण संस्था आइआरआइबीले जनाएको छ । राजधानीका उत्तर, पूर्व र मध्य भागमा आक्रमण भएको बताइएको छ, जसले द्वन्द्व प्रत्यक्ष रूपमा इरानी भूभागमै फैलिएको सङ्केत गरेको छ ।

यसैबीच खाडी क्षेत्रमा पनि आक्रमणहरू तीव्र भएका छन् । कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल इरानी ड्रोन आक्रमणको निशाना बनेको त्यहाँको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ, जसका कारण इन्धन ट्याङ्कीमा ठूलो आगलागी भएको छ । बहराइनले इरानी आक्रामकताका कारण व्यापारिक संरचनामा आगलागी भएको उल्लेख गरेको छ भने साउदी अरेबियाले धेरै ड्रोन खसालिएको जनाएको छ । कतारको जलक्षेत्रमा एक ट्याङ्कर ठोक्किएको बेलायती समुद्री सुरक्षा एजेन्सीले पुष्टि गरेको छ ।

द्वन्द्वको प्रभाव केवल सैन्य क्षेत्रमा मात्र सीमित छैन । मङ्गलबार इराकको बगदादमा एक अमेरिकी पत्रकार अपहरणमा परेका छन् । संयुक्त राज्य अमेरिकाले इरान समर्थित इराकी सशस्त्र समूहले उक्त अपहरण गरेको जनाएको छ । विदेश मन्त्रालयले पत्रकारको सुरक्षाबारे चिन्ता व्यक्त गर्दै छिटो रिहाइका लागि प्रयास भइरहेको बताएको छ । मिडिया समूहहरूले अपहरणमा परेकी पत्रकार स्वतन्त्र संवाददाता शेली किटलेसन रहेको पहिचान गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसम्बन्धी महत्त्वपूर्ण जानकारी दिने घोषणा गर्नुभएको छ । उहाँले अमेरिकी सैन्य अभियान ‘धेरै चाँडै’ अन्त्य हुने सङ्केत दिँदै वार्तालाई अघि बढाउने दुईदेखि तीन हप्ताको समयसीमा उल्लेख गर्नुभयो । इन्धन मूल्य वृद्धिबारे सोधिएको प्रश्नमा उहाँले इरानबाट बाहिरिने रणनीतिले मूल्य घट्ने विश्वास व्यक्त गर्नुभयो ।

ट्रम्पको यस्तै सङ्केतपछि एसियाली सेयर बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ । जापानको निक्केई २२५ सूचकाङ्क ४ प्रतिशतले बढेको छ भने हङकङ, साङ्घाई र सियोलका बजारहरू पनि उक्लिएका छन् ।

यता लेबनानमा भने हिंसा अझै चर्किएको छ । राजधानी बेरुतको दक्षिणी क्षेत्रमा इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले हिजबुल्लाहका वरिष्ठ कमान्डरहरूलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ । दक्षिणी लेबनानमा भएका अन्य आक्रमणहरूमा थप आठ जनाको मृत्यु भएको छ, जसमा एक प्यारामेडिक पनि रहेका छन् । विभिन्न जिल्लामा भएका आक्रमणले धेरै मानिस घाइते भएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तेहरानविरुद्धको सैन्य अभियान जारी रहने स्पष्ट पार्नुभएको छ । उहाँले ‘अभियान समाप्त नभएको’ र ‘आतङ्कवादी शासनलाई दबाउने’ कार्य निरन्तर रहने बताउनुभयो ।

तर इरानका राष्ट्रपति मसुद पेजेस्कियानले भने युद्ध अन्त्य गर्न आफ्नो देश तयार रहेको सङ्केत दिनुभएको छ । उहाँले द्वन्द्व अन्त्यका लागि ‘आवश्यक इच्छाशक्ति’ रहेको उल्लेख गर्दै भविष्यमा फेरि युद्ध नहोस् भन्ने सुनिश्चितता खोजिएको बताउनुभयो । इरानमा एक दिनको तीव्र आक्रमणपछि आएको यस प्रतिक्रियाले अमेरिकी बजारमा सुधार ल्याएको र तेलको मूल्य घटाएको जनाइएको छ । यसै क्रममा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले यदि थप इरानी नेताहरूको हत्या भएमा गुगलजस्ता अमेरिकी प्रविधि कम्पनीहरूमाथि प्रतिशोध लिन सक्ने चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिक्रिया बढ्दै गएको छ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले लेबनानमा इजरायली कारबाहीलाई ‘अवैध आक्रमण’ भन्दै आलोचना गर्नुभएको छ । इजरायली कारबाहीले लेबनानको सार्वभौमिकता उल्लङ्घन गरेको उहाँको भनाइ थियो । युरोपेली सङ्घ (इयु) ले भने बढ्दो ऊर्जा मूल्यको दबाबलाई ध्यानमा राख्दै सदस्य राष्ट्रहरूलाई इन्धनको खपत घटाउन आग्रह गरेको छ ।

यसैबीच क्याथोलिक धर्मगुरु पोप लियो चौधौँले हिंसा अन्त्यको आह्वान गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध रोक्ने पहल गर्ने आशा व्यक्त गर्नुभएको छ । उहाँले बमबारी र हिंसा घटाउने उपाय खोजिनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments