पाकिस्तान / पाकिस्तानले मध्य पूर्वको युद्ध सामाधानार्थ वार्ताको लागि साउदी अरेबिया, टर्की र इजिप्टका विदेश मन्त्रीहरू इस्लामाबादमा आउने तयारी भएको जनाइएको छ ।
पाकिस्तानी विदेश–मन्त्री इशाक दारले आफ्ना समकक्षीहरूलाई आमन्त्रित गर्नु भएको थियो भने उनीहरू आइतबार र सोमबार पाकिस्तानी राजधानीमा हुने बताइएको छ।
भ्रमणको क्रममा विदेश मन्त्रीहरूले यस क्षेत्रमा तनाव कम गर्ने प्रयास सहित विभिन्न विषयमा गहन छलफल गर्ने विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
विदेश मन्त्रीहरूले पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफलाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
विदेश मन्त्रालयको स्रोतले यस अघि सोमबार वहु–पक्षिय बैठक हुने र प्रतिनिधिमण्डल आइतबार साँझ सम्म पाकिस्तान पुग्ने अपेक्षा गरेको जनाएको थियो ।
द्वन्द्व बढ्दै जाँदा इरान र संयुक्त राज्य अमेरिका बीच एक प्रमुख सहयोगीको रूपमा देखा पाकिस्तान परेको छ, जसले दुई पक्षहरू बिचको सन्देशका लागि मध्यस्थताको रूपमा काम गरिरहेको छ ।
इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका लागि पाकिस्तानले गरेको मध्यस्थताको शनिबार प्रशंसा गर्नुभएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको कुराकानीमा पेजेश्कियानले इस्लामिक गणतन्त्र विरुद्धको आक्रमण रोक्नका लागि मध्यस्थताको प्रयासका लागि पाकिस्तानलाई धन्यवाद दिनुभएको हो ।
साउदी अरब, इजिप्ट र टर्कीका विदेशमन्त्रीहरू मध्यपूर्वको युद्धबारे वार्ताका लागि इस्लामावादमा भेट्ने तयारी गरिरहेका बेला यो फोनवार्ता भएको र मध्यस्थताका लागि आभार व्यक्त भएको हो ।
यसअघि, इरानले अज्ञात मध्यस्थकर्ताहरूमार्फत युद्ध अन्त्य गर्ने १५ बुँदे अमेरिकी योजनाको जवाफ दिएको इरानी अधिकारीलाई उद्धृत गरी तस्निम न्यूज एजेन्सीले बिहीबार जानकारी गराएको थियो । जवाफ दिएपछि इरानले वाशिङ्गटनको थप जवाफको पर्खाइमा रहने बताएको थियो ।
पाकिस्तानी अधिकारीहरूका अनुसार अमेरिकी योजनाको वास्तविक विषयवस्तु, पाकिस्तानमार्फत इरानलाई जानकारी गराइएको छ तर प्रस्तावमा के छ आधिकारिक रूपमा जानकारी गराइएको छैन ।
अमेरिकाले प्रस्ताव गरेका १५ बुँदामा इरानले दिएको जवाफ मध्यस्थकर्तामार्फत बुधबार राति पठाइएको थियो र इरानले अर्को पक्षको प्रतिक्रियाको पर्खाइमा रहेको जानकारी प्राप्त गरेको स्रोतलाई उद्धृत गर्दै तस्निमले जनाएको थियो ।
इरानले पाँच बुँदे प्रतिप्रस्ताव पठाएर जवाफ दिएको स्रोतले जनाएको छ।
पाँच बुँदामा ‘आक्रामकता’ को अन्त्य गर्दै इजरायल र संयुक्त राज्य अमेरिका युद्धबाट फर्कने, इरानलाई आर्थिक क्षतिपूर्ति दिने र इजरायलले लेबनानमा हेजबुल्लाह र गाजामा हमाससँगको युद्ध रोक्नेजस्ता सबै मोर्चामा शत्रुताको अन्त्य गर्ने सुनिश्चितताको लागि संयन्त्रको स्थापना गर्ने कुरा उल्लेख गरेको बताइएको छ ।-(रासस/एएफपी)
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित