आजदेखि २७औँ फ्लोरा एक्स्पो सुरु

काठमाडौँ/फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा २७औँ फ्लोरा एक्स्पो आजदेखि सुरु भएको छ । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक सम्बृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भई चैत ८ गतेसम्म भृकटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।

मेलाको उद्घाटन गर्दै बागमती प्रदेश, कृषि तथा पशुपक्षी विकासमन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायलाई परिस्कृत बनाउन थप कार्यक्रम र नीतिगत सुझाव पाएको खण्डमा बागमती सरकार सहयोगका लागि सधैँ तत्पर रहने बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रतिष्पर्धी व्यवसाय हो । यसलाई प्रविधियुक्त बनाउन आवश्यक छ । पुराना बिरुवालाई संरक्षण र नयाँलाई प्रवर्द्धन गर्न आवश्यक देखिन्छ ।”

Lahachhap

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले पुष्प व्यवसाय रोजगारी र समृद्धिको महत्वपूर्ण क्षेत्र भएको बताउँदै यसले बढ्दो सहरीकरणसँगै बढाएको आमनागरिकमा रहेको मानसिक चापलाई पनि सन्तुलनमा राख्न योगदान पु¥याएको बताउनुभयो ।

एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले हाल ५२ जिल्लामा लगभग २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको जनाउँदै पुष्प व्यवसायमा प्रत्यक्ष÷अप्रत्यक्ष गरेर ५३ हजार ५०० भन्दा बढी जनशक्तिले रोजगारी गरिरहेका बताउनुभयो । उहाँले कृषिका केही नीति परिमार्जन गरी लागू गरेकाले आयात गरी उत्पादन गर्नुपर्ने पुष्प तथा पुष्पजन्य वस्तुमा नीतिगत समस्या देखिएको बताउनुभयो ।

पुष्प व्यवसायीले समयमा आवश्यक बीउबिजन तथा बिरुवा आयात गर्न नसक्दा आन्तरिक पुष्पको वार्षिक कारोबारमा कमी आएको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँका अनुसार एक्स्पो अवधिभित्र करिब ६० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा एक करोड २० लाख भन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

एक्सपोमा ६५ वटा स्टल रहेका छन् । मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलङ्कारिक बोटबिरुवा, कटफ्लवार, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, थोपा सिँचाइ प्रविधि, आधुनिक पुष्पखेती प्रविधि, जैविक विषादी, विभिन्न प्रकारका गमला, पुष्प सजावटका प्रदर्शनी तथा बिक्री कक्ष रहेका छन् ।

पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि फ्लोरिकल्चर एसोसिएसन नेपालले विसं २०५१ देखि निरन्तर रूपमा हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रियस्तरको पुष्प मेला/प्रदर्शनी आयोजना गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments