चैत ५ देखि भृकुटीमण्डपमा ‘२७ औं फ्लोरा एक्स्पो’ हुँदै

काठमाडौं/ फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा ‘२७ औं फ्लोरा एक्स्पो २०८२’ आयोजना हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले यसबारे जानकारी गराइएको हो । एक्स्पो चैत ५ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुनेछ । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ यो प्रदर्शनी हुन लागेको हो ।

आयोजककाअनुसार एक्स्पोमा व्यावसायिक स्टल ६५, अफिसियल स्टल ११, प्रतिष्पर्धात्मक स्टल २, फुड स्टल २ लगायत गरी जम्मा ८३ वटा स्टलहरू रहनेछन् । मेलामा मौसमी फूल, आलंकारिक बोटबिरुवा, कट फ्लावर, सुनाखरी, कृषि औजार, मलखाद, तथा आधुनिक पुष्प खेती प्रविधिका सामग्रीहरू प्रदर्शन तथा विक्रीका लागि राखिनेछन् । चार दिनसम्म चल्ने यस मेलालाई करिव ६० हजार दर्शकले अवलोकन गर्ने र १ करोड २० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

मेलाको मुख्य आकर्षणका रूपमा विभिन्न विधामा पुष्प व्यवसायीहरूबीच प्रतिष्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने कार्यक्रम रहेको फ्यानका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक राबहादुर तामाङले बताए । उनका अनुसार मेला स्थलमा बोटबिरुवामा लाग्ने रोग तथा कीराहरूको निदान र स्वास्थ्य परीक्षणका लागि विशेषज्ञसहितको ‘प्लान्ट क्लिनिक’ समेत सञ्चालन गरिनेछ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत चैत ६ गते शुक्रवार मेला स्थलमै रक्तदान कार्यक्रम पनि आयोजना गरिने फ्यानका उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङले जानकारी दिए।

पुष्प व्यवसायको कारोबार घट्यो, आयातमा पनि भारी कमी :

हाल ५२ जिल्लाको २ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको यो व्यवसायमा ८ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको छ भने ५३ हजार ५ सयभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् । आर्थिक वर्ष २०८०/८१ मा करिब ३ अर्ब ८८ करोड रुपैयाँको वार्षिक कारोबार भएको यस क्षेत्रमा गत आर्थिक वर्ष २०८१/०८२ मा गिरावट आई ३ अर्ब ३७ करोडमा खुम्चिएको अनुमान गरिएको छ । विशेष गरी बीउ बिजन, बिरुवा र बिरुवा क्वारेन्टाइन सम्बन्धी नीतिगत समस्याका कारण व्यवसायीहरूले समयमा मदर प्लान्ट आयात गर्न नसक्दा आन्तरिक उत्पादनमा कमी आएको फ्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments