मतदानपछि सुदूरपश्चिमका मतदाता भारत फर्किन थाले

सुदूरपश्चिम/ निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् । केही दिनदेखि नेपाल–भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरु भारततिर फर्किन थालेका हुन् ।

रोजगारीका साथै उपचार, व्यापार तथा अन्य व्यक्तिगत कामका लागि दैनिक सयौँ नेपाली उक्त नाका हुँदै भारत जाने–आउने गर्छन् । त्रिनगर सीमा नाकामा भेटिनुभएका कञ्चनपुरका पदम पन्तले मतदान गरेर आफू फेरि भारततिर जान लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई महिनाअघि मतदान गर्न नेपाल आएको हुँ । अहिले फेरि काममा फर्किन थालेको छुँ ।” खुला सीमा नाका कारण आवतजावत सहज भए पनि कतिपयका लागि भने आवश्यक कागजातको अभावले समस्या सिर्जना भएको छ ।

त्रिनगर नाकामै भेटिनुभएकी अछामकी कल्सु साउदले उपचारका लागि भारत जान लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “मतदान गरेपछि नेपालमै स्वास्थ्य जाँच गरौँ भन्ने सोचेकी थिएँ । तर अहिले नियमित चेकअपका लागि फेरि भारत जान लागेकी हुँ ।”

सुदूरपश्चिमका धेरै बिरामी उपचारका लागि भारतीय अस्पताल धाउँछन् । नेपाल–भारतबीचको खुला सिमाना रहेकोले दुई देशका नागरिकले धेरै ठाउँमा सहज रूपमा आवतजावत गर्न पाउने व्यवस्था छ । सुदूरपश्चिमका नागरिक दैनिक रोजगारी, व्यापार, शिक्षा र उपचारका लागि भारत जाने गर्छन् । बिहान नेपालबाट भारत काममा जाने र साँझ फर्किने व्यक्ति धेरै भेटिने गरेका छन् ।

नेपालमा निर्वाचन हुने जानकारी पाएपछि केही समयका लागि भारतलगायत विभिन्न देशमा काम गर्ने नेपाली मतदानका लागि घर फर्किएका थिए । निर्वाचन सम्पन्न भएपछि भने पुनःकामका लागि विदेश फर्किने क्रम देखिएको हो । विशेषगरी युवा तथा श्रमिक वर्गका नागरिक झोला बोकेर भारत जाने दृश्य सामान्य बनेको छ ।

सदियौँदेखि सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्यस्थल भारत बनेको छ । सुरक्षा गार्ड, निर्माण क्षेत्र, होटल, उद्योग, कृषि तथा अन्य दैनिक ज्यालादारी काममा नेपालीले काम गर्ने गर्छन् । नेपालमा कामको अवसर कम हुनु र कमाइ पर्याप्त नहुनु भारत जाने प्रमुख कारण हो । रोजगारी मात्र नभएर स्वास्थ्य उपचारका लागि भारत जाने नेपालीको सङ्ख्या ठूलो छ । सुदूरपश्चिमका धेरै जिल्लामा विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र ठूला अस्पतालको अभाव छ । जटिल रोग लागेका बिरामी प्रायः भारतका अस्पतालमा भर पर्ने गरेका छन् ।

धनगढी, महेन्द्रनगरलगायत सीमावर्ती क्षेत्रबाट भारतका बरेली, हल्द्वानी, देहरादून, लखनउ, भोजीपुरा र दिल्लीसम्म उपचारका लागि बिरामी जाने गर्दछन् । खुला सिमाना भए पनि पछिल्लो समय सीमा पार गर्दा आवश्यक कागजातमा कडाइ गरेको छ । नागरिकता, मतदाता परिचयपत्र वा अन्य पहिचान कागजात नहुँदा कतिपय नागरिक सीमामै रोकिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments