ललितपुर/ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले आफूले राज्यबाट पाउने तलब–भत्ता नलिने र सरकारी सवारीसाधन सामाजिक सेवामा प्रयोग गर्ने घोषणा गर्नुभएको छ ।
उपाध्यक्ष गोलेले महिला दिवसका अवसरमा सार्वजनिक सन्देश जारी गर्दै अबदेखि आफूले राज्यबाट पाउने मासिक तलब–भत्ता नलिने निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार उक्त रकम ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, किसान, शिक्षक, युवा तथा स्वास्थ्य स्वयंसेविकालगायत समुदायका आवश्यक क्षेत्रमा सहयोगका रूपमा खर्च गरिने छ ।
त्यसैगरी, आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधनलाई पनि सामाजिक सेवामा प्रयोग गर्ने घोषणा गर्नुभएको छ । परिवारमा सहारा नभएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका अति विपन्न नागरिकलाई पालिका तथा वडा कार्यालयमा सेवा लिन आउन–जान सहज बनाउने उद्देश्यले सवारी उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विशेषगरी मासिक वृद्धभत्ता लिन पालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकलाई मैले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन प्रयोग गर्दा थप सहज हुनेछ । यस्ता कुनै समस्या परेमा खुलेर भन्नुस् तपाईंको आपत्–विपत्, दुःख–पीडामा मसँगै रहनेछु ।”
महाङ्काल गाउँपालिका महिला तथा बालबालिका शाखाले सम्बन्धित वडाअध्यक्ष, जनप्रतिनिधि एवं सचिव र स्वास्थ्य स्वयंसेविकाहरूसँग समन्वय गरेर यो सेवा लिनसक्ने पनि उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो सेवा गाउँपालिकाभित्रका नागरिकले मात्र उपयोग गर्न पाउने व्यवस्था गरिने छ । गोलेले नागरिकलाई सम्बोधन गर्दै आपत्–विपत् र दुःखमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो निर्णय जनसेवा र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताका रूपमा रहेको बताउनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित