काठमाडौं/निर्वाचन आयोगले फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना भइसक्ने जनाएको छ ।
सोमबार दिउँसोसम्म प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने भन्दै आयोगले २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना भइसक्ने अपेक्षा गरिएको जनाएको हो ।
‘हालसम्म प्रत्यक्षतर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा घोषणा भइसकेको छ भने बाँकी १० निर्वाचन क्षेत्रको मतगणना जारी छ। भोलि (सोमबार) दिउँसोसम्ममा सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको छ। समानुपातिकतर्फ खसेको १ करोड ९ लाख मत मध्ये हालसम्म ५० लाख (करिब ४६ प्रतिशत)को मतगणना सम्पन्न भएको छ,’ आयोगले भनेको छ ।
समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि थ्रेस होल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गरिने आयोगले जनाएको छ ।
आगामी चैत ५ गते भित्र सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित काम गरिरहेको पनि आयोगले जानकारी दिएको हो ।
‘दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरेपछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रुजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम एकिन गरी प्रमाणपत्र उपलब्ध गराउने कार्य गर्नेछ,’ आयोगले भनेको छ, ‘२०८२ साल चैत ५ गते भित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको छ।’
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित