काठमाडौँ/नेपालमा महिलाहरूमा दृष्टिविहीनताको भार पुरुषभन्दा बढी छ । अध्ययनका अनुसार पुरुषभन्दा महिलामा १.३ प्रतिशत गुणाले अन्धोपना हुनसक्ने जोखिम छ । पुरुषभन्दा महिलामा मोतियाबिन्दु, उमेर–सम्बन्धित म्याकुलर डिजेनेरेसन (एएमडी) र आँखा सुक्खा आँखा हुने समस्या बढी देखिन्छन् । महिलामा आँखाको समस्या बढी हुने भए पनि उपचारमा महिलाको पहुँच निकै कम छ ।
अनुसन्धानका नतिजाले भन्छ, “विभिन्न आर्थिक तथा सामाजिक कारणले पुरुषका तुलनामा महिलामा अन्धोपनको समस्या बढी छ । नेपालमा ४० हजार बढी दृष्टिविहीन रहेकामा झन्डै ६० प्रतिशत महिला रहेका छन् ।”
दृष्टि क्षमता कम भएका मानिसमध्ये आधाभन्दा बढी महिला नै छन् । आँखा स्वास्थ्यमा महिलाको पहुँच नहुनुमा गरिबी, जनचेतनाको कमी, यातायातको असुविधा, निर्णय लिन नसक्नु, पारिवारिक जिम्मेवारी बढी, आर्थिक परनिर्भरता हुनु आदि रहेको बताइन्छ ।
अब्बल महिला नेतृत्वः आँखा स्वास्थ्य सेवामा प्रेरक योगदान
स्वास्थ्य क्षेत्र विशेषगरी आँखा स्वास्थ्य सेवाको विस्तार र अन्धोपन न्यूनीकरणमा महिलाले नेतृत्व तहमा पुगेर उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन् । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित विभिन्न आँखा अस्पतालमा कार्यरत महिला ‘चिफ मेडिकल डाइरेक्टर’, ‘मेडिकल डाइरेक्टर’ तथा अस्पताल व्यवस्थापन समितिका महिला अध्यक्षले संस्थागत विकास, गुणस्तरीय सेवा प्रवाह, जनशक्ति उत्पादन र समुदायमा पहुँच विस्तारमा प्रेरणादायी भूमिका निर्वाह गरिरहेका छन् ।
प्रा डा सविना श्रेष्ठ (अस्पताल व्यवस्थापन समिति अध्यक्ष, कीर्तिपुर आँखा अस्पताल)
प्रा डा सविना श्रेष्ठ वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा बाल नेत्ररोग क्षेत्रमा विशिष्ट दक्षता हासिल गरेकी चिकित्सक हुनुहुन्छ । नेपाल नेत्रज्योति सङ्घ, कीर्तिपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्षका रूपमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्दै अस्पताल व्यवस्थापन, संस्थागत सुदृढीकरण, सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याइरहनुभएको छ ।
बङ्गलादेशबाट ‘एमबिबीएस’को अध्यययन गर्नुभएका प्रा डा श्रेष्ठले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट नेत्ररोग विषयमा ‘एमडी’ तह पूरा गर्नुभएको हो । साथै बाल नेत्ररोगसम्बन्धी ‘फेलोसिप’ भारतको ‘भेन्यु आइ इन्स्च्यिुट एन्ड रिसर्च सेन्टर’बाट हासिल गर्नुभएको छ । उहाँको नेतृत्वमा कीर्तिपुर आँखा अस्पतालले गुणस्तरीय तथा पहुँचयोग्य आँखा सेवा प्रवाहलाई प्राथमिकता दिँदै समुदायमुखी कार्यक्रम विस्तार गरेको छ ।
आँखा सेवा कार्यक्रम, आँखा शिविर, जनचेतना अभियान तथा सामुदायिक पहुँच विस्तारमा उहाँको सक्रिय सहभागिताले ग्रामीण तथा दुर्गम क्षेत्रमा आँखाको उपचार सेवा पुग्न सहयोग पुर्याएको छ । उहाँ भन्नुहुन्छ, “बाल नेत्ररोग तथा दृष्टि दोषसम्बन्धी समयमै पहिचान र उपचारको पहुँचमा ल्याउनुपर्छ । यसका लागि समुदाय तथा विद्यालयमा आँखा जाँचलाई थप विस्तार गरिनुपर्छ ।”
सन् २०२५ मा नेपाल नेपाल अप्थाल्मिक सोसाइटीद्वारा प्रदान गरिएको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’सहित विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सम्मान उहाँले प्राप्त गर्नुभएको छ । चिकित्सा सेवासँगै साहित्य, चित्रकला र सङ्गीतमा सक्रिय रहँदै आउनुभएकी उहाँ भन्नुहुन्छ, “महिला शक्ति परिवर्तनको आधार हो । घर, कार्यस्थल र समाजमा हाम्रो समर्पण र नेतृत्वले नै उज्यालो भविष्य निर्माण गर्दछ । महिलाले अधिकारका लागि लड्नुभन्दा आफ्नो कार्यदक्षताबाट नै आफूलाई अगाडि बढाउनु पर्दछ, आउनुहोस् आत्मविश्वास र सहकार्यका साथ अघि बढौँ, दिएरै प्राप्त गर्ने सफलताको यात्रामा ।” समर्पण, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले प्रा डा श्रेष्ठलाई नेपालमा अन्धोपन न्यूनीकरण अभियान र महिला नेतृत्वको सशक्त उदाहरणका रूपमा स्थापित गरेको छ ।
डा सुलक्ष्मी कटुवाल (चिफ मेडिकल डाइरेक्टर, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज)
डा सुलक्ष्मी कटुवाल आँखा स्वास्थ्य सेवा क्षेत्रमा अब्बल नेत्ररोग विशेषज्ञका रूपमा स्थापित हुनुहुन्छ । उहाँका अनुसार हालसम्म उहाँले करिब एक लाखभन्दा बढी शल्यक्रिया गरिसक्नुभएको छ । जसमा करिब ९१ हजार ‘एसआइसीएस’, पाँच हजार ‘फेको’, एक हजार ‘अकुलोप्लास्टी’ तथा तीन हजार अन्य समावेश छन् । साथै उहाँले करिब १० लाखभन्दा बढी आँखा बिरामीलाई बहिरङ्ग (ओपीडी) सेवा प्रदान गरिसक्नुभएको छ ।
दुर्गम तथा पहुँच बाहिरका समुदायमा अन्धोपन न्यूनीकरणका लागि विभिन्न शल्य शिविरहरूमा ‘टिमलिडर’का रूपमा सक्रिय सहभागिता जनाउँदै आउनुभएकी उहाँले अस्पतालको विकास र व्यवस्थापनका विभिन्न चरणहरूमा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “२१औँ शताब्दी महिला सशक्तीकरणको युग हो । आज महिलाले गर्न नसक्ने कुनै क्षेत्र छैन । परिवार र समाजको विकासका लागि महिला सशक्तीकरण अपरिहार्य छ । समाजमा परिवारको साथ र समझदारीले मात्र महिला सशक्तीकरणलाई सुदृढ बनाउन सक्छ । महिला शक्तिलाई कहिल्यै पनि कम आँक्न सकिँदैन ।”
सन् १९९९ मा रुसको ट्भेर स्टेट मेडिकल युनिभर्सिटीबाट ‘एमबिबीएस’ अध्ययनपश्चात उहाँले सन् २००७ मा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट नेत्ररोग विषयमा एमडी उपाधि हासिल गर्नुभएको थियो । सन् २०११ मा भारतको कोयम्बटोरमा फेको–इमल्सिफिकेसन तालिम तथा सन् २०१४ मा तिलगङ्गा आँखा प्रतिष्ठानबाट अकुलोप्लास्टी फेलोसिप पूरा गर्नुभएको छ । सन् २००७ मा राप्ति आँखा अस्पतालमा नेत्ररोग विशेषज्ञका रूपमा सेवा सुरुआत गर्नुभएकी डा कटुवालले ‘डेपुटी मेडिकल डाइरेक्टर’, ‘मेडिकल डाइरेक्टर’ हुँदै सन् २०१५ देखि ‘चिफ मेडिकल डाइरेक्टर’को जिम्मेवारी सम्हालिरहनुुभएको छ ।
प्रा डा सुशीला पटेल चौधरी (चिफ मेडिकल डाइरेक्टर, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान)
नेपाल नेत्रज्योति सङ्घ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानकी चिफ मेडिकल डाइरेक्टर प्रा डा सुशीला पटेल चौधरी वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा कोर्निया रोग उपचारमा चिकित्सक हुनुहुन्छ ।
उहाँले हालसम्म ४० हजारभन्दा बढी आँखाका बिरामीको शल्यक्रिया गरिसक्नुभएको छ भने करिब दुई लाख बिरामीलाई उपचार सेवा प्रदान गरिसक्नुभएको छ । अनुसन्धान क्षेत्रमा सक्रिय रहँदै उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय जर्नलहरूमा १८ वैज्ञानिक लेख प्रकाशितसमेत गरिसक्नुभएको छ ।
सन् २०२४ मा बङ्गलादेशमा भएको विद्रोह क्रममा आँखामा चोटपटक लागेका बिरामीको उपचारसमेत उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो । उहाँ भन्नुहुन्छ, “चुनौतीपूर्ण र संवेदनशील परिस्थितिमा समेत मैले उच्च व्यावसायिक दक्षता, संयमता र मानवीय समर्पणका साथ बङ्गलादेशमै गई आँखा उपचार सेवा प्रदान गरँे ।”
अस्पताल व्यवस्थापन, गुणस्तरीय शल्यक्रिया सेवा, जनशक्ति उत्पादन तथा ग्रामीण क्षेत्रमा शल्यक्रिया शिविर सञ्चालनमार्फत समुदायमा पुर्याएको योगदानले उहाँलाई एक सक्षम महिला नेतृत्वका रूपमा स्थापित गरिसकेको छ । “महिलाहरूले कार्यस्थल, घरपरिवार तथा समुदाय—सबै क्षेत्रमा पूर्ण समर्पण र अथक परिश्रमका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्”, प्राडा चौधरी भन्नुहुन्छ, “विभिन्न चुनौती र कठिनाइको सामना गर्दै निरन्तर मेहेनत र दृढताका साथ अघि बढ्दा महिलाहरूले आज कार्यस्थलमा मात्र होइन, घर र समाजमा पनि सम्मानित र प्रतिष्ठित स्थान हासिल गर्न सफल भएका छन् । महिलाको शक्ति उनको सहनशीलता, प्रतिबद्धता र निरन्तर प्रयासमा निहित छ ।”
डा चौधरीले एमबिबीएस भारतको किङ जर्ज मेडिकल कलेज, लखनउबाट र एमडी (नेत्ररोग) बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सम्पन्न गर्नुभएको हो । कोर्निया तथा बाह्य रोगसम्बन्धी विशिष्ट फेलोसिप तालिम अरबिन्द आइकेयर सिस्टम र Casey आइ इन्स्च्यिुटबाट हासिल गर्नुभएको हो ।
हाल लुम्बिन नेत्रविज्ञान अध्ययन संस्थानमा ‘चिफ मेडिकल डाइरेक्टर’का रुपमा कार्यरत उहाँले पाँच वर्षभन्दा बढी संस्थानको शैक्षिक कार्यक्रम निर्देशकका रूपमा नेपालको आँखा उपचार जनशक्तिको उत्पादनमा महत्त्वपूर्ण योगदानसमेत पुर्याउनुभएको छ ।
डा बबिता गुरुङ (मेडिकल डाइरेक्टर, हिमालय आँखा अस्पताल)
नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखराकी ‘मेडिकल डाइरेक्टर’ डा बबिता गुरुङ अनुभवी नेत्ररोग विशेषज्ञ हुनुहुन्छ । उहाँले हालसम्म करिब १७ हजारभन्दा बढी आँखाका बिरामीको शल्यक्रिया गरिसक्नुभएको छ भने करिब एक लाख ५३ हजारभन्दा बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गर्नुभएको छ । विभिन्न स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई तालिम तथा मार्गदर्शन प्रदान गर्नुका साथै विभिन्न आँखाका शल्यक्रिया शिविरमार्फत समेत सेवा प्रवाह गर्दै आउनुभएको छ ।
अस्पताल व्यवस्थापन, गुणस्तरीय आँखा उपचार सेवा, जनशक्ति उत्पादन तथा ग्रामीण क्षेत्रमा शल्यक्रिया शिविर सञ्चालनमार्फत समुदायमा पुर्याएको योगदानले नेत्र विशेषज्ञ डा गुरुङलाई एक अब्बल महिला नेतृत्वका रूपमा स्थापित गरिसकेको छ ।
अनुसन्धान क्षेत्रमा सक्रिय रहँदै उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय जर्नलहरूमा विभिन्न अनुसन्धानात्मक लेखहरू प्रकाशनसमेत गरिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “महिलाहरूमा समय, स्रोत, मार्गदर्शन र लगानी गर्नु घाटा होइन, समग्र समाजका लागि लाभ हो । समान अधिकार सुनिश्चित गर्दै लैङ्गिक हिंसा अन्त्य, शिक्षा र आर्थिक अवसरमा समान पहुँच स्थापना गर्नु आजको आवश्यकता हो । न्यायपूर्ण समाज निर्माणमार्फत नै सबैका लागि प्रगति र समृद्धि सम्भव छ ।”
नेत्र विशेषज्ञ डा गुरुङले सन् २००१ मा बङ्गलादेशको युएसटिसीबाट ‘एमबिबीएस’ उपाधि हासिल गर्नुभएको हो भने सन् २००९ मा त्रिभुवन विश्वविद्यालय, बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र काठमाडौँबाट ‘एमडी’ (नेत्ररोग) अध्ययन सम्पन्न गर्नुभएको थियो । सन् २०१५ अप्रिलदेखि जुलाइसम्म तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँमा कोर्निया तथा केराटोप्लास्टीसम्बन्धी फेलोसिप तालिमसमेत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँ सन् २०२२ देखि पोखरा विश्वविद्यालयको सहप्राध्यापकका रुपमा कार्यरत हुनुहुन्छ ।
सन् २००९ देखि हिमालय आँखा अस्पताल, पोखरामा कार्यरत रहँदै आउनुभएको छ । आकस्मिक सेवा तथा शल्यक्रिया शिविर व्यवस्थापन विभाग प्रमुख, डेपुटी मेडिकल डाइरेक्टर हुँदै उहाँले ६ फेब्रुअरी २०२५ देखि ‘मेडिकल डाइरेक्टर’को जिम्मेवारी सम्हाल्नुभएको हो ।
डा पुष्पा गिरी (चिफ मेडिकल डाइरेक्टर भरतपुर आँखा अस्पताल)
नेपाल नेत्रज्योति सङ्घ भरतपुर आँखा अस्पतालकी ‘चिफ मेडिकल डाइरेक्टर’ ‘एसोसिएट प्रोफेसर’ डा पुष्पा गिरी नेत्ररोग विशेषज्ञ हुनुहुन्छ । उहाँले हालसम्म २० हजारभन्दा बढी दृष्टि पुनःस्थापना गर्ने शल्यक्रिया सम्पन्न गर्नुभएको छ भने एक लाखभन्दा बढी बिरामीलाई बहिरङ्ग (ओपिडी) सेवा प्रदान गरिसक्नुभएको छ । एक सयभन्दा बढी शल्यक्रिया शिविर सञ्चालन तथा सहभागितामार्फत पाँच हजारभन्दा बढी ग्रामीण बासिन्दालाई दृष्टि प्रदान गर्नुका साथै हजारौँ बिरामीलाई उपचार सेवा उपलब्ध गराइसक्नुभएको छ ।
आँखा उपचार सेवाका साथै उहाँ अनुसन्धान क्षेत्रमा समेत सक्रिय रहँदै राष्ट्रिय तथा अन्तरराष्ट्रिय जर्नलहरूमा मधुमेहजन्य ‘रेटिनोप्याथी’, ‘कोर्निया रोग’, ‘रिफ्र्याक्टिभ सर्जरी’, ‘क्याटर्याक्ट सर्जरी’ परिणामलगायत विषयमा विभिन्न शोधपत्रहरूसमेत प्रकाशन गरिसक्नुभएको छ ।
उहाँका नेतृत्वमा अस्पतालले क्लिनिकल सेवा सुदृढीकरण, पहुँच कार्यक्रम विस्तार तथा दुर्गम क्षेत्रमा सेवा विस्तारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । साथै उहाँले कम्बोडियामा समेत आँखा स्वास्थ्य क्षमता अभिवृद्धिमा योगदान पुर्याउनुभएको छ ।
उहाँ भन्नुहुन्छ, “स्वास्थ्य क्षेत्रमा कार्यरत महिला केवल सेवा प्रदत्तमात्र होइनन्, परिवर्तनका संवाहक पनि हुन् । जब महिलालाई सशक्त बनाउँछौँ, राष्ट्र नै सशक्त बन्छ । स्वास्थ्य सेवा सबैका लागि पहुँचयोग्य बनाउन सङ्घर्षरत महिलाको शक्ति, धैर्यता र करुणाको सम्मान गर्दछु ।”
सन् २०२४ मे १४ देखि सो अस्पतालको ‘चिफ मेडिकल डाइरेक्टर’को जिम्मेवारी सम्हाल्दै आउनुभएका डा गिरीले सन् २००६ मा कलेज अफ मेडिकल साइन्सेस, चितवन (काठमाडौँ विश्वविद्यालय)बाट एमबिबीएस तथा सन् २०१३ मा सोही संस्थाबाट एमडी (नेत्ररोग) उपाधि हासिल गर्नुभएको हो ।
सन् २०१५ मा नेपाल नेत्रज्योति सङ्घको सञ्जालअन्तर्गत भरतपुर आँखा अस्पतालमा आबद्ध हुनुभएकी उहाँले क्लिनिकल सेवा, शिक्षण तथा सामुदायिक आँखा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउनुभएको छ । सन् २०२० मा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गत सहायक प्राध्यापक तथा सन् २०२५ मा एसोसिएट प्राध्यापकमा पदोन्नति भई रेजिडेन्ट, फेलो तथा मिड–लेभल नेत्र स्वास्थ्यकर्मीहरूको तालिममा भूमिका निर्वाह गरिरहनुभएको छ ।
कोर्निया सेवाको आवश्यकता महसुस गर्दै उहाँले विश्वप्रसिद्ध एलएआइसीओ (अरविन्द आइकेयर सिस्टम)बाट कोर्निया तथा बाह्य नेत्ररोगसम्बन्धी फेलोसिप तालिम लिनुभएको छ । यसपछि तिलगङ्गा आँखा प्रतिष्ठानसँग सहकार्य गरी कोर्नियल टिस्यु सङ्कलन प्रारम्भ गर्नुभएको छ भने भरतपुर आँखा अस्पतालमा पूर्ण विकसित आँखा बैंक स्थापना गरी अहिले यसको नेतृत्व गरिरहनुभएको छ ।
डा रिमा शाह (मेडिकल सुपरिन्टेन्डेन्ट, बर्दिया आँखा अस्पताल)
डा रिमा शाह युवा नेत्ररोग विशेषज्ञ हुनुहुन्छ । उहाँ २०२५ जुलाई २१ देखि नेपाल नेत्रज्योसित सङ्घ, बर्दिया आँखा अस्पताल, सानोश्री तारातालमा मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले हालसम्म तीन सय मोतियाबिन्दु शल्यक्रिया, १८० ‘प्टेरिजियम’ शल्यक्रिया तथा ७० साना शल्यक्रिया गरिसक्नुभएको छ भने १२ हजार ५०० भन्दा बढी बिरामीलाई ओपिडी सेवा प्रदान गर्नुभएको छ । उत्साह, समर्पण र गुणस्तरीय सेवाप्रतिको प्रतिबद्धतासहित डा शाहले ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्य सेवा सुदृढ गर्दै अन्धोपन न्यूनीकरण अभियानमा संलग्न हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “महिलाहरूको प्रगति, सहनशीलता र शक्तिलाई सम्मान गर्न चाहन्छु । नेत्ररोग विशेषज्ञका रूपमा मेरो काम दृष्टिको वरिपरि केन्द्रित छ । तर दृष्टि केवल चिकित्सकीय शब्दमात्र होइन, यो महिलाले दैनिक रूपमा देखाउने दूरदृष्टि, दृढता र सङ्कल्पको प्रतीक पनि हो । आउनुहोस्, जीवनका हरेक क्षेत्रमा समान अवसर प्रवर्द्धन गर्दै एकअर्कालाई सशक्त बनाऔँ ।”
सन् २०१८ मा ढाका विश्वविद्यालयअन्तर्गत सहिद सुहरावर्दी मेडिकल कलेज अस्पताल बङ्गलादेशबाट ‘एमबिबीएस’ अध्ययन पूरा गर्नुभएकी डा शाहले सन् २०२४ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नेत्ररोग विषयमा ‘एमडी’ उपाधि हासिल गर्नुभएको छ । समुदायस्तरमा सेवा विस्तारमा सक्रिय रहँदै उहाँले बङ्गलादेश र नेपालका ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरमा सेवा पुर्याउँदै आउनुभएको छ ।
डा. बेबिका फुयाँल ( मेडिकल सुपरिन्टेन्डेन्ट पाल्पा लायन्स लाकौल आँखा अस्पताल)
डा बेबिका फुयाँल युवा नेत्ररोग विशेषज्ञ हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालय किस्ट मेडिकल कलेजबाट ‘एमबिबीएस’ तथा काठमाडौँ विश्वविद्यालयअन्तर्गत काठमाडौँ मेडिकल कलेजबाट नेत्ररोग विषयमा एमडी उपाधि हासिल गर्नुभएको छ ।
हाल उहाँ नेपाल नेत्रज्योति सङ्घ पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा कार्यरत रहँदै ग्रामीण तथा दुर्गम क्षेत्रमा रोकथाम गर्न सकिने अन्धोपनविरुद्ध सक्रिय रूपमा काम गरिरहनुभएको छ । हालसम्म उहाँले एक हजार ५०० भन्दा बढी मोतियाबिन्दु शल्यक्रिया सम्पन्न गर्नुभएको छ भने सयौँ ‘टेरिजियम’ तथा आकस्मिक शल्यक्रिया गर्नुभएको छ । दैनिक रूपमा करिब १०० भन्दा बढी आँखाका बिरामीलाई ‘ओपिडी’ सेवा प्रदान गर्दै उहाँ पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका ग्रामीण क्षेत्रमा प्रत्येक महिना दुईतीनवटा शल्यशिविर सञ्चालन तथा समन्वय गरिरहनुभएको छ ।
मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा उहाँ अस्पतालको क्लिनिकल सुपरीवेक्षण, प्रशासनिक व्यवस्थापन, गुणस्तर सुनिश्चितता, बिरामी सुरक्षा तथा रणनीतिक योजना निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समुदायसँग सहकार्य, जनचेतना अभिवृद्धि तथा रोकथाममुखी दृष्टिकोणमार्फत दृष्टिदोष भएका व्यक्तिहरूको जीवनस्तर सुधारमा लागिरहनुभएको छ । उहाँ भन्नुहुन्छ, “ग्रामीण नेपालमा सेवा गर्दै गर्दा म दृष्टिको परिवर्तनकारी शक्तिलाई प्रतिदिन अनुभव गर्छु । विशेषगरी दुर्गम क्षेत्रका महिलाहरूले गुणस्तरीय आँखा सेवा पाउनुपर्छ भन्ने मेरो प्रतिबद्धता हो । महिलाहरूले विभिन्न अवरोधलाई तोड्दै अघि बढौँ, एकअर्कालाई सशक्त बनाऔँ र उज्यालो भविष्य निर्माण गरौँ ।”
मञ्जु कण्डेल, (अस्पताल व्यवस्थापन समिति अध्यक्ष डा विनोद निता कण्डेल आँखा अस्पताल)
समाजसेवी मञ्जु कण्डेल नेपालमा सामुदायिक आँखा स्वास्थ्य सेवा र अन्धोपन न्यूनीकरण अभियानमा अब्बल महिला नेतृत्वका रूपमा परिचित हुनुहुन्छ । हाल नेपाल नेत्रज्योति सङ्घ केन्द्रीय कार्यसमितिकी सहकोषाध्यक्ष समेत रहनुभएकी उहाँले २०६३ कात्तिक १४ गतेदेखि नेपाल नेत्रज्योति सङ्घ डा विनोद निता कण्डेल आँखा अस्पतालको अस्पताल व्यवस्थापन समितिको अध्यक्षका रूपमा निरन्तर नेतृत्वमा रहँदै संस्थागत सुदृढीकरण, सेवा विस्तार र गुणस्तरीय व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
उहाँले अन्धोपन न्यूनीकरण, निःशुल्क आँखा शिविर सञ्चालन, समुदाय–केन्द्रित सचेतना कार्यक्रम विस्तार तथा ग्रामीण क्षेत्रमा सेवा पहुँच अभिवृद्धिमा नेतृत्वदायी योगदान पुर्याउनुभएको छ । उहाँको कार्यकालमा अस्पताललाई प्राथमिक आँखा उपचार केन्द्रबाट स्तरोन्नति गरी सेकेन्डरी लेभल अस्पतालमा रूपान्तरण गरिएको छ । अध्यक्ष कण्डेल भन्नुहुन्छ, “अस्पतालमा रेटिना सबस्पेशालिटी र फेको प्रविधिबाट शल्यक्रिया सेवा सुरुआत भएको छ ।”
उहाँ भन्नुहुन्छ, “सबै महिला र बालिकाका लागि समानता, सम्मान तथा सुरक्षित वातावरण सुनिश्चित गर्दै सशक्त महिलामार्फत स्वस्थ र समृद्ध समाज निर्माणमा अस्पताल व्यवस्थापन समिति तथा सम्पूर्ण अस्पताल परिवार सदैव प्रतिबद्ध रहनेछ ।” दूरदृष्टि, प्रतिबद्धता र सेवाभावका साथ नेतृत्व गर्दै उहाँले आँखा स्वास्थ्य क्षेत्रमा महिला नेतृत्वको सशक्त उदाहरण प्रस्तुत गर्नुका साथै अन्धोपन न्यूनीकरण अभियानलाई नयाँ उचाइमा पुर्याउन कण्डलले योगदान दिनुभएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित