कैलाली/कैलाली निर्वाचन क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. आनन्द बहादुर चन्द विजयी भएका छन्। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भएको मतगणनाको अन्तिम परिणाम अनुसार उनले ३१ हजार ९ सय ५३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार नरनारायण शाहले ११ हजार ९ सय ५८ मत प्राप्त गरेका छन्। त्यसैगरी नेकपा एमालेका उम्मेदवार यज्ञ ढुङ्गानाले ५ हजार ८ सय ४८ मत, नेकपाका उम्मेदवार प्रेम आलेले ७ हजार ८ सय ७६ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रोशन शाहीले १ हजार ५ सय ९२ मत प्राप्त गरेका छन्।
को हुन् आनन्द बहादुर चन्द ?
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षभन्दा बढी समय उपप्राध्यापकका रूपमा सेवा गरेका उनले यही निर्वाचनबाट राजनीतिक यात्रा थालेका हुन्। शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यका क्षेत्रको अभियानमा उनी लामो समयदेखि सक्रिय थिए।
यसअघि उनी अग्रभागमा देखिनेभन्दा पनि योजनाको पृष्ठभूमि तयार गर्ने, रणनीति बनाउने र कार्यान्वयनको वातावरण तयार गर्ने काममा उनी बढी रुचि राख्थे। परिणाममा विश्वास गर्ने चन्द आमजनमा धेरै चर्चित नभए पनि शिक्षा र जनस्वास्थ्य क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित