ईरान–अमेरिका–इजरायल युद्ध छैटौँ दिनमा : हिन्द महासागरदेखि ककासस क्षेत्रसम्म तनाव फैलिँदै

नयाँ दिल्ली / ईरान, अमेरिका र इजरायलबीच जारी युद्ध बिहीबार छैटौँ दिनमा प्रवेश गरेको छ। पछिल्ला घटनाक्रमले यो संघर्ष पश्चिम एशियाभन्दा बाहिर फैलिन थालेको संकेत देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी नौसेनाले हिन्द महासागर क्षेत्रमा भारतबाट फर्किँदै गरेको ईरानी युद्धपोत आईआरआईएस डेनालाई निशाना बनाएको दाबी गरिएको छ। यसैबीच ईरानका दुई ड्रोन अजरबैजानको नख्चिवान क्षेत्रमा खसेको खबर पनि सार्वजनिक भएको छ, जसले क्षेत्रीय तनाव अझ बढाएको छ।

हिन्द महासागरमा ईरानी युद्धपोत डुब्यो

अमेरिकी रक्षा मन्त्रालयका अनुसार हिन्द महासागरमा रहेको ईरानी युद्धपोतलाई टार्पिडो प्रहार गरेर डुबाइएको थियो। उक्त युद्धपोत अन्तर्राष्ट्रिय जलक्षेत्र सुरक्षित भएको ठानेर यात्रा गरिरहेको अवस्थामा निशाना बनाइएको दाबी अमेरिकाले गरेको छ।

उक्त जहाज भारतको विशाखापत्तनममा १६ देखि २५ फेब्रुअरी २०२६ सम्म आयोजित अन्तर्राष्ट्रिय नौसैनिक अभ्यासमा सहभागी भएर ईरान फर्कँदै गरेको बताइएको छ। जहाजमा करिब १८० नौसैनिक सवार थिए।

श्रीलंकाली नौसेनाले ३२ जनालाई जीवित उद्धार गरेको जनाएको छ भने करिब १०० नौसैनिकको मृत्यु भएको आशंका गरिएको छ। श्रीलंकाली अधिकारीहरूले हालसम्म ८७ वटा शव फेला परेको बताएका छन्।

ईरानले आफ्नो जहाज अन्तर्राष्ट्रिय जलक्षेत्रमा रहेको अवस्थामा बिना चेतावनी आक्रमण गरिएको आरोप लगाएको छ। तेहरानले अब विश्वका जुनसुकै स्थानमा पनि अमेरिकी युद्धपोतहरू आफ्नो निशानामा पर्न सक्ने चेतावनी दिएको छ।

भारतको स्पष्टीकरण

भारतले भने हिन्द महासागरमा डुबाइएको ईरानी युद्धपोत त्यस समयमा भारतको “अतिथि” नभएको स्पष्ट पारेको छ। सरकारी स्रोतका अनुसार युद्ध घोषणा भएपछि जहाजले भारतसँग कुनै सहयोग पनि मागेको थिएन।

अजरबैजानमा ड्रोन खस्दा चार घाइते

अजरबैजानले ईरानका दुई ड्रोन आफ्नो नख्चिवान क्षेत्रमा खसेको दाबी गरेको छ। उक्त घटनामा चार जना घाइते भएका छन्।

अजरबैजानको रक्षा मन्त्रालयका अनुसार एक ड्रोन नख्चिवान अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा खसेको थियो भने अर्को ड्रोन नजिकैको गाउँको विद्यालय भवनमा खसेको बताइएको छ।

यस घटनापछि अजरबैजानले दक्षिणी हवाई क्षेत्र १२ घण्टाका लागि बन्द गर्दै यस्ता घटना दोहोरिए कडा जवाफ दिने चेतावनी दिएको छ। ईरानले भने आफूले नख्चिवानलाई निशाना नबनाएको भन्दै आरोप अस्वीकार गरेको छ।

तेहरानमा ठूलो हवाई हमला

युद्धको क्रममा इजरायली लडाकु विमानहरूले तेहरानका विभिन्न क्षेत्र तथा सरकारी संरचनामा ठूलो हवाई हमला गरेको खबर छ। स्थानीय बासिन्दाले राजधानीका विभिन्न भागमा शक्तिशाली विस्फोटका आवाज सुनेको बताएका छन्।

इजरायलले इश्फहान र कुम क्षेत्रमा रहेका ईरानका भूमिगत मिसाइल अड्डा तथा सैन्य बंकरलाई लक्षित गरेर आक्रमण गरेको जनाएको छ। ती हमलामा हालसम्म करिब १,२३० जनाको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दिएका छन्।

ईरानको प्रतिआक्रमण

ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्सले “अपरेशन ट्रु प्रमिस–४” अन्तर्गत आक्रमणको १९औँ चरण सुरु गरिएको जनाएको छ। यस क्रममा सयौँ बैलिस्टिक मिसाइल र ड्रोन प्रहार गरिएको दाबी गरिएको छ।

ईरानले तेल अवीव, यरूशलेमसहित कुवेत, बहरेन र कतारमा रहेका अमेरिकी सैन्य अड्डालाई पनि निशाना बनाएको दाबी गरेको छ।

नयाँ सर्वोच्च नेताबारे चर्चा

युद्धबीच ईरानका दिवंगत सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको उत्तराधिकारीबारे पनि चर्चा तीव्र भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार उनका छोरा मोजतबा खामेनेईलाई नयाँ सर्वोच्च नेता बनाउने विषयमा सहमति नजिक पुगेको बताइएको छ।

यसैबीच तेहरानमा राखिने भनिएको खामेनेईको पार्थिव शरीरको सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सुरक्षा कारण देखाउँदै अनिश्चितकालका लागि स्थगित गरिएको छ।

युद्ध तीव्र बन्दै जाँदा पश्चिम एशिया मात्र होइन, हिन्द महासागर र ककासस क्षेत्रसम्म तनाव फैलिने चिन्ता अन्तर्राष्ट्रिय समुदायमा बढ्दै गएको छ। (दैनिक जागरण)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments