प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

काठमाडौँ/ संवत् २०८२ साल फागुन २१ गते बिहीबार सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य देशभर शान्तिपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। मतदान बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन गरिएको थियो।

विशिष्ट परिस्थितिमा घोषणा गरिएको निर्वाचनलाई तोकिएकै मितिमा सम्पन्न गराउनु चुनौतीपूर्ण भए पनि सबै पक्षको सहयोग र समन्वयका कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले निर्वाचन सम्पन्न गराउन सहयोग पुर्‍याउने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, उम्मेदवार, आम मतदाता, पर्यवेक्षक संस्था तथा सञ्चारमाध्यमलगायत सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको छ।

देशभरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ। यसको विस्तृत विवरण सङ्कलन कार्य भने अझै जारी रहेको आयोगले जनाएको छ। मतदानका लागि तोकिएको समयभित्र मतदान केन्द्रमा प्रवेश गरेका मतदाताका कारण केही केन्द्रहरूमा साँझपछिसम्म पनि मतदान जारी रहेको जानकारी सम्बन्धित निर्वाचन क्षेत्रबाट प्राप्त भएको छ।

छिटफुट अवरोधका घटनाबाहेक निर्वाचन समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकहरूको प्रारम्भिक प्रतिवेदनबाट समेत देखिएको आयोगले जनाएको छ।

मतदान कार्य समाप्तिसँगै मतपेटिका सुरक्षित रूपमा सङ्कलन गरी मतगणना कार्य तत्काल सुरु गरिनेछ। दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गर्ने व्यवस्था गरिएको छ। ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम (पूर्वी भाग) का सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणना स्थलमा पुर्‍याउने लक्ष्य राखिएको छ भने संखुवासभा, सोलुखुम्बु, गोरखा, रुकुम (पश्चिम भाग), मनाङ, बाजुरा तथा हुम्लाका मतपेटिका शुक्रबार बिहानसम्म सम्बन्धित मतगणना स्थलमा पुर्‍याइने जनाइएको छ।

प्रतिनिधिमूलक लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा सम्पन्न यस निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाताप्रति आयोगले विशेष धन्यवाद व्यक्त गरेको छ। आयोगले मतदाताको सहभागिताले प्रतिनिधि छनोट, कानुन निर्माण तथा राज्य सञ्चालन प्रक्रियामा जनताको भूमिका थप सुदृढ बनाएको उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments